प्रिय,
तिमीलाई यो सन्देश लेखिरहँदा हाम्रो पहिलो भेट एकपटक मेरो आँखाअगाडि आइरहेको छ। कसरी त्यो रात म बसेको कोठाबाट बाहिर निस्कँदा तिमी हातमा मोबाइल र कानमा इयरफोन लगाएर आफ्नो कोठातर्फ जाँदै थियौ।
सायद तिम्रा लागि त्यो एउटा सामान्य क्षण थियो। तिमी आफ्नै संसारमा थियौ, आफ्नै धुनमा हिँडिरहेकी थियौ। तर मलाई थाहा छैन किन, त्यो रात तिमीलाई देखेको त्यो एउटा झलकले मेरो मनमा केही यस्तो छोडेर गयो, जुन आजसम्म पनि मेटिएको छैन।
तिम्रो त्यो साधारणपनभित्र लुकेको सुन्दरताले मलाई त्यही क्षणदेखि तान्न थालेको थियो। कुनै तयारी थिएन, कुनै अपेक्षा थिएन, कुनै परिचय पनि थिएन। केवल तिमी थियौ, त्यो रात थियो र तिमीलाई देखेर एकछिनका लागि रोकिएको मेरो नजर।
आज पनि लाग्छ, काश त्यो बेला समय त्यहीँ रोकिएको भए हुन्थ्यो। म तिमीलाई अझ केही बेर हेर्न, तिम्रो उपस्थितिलाई नजिकबाट महसुस गर्न र बिस्तारै टाढिँदै गएको त्यो क्षणलाई अलि लामो बनाउन पाएको भए हुन्थ्यो। सायद केही नभनी त्यही एउटा झल्कोमा अझ केही बेर हराउन पाएको भए हुन्थ्यो। त्यो क्षणले मेरो मनमा के छोडेर गयो, त्यसलाई शब्दले अझै पनि पूरा भन्न सकेको छैन।
त्यो एक क्षणको भेट बितेको पनि वर्षौँ भइसकेछ। समय आफ्नै गतिमा धेरै अगाडि बढिसकेको छ। हामीले धेरै कुरा देख्यौँ, धेरै समय सँगै बितायौँ, धेरैपटक भेट्यौँ, कुरा गर्यौँ। तर अचम्म लाग्छ, त्यो पहिलो भेटको सम्झना भने मेरो मनमा अझै उस्तै ताजा छ।
सायद केही मानिसहरू हाम्रो जीवनमा आउँछन् र समयसँगै सम्झनामा मात्र सीमित हुन्छन्। तर केही मानिसहरू सम्झनाभन्दा अलि गहिरो ठाउँमा बस्छन्। तिमी मेरो मनमा त्यही ठाउँमा छौ।
यो बीचमा तिम्रो नजिक हुन, तिमीलाई अझ बुझ्न र तिमीसँग अलि बढी समय बिताउन मैले अनेक प्रयास गरिरहेँ। कहिले कुनै बहाना बनाएर, कहिले कुनै सानो कुरालाई कुराकानीको कारण बनाएर। कहिलेकाहीँ आफैँलाई पनि थाहा हुँदैनथ्यो, म तिमीसँग कुरा गर्न चाहिरहेको थिएँ कि केवल तिम्रो नजिक हुन कुनै कारण खोजिरहेको थिएँ। सायद तिम्रो मनमा मेरो लागि त्यही भावना छैन वा मैले जसरी तिमीलाई महसुस गरेको छु, त्यसरी तिमीले मलाई महसुस गरेकी छैनौ होला।
यही सोचले कहिलेकाहीँ मलाई रोक्छ। आफूलाई सम्झाउँछु, केही सम्बन्धहरूलाई उनीहरूको नाम दिनैपर्छ भन्ने हुँदैन। केही भावनाहरू आफूभित्रै राखेर पनि बाँच्न सकिन्छ। केही चाहनाहरू पूरा नहुँदा पनि तिनीहरूको अर्थ हराउँदैन। तर मनलाई कहाँ रोक्न सकिन्छ र? मनले त आफ्नै बाटो रोज्दोरहेछ र मेरो मनले रोजेको त्यो बाटो, जति टाढा गए पनि, अन्ततः तिमीमै आएर टुंगिन्छ।
म आज पनि तिमीप्रति त्यत्तिकै आकर्षित छु, जति पहिलोपटक तिमीलाई देखेर भएको थिएँ। समय बित्दै जाँदा त्यो आकर्षण कम हुनुपर्ने थियो होला। तर उल्टै, तिमीलाई सम्झने हरेकपटक त्यो अझ गहिरो हुँदै गएको छ।
कहिलेकाहीँ एउटा कप चिया लिएर एक्लै बसिरहेको हुन्छु। हातमा कप हुन्छ, चिया तातो हुन्छ, त्यसबाट बिस्तारै बाफ उठिरहेको हुन्छ। म त्यो बाफलाई हेर्दै केही बेर हराइरहेको हुन्छु। कप समातेका औँलाहरूमा चियाको न्यानोपन महसुस हुन्छ। अनि अचानक तिमी सम्झिन्छौ।
त्यस्तो बेला मलाई चियाभन्दा पनि अर्को कुरा सम्झना आउँछ। यदि यही चियाको अर्को कप तिम्रो हातमा भएको भए? हामी दुई जना आमनेसामने बसेका हुन्थ्यौँ। तिमी आफ्नो कप दुवै हातले समातेर बिस्तारै चिया पिइरहेकी हुन्थ्यौ। तिम्रो कपबाट उठेको बाफ तिम्रो अनुहारछेउ अल्झिरहेको हुन्थ्यो। म आफ्नो कपबाट चुस्की लिँदै तिमीलाई हेरिरहेको हुन्थेँ। हामीबीच धेरै कुरा भइरहेका हुन्थेनन्, तर सायद त्यही मौनताभित्र धेरै कुरा बिस्तारै भनिइरहेका हुन्थे।
तिमीले एकपटक मेरो आँखामा हेर्थ्यौ। म पनि तिम्रो आँखाबाट नजर हटाउन सक्दिनथेँ। केही क्षण त्यही नजरमा अडिएर बस्दा चिया चिसिँदै गएको पनि हामीलाई थाहा हुँदैनथ्यो। मलाई त्यही एउटा साधारण क्षण चाहिएको हो।
दुई कप चिया।
तिमी र म।
र केही बेरका लागि कुनै हतार नभएको एउटा साँझ र रात।
दिन त जसोतसो बितिहाल्छन्। काममा आफूलाई व्यस्त राख्छु। मानिसहरूका बीच हुन्छु। कुरा गर्छु, हाँस्छु, आफ्ना जिम्मेवारीहरू पूरा गर्छु। बाहिरबाट हेर्दा सबै सामान्य नै हुन्छ। तर मनको कुनै कुनामा तिमी सधैँ भइरहन्छ्यौ। जतिसुकै व्यस्त भए पनि अचानक तिम्रो सम्झना आउँछ, अनि केही क्षणका लागि मेरो वरिपरि भएका सबै कुरा ओझेलमा पर्छन्। जसरी अहिले परिरहेका छन्।
तिमीलाई सम्झँदा मेरो मनमा एक किसिमको मिठो एक्लोपन आउँछ। अचम्मको कुरा के छ भने, त्यो एक्लोपनमा पनि तिमी हुन्छ्यौ। त्यसैले त्यो पूर्ण रूपमा पीडादायी हुँदैन। त्यसमा केही मिठास पनि मिसिएको हुन्छ। तिमीलाई सम्झन पाउनु आफैँमा कुनै पुरानो गीत सुन्नुजस्तो लाग्छ, जसले दुःख पनि दिन्छ र फेरि त्यही गीत सुन्न मन पनि लाग्छ।
तर सबैभन्दा गाह्रो भनेको एक्लो रात हो। जब दिनको कोलाहल सकिन्छ, वरिपरि शान्त हुन्छ र म एक्लै हुन्छु, तिम्रो सम्झना अझ गहिरो भएर आउँछ। त्यस्तो बेला मनले केवल तिमीसँग कुरा गर्न खोज्दैन, तिम्रो नजिक हुन खोज्छ। तिम्रो उपस्थितिको न्यानोपन महसुस गर्न खोज्छ। तिम्रो आवाज नजिकबाट सुन्न, तिम्रा आँखामा लामो समयसम्म हेर्न र केही नभनी केही बेर तिम्रो छेउमा बसिरहन मन लाग्छ।
कहिलेकाहीँ त्यही रातमा फेरि चिया बनाउँछु। एक कप चिया लिएर झ्यालछेउमा बस्छु। बाहिर रात हुन्छ, वरिपरि चिसो हावा र शान्त हुन्छ। हातमा समातेको कपले दिने न्यानोपन केही बेर मनसम्म पुग्छ। अनि फेरि एउटा कुरा सम्झिन्छु। एउटा कप चिया आफैँमा कति न्यानो भए पनि, कहिलेकाहीँ अर्को कपको अभावले त्यसको न्यानोपन अधुरो बनाइदिँदो रहेछ। सायद मेरो मनमा तिमी त्यही अर्को कप हौ, जसको अभाव मैले कहिल्यै स्वीकार्न सकिनँ।
त्यसपछि कल्पनाले आफ्नै बाटो बनाउँछ। मेरो मनले तिम्रो मनलाई खोज्न थाल्छ। मेरा आँखाले तिम्रा आँखालाई खोज्छन्। तिम्रो आँखामा केही बेर हराउन मन लाग्छ। तिम्रो हात मेरो हातमा राखेर केही बेर त्यसै बसिरहन मन लाग्छ। तिम्रा औँलासँग आफ्ना औँला बिस्तारै जोडेर, केही नभनी त्यो स्पर्शलाई महसुस गरिरहन मन लाग्छ। तिम्रो हातको न्यानोपन आफ्ना औँलाहरूमा केही बेर रोकिराख्न मन लाग्छ।
तिम्रो नजिक हुँदा महसुस हुने त्यो हल्का कम्पन, त्यो अनौठो तान, त्यो मौन बेचैनी फेरि महसुस गर्न मन लाग्छ। तिमीले केही नगरे पनि पुग्छ। केवल अलि नजिक भएर बसिदिए पुग्छ। तिमी नजिक हुँदा दूरी आफैँ सानो हुँदै गएको महसुस गर्न मन लाग्छ। तिम्रो सासको हल्का न्यानोपनसम्म महसुस हुने गरी नजिक भएर पनि कुनै हतार नगरी बस्न मन लाग्छ। तिमीले केही नभनी मुस्कुराउँदा त्यसको अर्थ आफ्नै मनले बुझ्न खोजिरहन मन लाग्छ।
तर यी सबै चाहनाभन्दा गहिरो एउटा चाहना छ। तिमीलाई नजिक पाउनु मात्र होइन, तिम्रो नजिक हुँदा आफूलाई केही बेर पूर्ण महसुस गर्नु।
सायद मेरो चाहना केवल तिम्रो शरीरको नजिक पुग्ने मात्र होइन। त्योभन्दा धेरै, तिम्रो उपस्थितिको चाहना हो। तिम्रो स्पर्शले मनमा ल्याउने त्यो मिठो हलचल हो। तिम्रा आँखामा आफूलाई केही क्षण खोज्दा भेटिने त्यो अपनत्व हो। तिमीसँग कुनै भूमिका नबोकी, कुनै कुरा प्रमाणित नगरी, केही समय केवल आफू भएर बस्न पाउने चाहना हो।
कहिलेकाहीँ कल्पना गर्छु। हामी दुईजना कुनै एकदमै शान्त ठाउँमा छौँ। वरिपरि कुनै हतार छैन, कुनै आवाज छैन। बाहिर हल्का पानी परिरहेको छ। झ्यालमा पानीका थोपा बिस्तारै खसिरहेका छन्। हाम्रो अगाडि दुई कप चिया छन् र चियाबाट बिस्तारै बाफ उठिरहेको छ।
तिमी मेरो नजिक छौ। यति नजिक कि बीचमा राखिएको त्यो सानो टेबलले मात्र हामीलाई छुट्याएको छ। तिम्रो हात मेरो हातमा छ र म तिम्रा आँखामा हेरिरहेको छु। हामी धेरै कुरा गरिरहेका छैनौँ, तर त्यो मौनताले नै हामीबीचका धेरै कुरा भनिरहेको छ। सायद तिमी आफ्नो चियाको कपबाट एउटा सानो चुस्की लिन्छ्यौ। म तिमीलाई हेरेर मुस्कुराउँछु। तिमी पनि केही नभनी मुस्कुराउँछ्यौ।
त्यसपछि तिमीले आफ्नो हात अलि कसिलो गरी मेरो हातमा समात्छ्यौ। त्यो एउटा सानो स्पर्शले नै मेरो मनभित्र वर्षौँदेखि थन्किएका सबै शब्दहरूलाई एकैपटक शान्त पारिदिन्छ। सायद तिमी अलि नजिक सर्छ्यौ। म तिम्रो आँखाबाट नजर हटाउन सक्दिनँ। तिमी पनि हटाउँदिनौ। त्यो क्षणमा मलाई लाग्छ, यति धेरै समयदेखि खोजिरहेको शान्ति यही रहेछ।
कहिलेकाहीँ लाग्छ, मलाई तिमीसँग ठूलो कुरा चाहिएको पनि छैन। न कुनै वाचा, न कुनै नाम, न भविष्यको कुनै निश्चितता। केवल केही वास्तविक क्षण, जहाँ तिमी र म हुन्छौँ अनि हामीबीच कुनै अनावश्यक दूरी हुँदैन।
तिमीलाई यो सन्देश पढ्दा यो कुनै लेखजस्तो लाग्न सक्छ। तिमी मुस्कुराउँछ्यौ होला। केही बेर चुप लाग्छ्यौ होला। तिमीलाई लाग्न सक्छ, मैले यति धेरै कुरा किन लेखेँ? तर यी केवल शब्दहरू होइनन्। यी तिमीप्रति उहिलेदेखि नै मनमा उठिरहेको त्यो भावना हो, जसलाई मैले धेरैपटक लुकाएँ, धेरैपटक आफूलाई सम्झाएँ र धेरैपटक मनलाई अर्को दिशातर्फ मोड्न खोजेँ। तर मनले तिमीलाई खोज्न भने कहिल्यै छोडेन।
कहिलेकाहीँ लाग्छ, तिमीलाई मैले जति सम्झिन्छु, त्यति नै तिमीले पनि मलाई सम्झिदिएकी भए कस्तो हुन्थ्यो होला? सायद त्यसैले मनले एउटा सानो कल्पना गरिरहन्छ।
कुनै एक साँझ र रात तिमी आफैँ मेरो नजिक आएर बसेकी भए हुन्थ्यो। हाम्रो अगाडि दुई कप चिया हुन्थे। तिमीले आफ्नो कपबाट बिस्तारै चुस्की लिएकी हुन्थ्यौ र म तिमीलाई हेरिरहेको हुन्थेँ। त्यसपछि तिमीले केही नभनी मेरो हात समातिदिएकी भए हुन्थ्यो। म तिम्रा आँखामा हेरेर यति लामो समयदेखि आफूभित्र लुकाएर राखेको सबै कुरा शब्दबिना नै तिमीलाई महसुस गराउन पाएको भए हुन्थ्यो।
तिमी मेरो काँधमा टाउको राखेर केही बेर शान्तसँग बसेकी भए हुन्थ्यो। म तिम्रो कपालको हल्का सुवास नजिकबाट महसुस गर्दै, केही नभनी त्यही क्षणलाई मनभित्र राखिरहन पाएको भए हुन्थ्यो। तिम्रो टाउकोको त्यो न्यानो भार काँधमा महसुस गर्दै, समयलाई केही बेर बिर्सन पाएको भए हुन्थ्यो र त्यो क्षणमा समय फेरि केही बेरका लागि रोकिएको भए हुन्थ्यो।
सायद त्यसपछि मलाई केही भन्नु पर्दैनथ्यो। सायद तिमीले पनि केही भन्नु पर्दैनथ्यो। दुई कप चिया बिस्तारै चिसिँदै जान्थे, तर हामीबीचको त्यो क्षण चिसिँदैनथ्यो।
कहिले आउँछौ?
आऊ न।
धेरै केही चाहिएको छैन। केही समयका लागि भए पनि मेरो नजिक बसिदेऊ। हामी दुई कप चिया बाँडौँ। तिम्रो हात मेरो हातमा राखिदेऊ। मलाई तिम्रा आँखामा हेरेर केही बेर हराउन देऊ। तिम्रो नजिक भएर त्यो परिचित न्यानोपन फेरि महसुस गर्न देऊ। यदि मन लाग्यो भने मेरो काँधमा टाउको राखेर केही बेर बसिदेऊ। मलाई केही भन्नु पर्दैन। तिमीलाई पनि केही भन्नु पर्दैन। तिम्रो मौनता नै पर्याप्त हुनेछ।
म तिमीबाट कुनै उत्तर मागिरहेको छैन। कुनै वाचा पनि होइन। केवल यति चाहन्छु, एकपटक मेरो मनमा तिमीले बनाएको यो ठाउँलाई तिमीले पनि केही बेर महसुस गरिदेऊ।
कहिलेकाहीँ एउटा मान्छेले अर्को मान्छेलाई पाउनुभन्दा पहिले, उसले आफूभित्र लुकाएर राखेको भावनालाई कसैले बुझिदिनु नै पर्याप्त हुन्छ र यदि कुनै दिन हामी साँच्चै दुई कप चियासँगै बसेर केही बेर मौन हुन पायौँ भने, म तिमीलाई केही पनि भन्ने छैन। केवल तिमीलाई हेर्नेछु, तिम्रो हात समातेर बस्नेछु र मनमनै सोच्नेछु, यति लामो समयदेखि मैले खोजिरहेको त्यो एउटा क्षण अन्ततः आइपुगेछ।
त्यो बेला सायद चिया फेरि चिसिँदै हुनेछ। बाहिर साँझ बिस्तारै रातमा बदलिँदै हुनेछ। तर म चाहन्छु, त्यो क्षणमा समय फेरि एकपटक त्यहीँ रोकियोस्, जहाँ पहिलोपटक तिमीलाई देख्दा मेरो नजर रोकिएको थियो, जहाँदेखि यो कथा सुरु भएको थियो र जहाँ आएर, यति लामो समयपछि, मेरो मनले आफूलाई तिमीमा फेरि एकपटक भेट्टाओस्।
मेरो यो अधुरो मनलाई तिमीमा बिलाएर पूरा गरिदेऊ न।
केवल तिम्रो ।