सधैँको भन्दा यसपालिको तीज मेरा लागि निकै विशेष रह्यो। धेरै वर्षपछि माइतमा पाइला टेक्ने अवसर पाएकी थिएँ। आमा पनि अब त निकै वृद्धा भइसक्नुभएछ। यसपालि हिउँदमा आमा अलि बढी नै बिरामी पनि हुनुभयो।
'अर्को साल के हो के हो, भेट होला नहोला!' भन्ने सोचेर मन अमिलो भयो। त्यसैले केही दिनको बिदा मिलाएरै भए पनि यसपालि माइत नगई मेरो मनले मानेन। बर्सातको समय उकालो-ओरालो बाटो, त्यसमाथि टाढाको दूरी, हरेक वर्ष तीजमा माइत जाने रहरहरू मनमै मारेर बस्नुपर्थ्यो।
अब त छोराछोरी पनि हुर्किसके। म नहुँदा पनि आफैँ पकाएर खान सक्ने भएका छन्। त्यसमाथि श्रीमान् पनि यसपालि घरमै हुनुभएकाले मलाई माइत जान कुनै कुराले रोकेन।
हाम्रा बुवा-आमाका सबै सन्तानहरू हुर्के-बढेर लाखापाखा लागिसके। काठमाडौँदेखि परदेशसम्मै पुगे, तर आमा भने जसोतसो त्यही गाउँको बुढो घर कुरेर बसिरहनुभएको छ। ‘सहर तिरै जाऔँ न त आमा’ भन्दा पनि उहाँ मान्नुहुन्न।
आमा जहिले पनि भन्नुहुन्छ, ‘बुवाले मलाई यही घरमा भित्र्याउनुभएको हो। यही घरको मझेरीमा बुवाको पनि प्राण गयो। म पनि यही घरको माटोमा मर्ने हो। बिहे गरेर आउँदा नौ वर्षकी थिएँ, आज असी नाघिसकेँ। अब म अन्त कतै जान्नँ।’
बुवा बितेको पनि पन्ध्र वर्ष भइसक्यो। पन्ध्र वर्षदेखि आमा एक्लै बुवाको स्मृतिमा त्यो बुढो घर कुरेर बसिरहनुभएको छ। जेनतेन स्वास्थ्यले साथ दिइरहेको छ र त आफै पकाएर खान सक्ने हुनुहुन्छ।
तीन-चार दिनदेखि घामको मुख देख्न पाइएको थिएन। झरी परेको पर्यै थियो। लाग्थ्यो, यसपालिको वर्षा सिद्धिने छाँटकाँट नै छैन। यो तीज पनि हिले तीज नै हुने भयो। तर आमा भने मलाई हेर्दै खुसी हुँदै भन्नुहुन्छ, ‘धन्न तिमी आयौ र घरै उज्यालो भयो। आज अलि-अलि घाम तंग्रिए जस्तो छ। लौ न नानी, त्यो बुढो बाकसका लुगा त सबै ढुसी लागेर बिग्रिए होलान्, घाममा सुकाउनु पर्यो।’
आमाको आदेश भुइँमा झर्न नपाउँदै म आमा सुत्ने कोठामा गएँ। बाकसमा सानो ताल्चा झुन्डिएको रहेछ। ‘चाबी कहाँ छ त आमा?’ मैले सोधेँ। आमाले पटुकाको फेदमा दह्रो गरी गाँठो पारेर राखेको चाबी निकै बल लगाएर फुकाउनुभयो।
मैले बाकसका कपडाहरू एक-एक गर्दै निकालेँ। ओसिएर कपडाहरूमा अलि-अलि ढुसी पलाइसकेको रहेछ। बाकसको सबैभन्दा पिँधमा आमाले असाध्यै जतन गरेर पट्याइराखेको एउटा पुरानो कपडा भेटियो। कौतुहलता थाम्न नसकी मैले खोलेर हेरेँ। टाँकहरू फुस्किएका, खल्ती च्यातिएको, फुङ्ग रङ उडेको, दुई ठाउँमा टाला गाँसिएको, फिका खैरो रङको, कलरमा मैलाको कलेटी परेको बुवाको इस्टकोट पो रहेछ त्यो त!
त्यो देख्ने बित्तिकै मेरा गोडा गलेर आए। म आमाको ओछ्यानमा थचक्क बसेँ। बुवाको इस्टकोटलाई नाक नजिकै लगेर सुँघेँ। त्यहाँ वर्षाको ढुसीको गन्ध थिएन, त्यहाँ त हाम्रा पूजनीय बुवाको मेहनत र पसिनाको सुगन्ध थियो।
बुवाको स्नेही अनुहार एकाएक आँखाको मानसपटलमा घुम्न थाल्यो। मैले भावुक हुँदै एक पटक कसिलो गरी त्यो इस्टकोटलाई छातीमा टाँसेर अँगालो हालेँ। अनायासै आँखाबाट खसेका ताता आँसुका थोपाहरूले बुवाको इस्टकोटमा गाढा दाग बसाइदिए। एकछिन बुवाको इस्टकोट लगाएँ अनि अतीतमा घोत्लिन थालेँ।
घरभन्दा केही तल समीडाँडाको चौतारीमा हाम्रो बाल्यकाल बितेको हो। हरेक दिन विद्यालय जाँदा-आउँदा बाटोमा पर्ने त्यो चौतारीलाई एक फन्को नघुमी घर फर्केको दिन सायदै होला। बुवा गाउँकै नामी पण्डित हुनुहुन्थ्यो। बुवाले त्यो चौतारीको बाटो आवतजावत गर्दा कुन्नि के-के मन्त्र फलाक्दै, चौतारीलाई एक फन्को मारेर मात्र अघि बढ्ने गर्नुहुन्थ्यो।
सायद हामीलाई पनि बुवाकै त्यही बानी सरेको हुनुपर्छ। मन्त्रको मर्म नबुझे पनि र उच्चारण गर्न नजाने पनि, बुवाकै जस्तो लवज निकाल्दै चौतारीको एक पटक परिक्रमा गर्थ्यौँ। त्यसपछि हातले छाती छोएर निधारले चौतारीलाई ढोगेपछि मात्र मनमा एउटा अव्यक्त शान्तिको आभास हुन्थ्यो।
पातलो शरीर अनि अग्लो कदका हाम्रा बुवालाई मैले धोती-कछाड र इस्टकोट सहितको दौरा-सुरुवाल बाहेक कहिल्यै अन्य पहिरनमा देखिनँ। शिरमा नेपालीपन झल्कने ढाका टोपी अनि आङमा हल्का खैरो रङको इस्टकोट पहिरिँदा बुवा बिछट्टै राम्रो देखिनुहुन्थ्यो।
बालसुलभ मन न हो, मेरा बुवाका अगाडि अरूका बुवा त बुवा जस्तै लाग्दैनथे। बुवा जब जजमानी सकेर बाहिरबाट घर फर्कनुहुन्थ्यो, तब उहाँको निधारमा टल्कने अक्षतासहितको रातो वा पहेँलो टीका अनि हातमा झुन्ड्याइएको रुमालले बेरेको पोको हाम्रा लागि विशेष आकर्षणको केन्द्र बन्थ्यो।
हाम्रा बुवाका धेरै छोराछोरीमध्येकी एउटी म बुवाले ल्याएको त्यो पोको फुकाउन सधैँ अघि सर्थेँ। केही खानेकुरा र फलफूलका लागि छोराछोरीबिच महाभारत नहोस् भनेर बुवाले हामीलाई पालैपालो ती चिजहरू बाँडिदिनु हुन्थ्यो। एउटै चिज सबैलाई पर्याप्त पुग्दैनथ्यो, त्यसैले कहिलेकाहीँ हामीबिच सानोतिनो झगडा पनि चल्थ्यो।
बुवा बाहिरबाट फर्केपछि आफ्नो ढाकाटोपी सधैँ पिँढीको पालीको एउटै निश्चित ठाउँमा सिउरिनुहुन्थ्यो भने इस्टकोट चाहिँ मझेरीको मूल खाँबोको काँटीमा झुन्ड्याउने गर्नुहुन्थ्यो। अगेनाको छेवैमा लगाइएको न्यानो ओछ्यानमा म आमासँगै टाँसिएर सुत्थेँ।
राति सबैजना निदाएर सुनसान भएपछि, बिस्तारै उठेर बुवाको इस्टकोट छामछाम-छुमछुम पार्दै इस्टकोटको खल्तीबाट केही न केही खानेकुरा निकाल्ने मेरो बानी नै परिसकेको थियो। छोकडा, नरिवल र मिस्रीका टुक्राहरू बुवाको इस्टकोटको खल्तीमा कहिल्यै टुट्दैनथे। कहिलेकाहीँ त सुका, मोहर र डबलका पुराना सिक्काहरू पनि फेला पर्थे। त्यही पैसाले पिपलगेडी र सुन्तला मिठाई किनेर खान पाउँदाको मज्जा नै छुट्टै हुन्थ्यो!
मिठाईकै आसले कक्षाका केटीहरू प्रायः मलाई पछ्याइरहन्थे र मसँग मित्रता गाँस्न लालायित हुन्थे। सायद बुवालाई मेरो यो बालसुलभ हरकत पहिल्यै थाहा भइसकेको थियो। त्यही भएर बुवाले मलाई कहिलेकाहीँ हल्का हप्काउँदै तर स्नेही स्वरमा सम्झाउनुहुन्थ्यो, ‘केही चिज पनि सोधेर मात्रै निकाल्नुपर्छ नि नानी! नसोधी निकालेको चिजलाई त चोरी गरेको भन्छन्। जीवनमा त्यसरी कहिल्यै चोर्नु हुन्न है।’
भान्छाबाट आमाले खाजा खान बोलाएपछि म झसङ्ग भएँ र सोच्न छोडेर वर्तमानमा फर्किएँ। बुवाको इस्टकोट लगाएरै अरू लुगाको पोको काखमा लिएर सुकाउन गएँ। सबै कपडा सुकाइसकेपछि, बुवाको त्यो इस्टकोटलाई भने निकै जतनले अरूभन्दा अलग्याएर सुकाएँ।
त्यसपछि हामी आमा-छोरी खाजा खान पिँढीमा बस्यौँ। मैले आमाको अनुहारमा पुलुक्क हेर्दै सोधेँ, ‘आमा! बुवाको यो पुरानो इस्टकोट त तपाईंले कस्तो जतनले जोगाएर राख्नुभएको रहेछ हगि?’
आमाले लामो सुस्केरा हाल्दै भन्नुभयो, ‘अँ नानी! बुवाको सम्झना भन्नु नै अब यही एउटा इस्टकोट त बाँकी छ नि! अरू लुगा त दाइले कस-कसलाई दियो, पत्तै भएन। यो अलि विशेष अवसरमा मैले नै बुवाका लागि रोजिदिएको इस्टकोट हो। धेरै वर्षसम्म बुवाले यही इस्टकोट लगाउनुभयो। बुवाले जहिले पनि यो इस्टकोट लगाउँदा 'तिमीले रोजेको इस्टकोट' भन्दै मलाई जिस्काउनु हुन्थ्यो।’
आमाको कुरा सुनेर उत्सुक हुँदै मैले सोधेँ, ‘कुन विशेष अवसरमा किन्नुभएको नि आमा?’
‘वेशीबजारमा लाग्ने हाटमा किनेको नि!’ आमाले पुराना दिन सम्झिँदै भन्नुभयो, ‘मैले नै निकै जिद्दी गरेर किनिदिएको हुँ। बुवा त 'यति महँगो कपडा किन्नुहुँदैन' भन्दै मान्नुभएकै थिएन। तर मैले जबरजस्ती आफूसँग भएको पैसाले किनिदिएँ। बुवालाई यो इस्टकोट कस्तो सुहाउँथ्यो नानी! बुवा बितेपछि केही समय त दाइले पनि लगायो, तर पछि पुरानो भयो भनेर लगाउनै छाड्यो। मलाई भने यसलाई फाल्न पटक्कै मन लागेन। त्यसैले अहिलेसम्म जतन गरेर राखेकी छु।’
आमा चिया पकाउन फेरि भित्र छिर्नुभयो। म भने बुवाको त्यो सुक्दै गरेको इस्टकोटलाई एकनासले हेर्दै पुराना स्मृतिहरूमा हराउन थालेँ।
हाम्रो परिवार ठुलो थियो, त्यसैले बुवालाई घर-व्यवहार चलाउन निकै मुस्किल पर्थ्यो। पुरानो जमानाको मान्छे भएर पनि छोराछोरीलाई पढाउनुपर्छ र उनीहरूको भविष्य राम्रो बनाउनुपर्छ भन्ने चेतना बुवामा पहिल्यैदेखि थियो।
बुवाको जागिर भने पनि, पेसा भने पनि त्यही गाउँघरको जजमानी नै थियो। जजमानीबाट आएको सीमित आयस्रोतले जेनतेन घरको गर्जो टर्थ्यो र हाम्रो शिक्षादीक्षा पनि राम्रै गरी चलिरहेको थियो। बुवाले आफैँले एउटै पुरानो इस्टकोटमा वर्षौँ काम चलाएर, आफ्नो इच्छालाई मारेर हाम्रा लागि निकै दुःख गर्नुभएको रहेछ भन्ने कुरा आज मैले प्रस्टसँग बुझ्दै थिएँ।
मेरो बिहेको दिन पनि बुवाले हल्का सेतो रङ्गको दौरासुरुवाल माथि यही इस्टकोट पहिरिनु भएको थियो। मलाई अन्माएर बिदा गर्ने बेला कसैले नदेखोस् भनी सुटुक्क इस्टकोटको फेरले आँसु पुछ्नुभएको बुवाको त्यो रूप आज पनि मेरो आँखाभरि उत्तिकै ताजा भइरहेको छ। बुवाको त्यो इस्टकोट एउटा सामान्य कपडा मात्र कहाँ थियो र! त्यो त हाम्रा बुवाको इज्जत, सान र स्वाभिमानको एउटा जिउँदो इतिहास थियो।
वर्षाको समय, आकाशको के भर! पानी पर्ने कुनै टुङ्गो नै नहुने। आमाले भित्रबाट चिया लिएर निस्कन पाउँदा नपाउँदै आकाशबाट बररर पानी पो पर्न थाल्यो। अघिसम्म चर्को घाम लागिरहेको आँगनमा क्षणभरमै आकाशमा बादल मडारिएर पानी दर्कियो।
म जुरुक्क उठेँ र डोरीमा सुकाएका कपडाहरू उठाएर पिँढीमा ल्याएर राखेँ। सबै कपडाहरूलाई एक-एक गरी सफासँग पट्याएर पुनः बाकसभित्र मिलाएर राखेँ। अन्त्यमा, बुवाको त्यो इस्टकोटलाई हातमा लिएँ। आफ्ना मुलायम हातहरूले त्यसलाई बिस्तारै मुसारेँ र मायालु ढङ्गले पट्याएर एक पटक फेरि छातीमा कसेर टाँसेँ। बुवाको न्यानो स्पर्श महसुस गरेझैँ भयो।
मैले श्रद्धापूर्वक बुवाले हाम्रो भविष्यका लागि गरेको दुःख र त्यागको सम्मान स्वरूप इस्टकोटलाई ढोगेँ र बाकसको सबैभन्दा सिरानमा जतनले राखेर बाकसको बिर्को बन्द गरिदिएँ। बुवाको इस्टकोट त बाकसभित्र बन्द भयो, तर बुवाका अनगिन्ती यादहरू र उहाँले सिकाउनुभएका संस्कारहरू मेरो मनको कुना-कुनासम्म सधैँका लागि गढिरहे।
आमाले मेरो हातमा तातो चियाको कप थमाउँदै भन्नुभयो, ‘ल नानी, चिया खाऊ। कपडा भित्र राखिहाल्यौ, राम्रो गर्यौ।’
म चियाको चुस्की लिँदै बाकसतिर हेर्न थालेँ। मलाई महसुस भयो कि दाइले त त्यसलाई 'पुरानो कपडा' मात्र देखेर फाल्न खोज्नु भएको थियो। तर आमा र मेरा लागि त्यो बुवाको जीवित इतिहास थियो। बुवाले जजमानी गरेर, आफ्नो इच्छाहरू मारेर, एउटै इस्टकोटमा वर्षौँ बिताएर हामीलाई पढाउनुभयो र हरेकलाई आ-आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु भयो।
आज मैले मनमनै प्रतिज्ञा गरेँ- ‘बुवाको यो इस्टकोट र उहाँले दिनुभएको उच्च विचार म आफ्ना छोराछोरीलाई पनि हस्तान्तरण गर्नेछु, ताकि उनीहरूले पनि आफ्नो आमाबुवाको सङ्घर्षको मूल्य चिन्न सकुन्। भौतिक शरीर त नष्ट भएर जाँदो रहेछ तर आमाबुवाले दिएको संस्कार र प्रेम सधैँ यसरी नै बाकसको कुनामा र मनको मन्दिरमा सुरक्षित रहिरहनेछ।’
आज हामी जे छौँ उहाँकै त्यागले गर्दा छौँ। आधुनिकताको नाममा आमाबुवाको दुःख र पुराना चिनोलाई कसिङ्गर सम्झने आजको पुस्ताका लागि त्यो इस्टकोट एउटा सन्देश देओस्।