एउटा शून्य भूगोलमा
समयको निस्पट्ट छातीभित्र
बिलकुल एक्लो उभिन्छ
एउटा तन्नेरी।
संसार जब
यथास्थितिको न्यानो ओछ्यानमा
चेतनाहीन सुतिरहेको हुन्छ
त्यति बेला उसको प्रखर आवाजले
ब्युँझाउँछ सडक र गल्लीहरू।
त्यहाँ जब सुरु हुन्छ
विचारको आदिम गन्थन।
नियाल्छ ऊ
प्रणालीको कुरूप विकृति
भोग्छ ऊ
निर्मम सत्ताको थिचोमिचो।
त्यो एकान्तको
अन्धकारलाई चिर्दै
आफ्नै मस्तिष्कको
गहिरो मन्थनबाट
ऊ इतिहासको पानामा
एउटा बलियो रेखा कोर्छ।
अर्थात्—
ऊ आफ्नो विचार प्रस्तुत गर्छ।
त्यो सोच जब
सामूहिक ओठहरूको कसम बन्छ
त्यहाँ ढल्छ एउटा अक्षर
कुनै दिन बन्नेछ कुनै ‘वाद’।
त्यो जोसिलो र तार्किक आवाज
अब नागरिक चेतनाको पत्रमा
कहिल्यै नमेटिने
बलियो हस्ताक्षर बन्न थाल्छ।
चौतारीहरूमा चल्छ
देश ब्युँझाउने दूरगामी चिन्तन
अनि पो बन्ला विचारको महासागर।
जब त्यो सत्यको ऐना
खुला मञ्चको बिचमा उभिन्छ
संसार चुप बस्दैन।
मन पर्नेहरूले
त्यसमा आफ्नो छाया देख्छन्
मुस्कुराउँछन् र हातहरू जोड्छन्।
तर यात्रा त्यतिमै रोकिँदैन
मन नपर्नेहरूले
त्यसमा आफ्नो कुरूपता देख्छन्
र आफ्ना तीखा रायहरू प्रहार गर्छन्।
विरोधीहरूले
कडा शब्दको एसिड खन्याउन् न त!
किनकि
आलोचनाको तातो भट्टीमा नजलीकन
कुनै पनि राजनीतिक दर्शन
खँदिलो र परिपक्व हुन सक्दैन।
राखुन् न सबैले
आ-आफ्ना फरक कोणहरू
ल्याउन् न आ-आफ्ना
नयाँ भिजनहरू
अनि पो बन्छ विचारको महासागर।
अब त्यो विचार
केवल एउटा व्यक्तिगत राग रहँदैन।
त्यसलाई बाँधुन् न त सबै मिलेर
नीति र नियमको
बलियो लोकतान्त्रिक साङ्लोमा।
चलोस् न सडकदेखि
संसद्को रोस्टमसम्म
शब्दहरूको सुन्दर र न्यायपूर्ण जुहारी।
टकराउन् फरक विचारका चट्टानहरू
र त्यो घर्षणबाट बगोस्—
एउटा साझा निचोड।
एउटा प्रखर वक्ताको
रोस्टममा गर्जने सानो झिल्को
जब राष्ट्रको साझा उज्यालोमा बदलिन्छ
अनि पो बन्छ विचारको महासागर।
त्यसेले हे राजनीतिक यात्राको पहिलो यात्री!
तिमी ‘म एक्लै छु’ भनी
इतिहासको मोडमा
कहिल्यै निराश नहुनू।
यो भौतिक शरीर त
समयको नदीमा बगेर जाने
एउटा सानो काठको टुक्रा मात्र हो।
तर यो वैचारिक बहसको तुफान
र न्यायको यो बलिरहेको राँको
सधैँ बाँचिरहन्छ।
व्यक्ति ढलेर
यो महायात्रालाई
केही फरक पर्दैन।
विरोधीको तिखो आलोचना
र संसद्को वैधानिक गर्जन पार गर्दै
त्यो इमानदार नागरिकको सोच—
अन्ततः बनिदिन्छ
नयाँ युगको ढोका खोल्ने
विचारको अमर महासागर।