जो गरिन्छ,
त्यो देखिँदैन;
मौन पसिनाझैँ
बिस्तारै हराउँछ।
जो गर्न भुलिन्छ,
त्यो देखिन्छ;
ठुलो अक्षरमा लेखिएझैँ
सबैको आँखामा पर्छ।
सयौँ राम्रो काम
एउटै कुनामा थन्किन्छन्,
एउटा कमजोरी भने
चोकभरि चर्चा बन्छ।
यहाँ कर्मको मूल्यभन्दा
कमजोरीको खबर ठुलो छ,
निष्ठाको आवाजभन्दा
आरोपको स्वर चर्को छ।
त्यसैले त कहिलेकाहीँ
मनले आफैँलाई सोध्छ;
के राम्रो गर्नुको अर्थ देखिनु मात्र हो?
हाय समाज!
जहाँ उज्यालोभन्दा
छाया चाँडो देखिन्छ,
र हजारौँ कर्मभन्दा
एउटा भूल भारी हुन्छ।