पहिले
त्यहाँ एउटा नदी बग्थ्यो-
किनारमा
हावाहरू गीत लेख्थे,
माछाहरू अक्षर कोर्थे,
बालुवाले ऋतुका पाइला जोगाउँथ्यो।
पछि
सहर आयो
नदीको काँधमा
पर्खाल उम्रिए,
छातीमा फलाम गाडिए
र उसको पुरानो नक्सा
दराजमा थन्कियो।
नदी-
विवशताको आँसु झार्दै
चुप रहिरह्यो-
आफ्नो मौनता बोकेर
छटपटिँदै बगिरह्यो।
वर्षहरू बित्दै गए
नदीमाथि घर उठे,
घरमाथि सपना,
सपनामाथि
मानिसले भविष्यका रेखा कोर्न थाले।
एक रात
नदीको उकुसमुकुस देखेर
आकाश फुट्यो
तब-
नदीले लामो सास फेर्यो।
न नयाँ,
न अपरिचित-
आफ्नै पुरानो अनुहार लिएर
आफ्नो बासस्थान खोज्दै
ऊ बग्न थाल्यो।
कंक्रिटका पर्खाल ढले,
झ्यालहरू बगे
र त्यसपछि
सुरक्षाका सबै भ्रमहरू
पानीमा विलीन भए।
बिहान
सहर चुप
निराश,
शोकाकुल रह्यो।
तर नदी
आफ्नै दिशामा
शान्तसँग बगिरह्यो
त्यही दिशामा,
जहाँबाट
हामीले उहिल्यै
उसलाई बग्न
निषेध गरेका थियौँ।
किनारमा
एउटा भत्किएको घरको भग्नावशेष
टुलुटुलु हेरिरहेको थियो-
आँगनभरि पानी,
पानीभरि आकाश रमाइरहेको थिए।
घाटसम्म पुगेको पानीले
कसैको नाम लिएन
सायद त्यही क्षण
एउटा पुरानो सत्य
फेरि सतहमा आयो-
प्रकृति माइती आएकी थिइनन्,
उनी त
आफ्नै घर फर्किएकी थिइन-
जहाँबाट
मानवजातिले
उनीलाई जबरजस्ती
बहिर्गमन गराएको थियो।