‘कन्टेनर फँसेर ४ दिन बाटोमा यार,’ समीरले सुनायो।
एक घुट्की चिया पिएपछि थप्यो, ‘मजा आयो यार। हिलैहिलो, न छेउछाउ बस्ने ठाउँ छ, न दोकान छ, न मोबाइल राम्रो टिप्छ, तर मजा आयो।’
‘...तर मजा आयो’ भन्ने वाक्यले सबैलाई छक्क पार्यो। आखिर त्यस्तो अप्ठेरोमा मजा चाहिँ कसरी आयो होला?
समीरले अगाडि के भन्ला भनेर सबैजना उत्सुक थिए। उसले भने स्वान्त सुखायको भावमा थियो।
एकजनाले मौनता तोड्यो, ‘मजा चाहिँ केमा आयो यार?’
समीरले झटपट जवाफ दियो, ‘मेन्टल पिस’
‘हँ?’
‘हेर साथी। एक त मोबाइल राम्रो टिप्दैन, त्यसै टेन्सन फ्री,’ उसले खित्खिताउँदै थप्यो, ‘अफिस र कस्टमरलाई हालत बताइसकेपछि ढुक्कै। बाटो मुनि खोला गड्गडाइ राखेको थियो। गाडीको घ्याँ-घ्याँ र घुँ-घुँ सुन्ने बानी परेको कानलाई खोलाको गड्गडाहटले मेडिटेशन नै भयो! ट्रेलरको भान्सामा बिहारी ड्राइभरले पकाएको खाना फाइभस्टरभन्दा दामी! पुरानो हिन्दी गाना सुन्दै सुत्दाको मज्जा त बोनस।’
कर्पोरेट साथीहरू छक्क परे।
समीरले थप्यो, ‘मजा लिन जान्नु पर्दो रैछ साथी, मजा त दुःखमा बढी हुँदो रैछ।’
‘खाना खायो, खोलातिर झर्यो, नुहायो। लुगा धोएर ढुंगामा सुकायो। अरू गाडीको मान्छे पनि आउँछ, आफ्नो कथा कहानी सुनाउँछ। सबैको कथा खास छ। पडकास्ट न सडकास्ट।’
उसको स्वादिलो बयानलाई साथीहरूले डाहासँग मिसाएर सुनिरहे।
‘तर घरमा फोन गर्दा चाहिँ टेन्सन लेको देख्दा झ्याउ लाग्ने के! बाटो कस्तो छ, के खान्छ, कहाँ सुत्छ, हामीसँग चाहिँ टाइम छैन उता मस्तीमा होला नि! के-के के-के सोधेर हैरान यार,’ खित्का छाड्दै समीरले भन्यो।
‘त्यो त घरको मान्छेको पीर हो नि!’ अर्को साथीले भन्यो।
‘अँ यार, त्यो पनि हो।’
‘अचम्मको मान्छे यार तँ!’
समीरले प्रायः साथीहरूबाट पाउने प्रतिक्रिया यस्तै हुन्छ।
समीर काठमाडौंको एक अन्तर्राष्ट्रिय लजिस्टिक्स कम्पनीमा उच्च जिम्मेवारीमा छ। उसको काम आयातनिर्यात गर्ने व्यवसायीहरूको आवश्यकताअनुसार प्लेन, पानीजहाज, कन्टेनर आदिको ढुवानी व्यवस्थापन गर्नु, भाडा तय गर्नु, कागजी प्रक्रियामा मिलाउनु र बेलाबखत ढुवानीमा आफैं खटिनु पनि हो। सानो पदबाट सुरु गरेको उसले यो काम गरेको १३ वर्षजति भयो।
कहिलेकाहीँ अत्ति नै दिक्क मान्छ, तर फेरि पनि उसलाई लजिस्टिक्सको लत यस्तो लाग्यो कि उसले योभन्दा अरू कुनै पेसा नै देख्न सकेन। ऊ प्रायः साँझको समयमा साथीहरूसँग चिया गफमा हुन्छ र भोगाइहरू सुनाउँछ।
एकपटक उसले एकजना एक्सपोर्टर (निर्यातक) को सामान मोन्ट्रियल पुर्याइदिनुपर्ने थियो। कतिपय ग्राहक सबैभन्दा सस्तो सेवा खोज्छन् तर अपेक्षा चाहिँ भिआइपीस्तरकै हुन्छ। समीरले ग्राहकलाई उसको मागअनुसारको सेवा प्रस्ताव गर्यो। भिआइपी सेवा त ‘भैहाल्छ नि सर’ भनेर मस्का पालिस गर्यो। ग्राहक फकाउन मस्का पालिसको गुण अनिवार्य छ। समयअनुसार समीर मस्का पालिसमा पोख्त छ, त्यसैले त जमेको छ।
भनेकै दिन सामान एयरपोर्टबाट भन्सार जाँचपास भयो र अर्को दिन उड्यो। सेवाको विवरणअनुसार सामान ३ वटा कम्पनीका जहाजमा चढेर, ४ ठाउँमा ट्रान्जिट भएर डेस्टिनेसन अर्थात् क्यानाडाको मोन्ट्रियल पुग्नु पर्ने थियो। सामान पुग्न १०/१२ दिन लाग्ने भए पनि समीरले ‘भैहाल्छ नि’ वाला अन्दाजमा ५/६ दिनमै पुग्ने भनेको थियो। त्यसो नभन्दा व्यापार नआउने जोखिम जो थियो!
दुबई पुगेपछि सामान फँस्यो। कारण, अर्को एअरलाइन्सको बुकिङ निश्चित भएको रहेन रहेछ। गल्ती परिस्थितिजन्य थियो जसमा समीरको कुनै नियन्त्रण थिएन। २/३ दिन त ग्राहकले चाल पाएन। पाँचौँ दिनमा ग्राहकको फोन आयो।
‘सामान कहाँ छ समीर जी?’
‘सर म बुझ्छु है त।’
धेरै वटा बिन्दुबाट काम गर्नुपर्ने र कदम कदममा व्यवधान आउन सक्ने भए पनि समीर सकेसम्म खटिएर समस्या समाधान गर्छ। ग्राहकले लिएको सेवाको गुणस्तर, नियन्त्रणबाहिरको परिस्थितिलगायतले गर्दा समयमै सेवाको ग्यारेन्टी नभए नि समीरको मेहनत र खटाइमा भने एकरत्ती पनि शंका गर्ने ठाउँ छैन। ग्राहकले उसलाई पत्याउने एउटा कारण त्यो पनि त हो।
उसले ग्राहकलाई फकायो, ‘हेर्नुस् न सर। दुबईमा अफलोड भएछ। मैले फलो गरेको छु। भोलि उड्छ, ३ दिनमा पुग्छ।’
ग्राहकलाई ढुक्क पार्न खोजे पनि समीर आफैं भने ढुक्क थिएन। किनभने एअरलाइन्सहरूले सामान बोक्न नसक्दा काबुबाहिरको परिस्थिति भनेर पन्छिन्छन्, उनीहरूले बढी पैसा तिरेर बुक गरेको सामानलाई प्राथमिकतामा राख्छन्।
ग्राहक कड्के, ‘के हो यार, यस्तो गर्ने? शिपमेन्ट (सामान) क्यान्सिल गर्दिन्छु भनेको छ कन्साइनी (प्रापक) ले। यस्तो सारो इरिस्पोन्सिबल त नबन्नुस् न!’
समीरले ‘हस् सर, हेर्छु। हेड अफिसमै कुरा गर्छु’ भनेर थमथम्यायो।
कुरा बुझ्दा दुबईबाट लन्डनको ग्याटविक एअरपोर्टसम्म जाने जहाजको शेड्युल नै ३ दिनपछि मात्र छ। क्या फसाद्!
समीरले एअरलाइन्स गुहार्यो, ‘लौ न रिरुट गरेर भए पनि चाँडै पुर्याइदिन पर्यो।’
यसो उसो गर्दा गर्दै सामान पुग्ने समय र भाडा दुवै बढ्ने भयो। यसै त रिसाइराखेको ग्राहकलाई अब अझ भाडा बढ्ने कुरा कसरी गर्ने?
३ दिनपछि दुबईबाट सामान त उड्यो, ग्याटविकमा पुग्दा २७ मध्ये ७ वटा पोका भेटिएन। अर्को आपत्!
ग्राहकले दिनको ५ पल्ट फोन गर्छन्। इमेल र व्हाट्सएप त्यत्तिकै। फेरि एकजनाले मात्रै गरे हुने नि! उनका सबै कर्मचारीले पालैपालो रिस पोख्छन्। समीरलाई मात्रै नभई उसका सहकर्मीलाई थर्काउँछन्। त्यो मानसिक तनावको लेखाजोखा गर्नै भ्याइन्न। वाक्क दिक्क, हैरान्। तथापि, एअरलाइन्सको पछि लाग्नै पर्यो, सामान सक्दो चाँडो पुर्याउनै पर्यो।
तेह्रौँ दिनमा बाँकी ७ पोका भेटियो र क्यानाडाको टोरन्टोतर्फ उड्यो।
उता प्रापकबाट टन्नै इमेल आइसकेका छन्, सामान ढिला पुग्ने भएकाले काम नहुने भयो, सामान स्वीकार गरिँदैन भनेर। समीरले ट्रान्जिट एअरपोर्ट र एअरलाइन्सको कमजोरीले सामान पुग्न ढिला भएको स्पष्टीकरण दियो। तर मान्ने कस्ले? ग्राहकका लागि त कार्गो कम्पनी नै सम्पूर्ण जिम्मेवार हुन्छन्।
टोरन्टोमा पनि प्राविधिक कारणले ३ दिन ढिलाइ भएपछि त्यहाँबाट ट्रकिङ माध्यमबाट सामान मोन्ट्रियलतर्फ लाग्यो। बाटोमा हिउँ परेर हो वा कुन अवरोधले हो, १६ घण्टामा पुग्छ भनेको सामान ४ दिन लगाएर पुग्यो।
प्रापक ग्राहकसँग रिसले आगो, ग्राहक समीरसँग रिसले आगो। समीरले त्यो राप एअरलाइन्ससँग बाँड्न खोज्यो, एअरलाइन्स ‘बाइ द रूल कम्प्लेन गर्नुस् हजुर। हामीले सकेको गरेकै हो’ भनेर टक्टकियो।
जे होस्, ५/६ दिनमा पुग्ने भनेको सामान १७ दिनमा भए पनि सकुशल पुग्यो र प्रापकले स्वीकार पनि। तर समीरले त्यो सेवावापतको पैसा पाउन अझै बाँकी छ, ७ महिनाजति भयो रे।
तथापि समीर रमाउन छाडेको छैन। हरेक साँझ ऊकहाँ आउने साथीभाइलाई ग्राहकका गाली, ठाउँ-ठाउँमा झेलेका अप्ठेराहरूलाई चियासँग मिसाएर रमाइलो पारामा सुनाउँछ। साथीहरू छक्क पर्छन्, समीर घरिघरि खित्का छोडेर हाँस्छ।
एकजना पुराना ग्राहक छन्। काम नियमित र दाम अनियमित दिन्छन्। नियमित ग्राहक भएकाले दामकै लागि भड्काउन पनि भएन। ग्राहक पाउन साह्रै गाह्रो, टिकाउन झनै गाह्रो छ। समीर कहिले फकाएर त कहिले घुर्क्याएर पैसा उठाइरहन्छ।
ग्राहक बढी बाठो छ। उसले समीरलाई निगालोको बोटमा चढाएर मक्ख पार्छ र उल्लेख्य पैसा उधारो राख्छ। समीर सजिलै मक्ख पर्छ। कहिलेकाहीँ सामान उडाउन अलिक ढिला हुँदा ग्राहकले घुर्क्याउँछ पनि, ‘अर्को कम्पनीले राम्रो रेट दिन्छ, आजै उडाइदिन्छु भन्छ। उसको भन्सारको रेट पनि सस्तो छ। के हो यार तपाईंको? अर्कोलाई सामान दिऊँ?’
समीर भित्रभित्रै आगो हुन्छ, ‘तैँले समयमै पैसा दिए त म पनि एअरलाइन्सलाई तिर्थेँ र सामान समयमै उडाउन सक्थेँ नि!’ मनमनै गाली बके पनि ऊ भन्छ, ‘हैन दाजु, उसले तपाईंको सामान हात पार्न मात्रै यस्तो भनेको हो क्या। कार्गोमा मसँग कम्पिटिशन गर्न कस्ले सक्छ र यहाँ? भोलि नै उडाउँछु तपाईंको सामान। बरू अलिकति पैसा छ भने हाल्दिनु है!’
लिच्चडपन्तीमा पिएचडी गरेको ग्राहक भन्छ, ‘पैसा त सामान पुगेपछि आइहाल्छ नि समीर जी, पैसा त भैहाल्छ नि सामान हाल्नु न! म कहाँ जान्छु र!’
समीरले यताउताबाट तानतुन पारेर सामान पठाइदिन्छ। उसले पाउनु पर्ने भाडाको पैसा ग्राहकले आफ्नो व्यवसाय विस्तारमा लगानी गर्छ। समीरलाई व्यापार र पैसाको भार दुवै थपिन्छ।
हुन त सबै ग्राहक यस्ता छैनन्। कतिपयले समयमै पैसा तिर्छन्। तर सामान्य तरिकाले भएका घटनाहरू त्यति सुनाउनलायक नहुँदा रैछन्।
अर्को एक पटक, ग्राहकको एकाउन्टेन्टले समयमै भन्सार महसुल आइपिएस नगरिदिँदा काम अड्कियो। वीरगन्जको भन्सारमा अड्केको कन्टेनरमा डिटेन्सन लाग्यो। ग्राहकले त्यसमा पनि समीरलाई नै घोच्यो, ‘यति बढी पैसा एकैचोटि कहाँ हुन्छ? तपाईंले टाइममै भन्नु भएन!’
समीरले भन्यो, ‘अफिसबाट दिनदिनै इमेल आउँछ त तपाईंकोमा!’
‘अरे समीरजी, आजको जमानामा इमेल हेर्न कस्लाई फुर्सद छ यार। करोडौँको कारोबार छ, तपाईंको २०/३० लाखको भन्सारको के टेन्सन दिएको? बिल गरे भैहाल्यो नि!’ ग्राहक साहुजस्तै बोल्यो। ग्राहक सधैं माथि नै हुन्छ।
समीरले, ‘आफ्नो गल्ती पनि मेरै टाउकोमा हाल्छस्!’ भन्न पनि सकेन। आखिर ग्राहक जोगाउनु छ। खोजखाज गरेर सामान छुटाएर डेलिभरी गर्यो। भाडा त ढिलो चाँडो आयो, डिटेन्सनको रकम अहिले पनि उसको खातामा झुण्डिइराखेको छ रे।
तनाव र झण्झटका भोगाइहरू रमाइलो पारामा सुनाउने हुनाले समीरका कुरा साथीहरूका लागि प्रेरक पनि हुँदा हुन्, र त रमाएका देखिन्छन्। मदिरा नपिउनु उसको अर्को विशेष बानी हो, त्यसले पनि साथीहरूलाई प्रेरित गरेको छ।
एकपटक समीरले मलेशियाबाट एक नेपाली मजदुरको शव ल्याएछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन क्षेत्रबाट शवको भन्सार प्रक्रिया भयो, मलिन अनुहार लिएर शव लिन आएका मान्छेहरू बाहिर कुरिरहेका थिए। समीर पनि भावुक भएको थियो। उसले बाकसलाई बोलेरोमा हाल्न सहयोग गर्यो र बाइक लिएर सँगसँगै जस्तो आर्यघाट पुग्यो।
आर्यघाटमा मलामीहरू तयारीमा थिए। उमेरमा कमाउँला र भविष्यमा रमाउँला भन्ने सपना बोकेर लाहुर गएको लक्का जवानको शव थियो त्यो जसले अघिल्लो बिदामा घर आउँदा बिहे गरेको रहेछ। यसपालि ऊ बाकसमा फर्किँदा उसको १४ महिनाको सन्तानलाई उसकी फुपूले बोकेकी थिइन्। बच्चा जुस चुस्दै वरिपरि हेरिराखेको थियो। लासहरू जलाएको धुवाँले हुनुपर्छ, घरिघरि नाक पुछ्थ्यो र मुख बिगार्थ्यो।
जब शवको बाकस खोलियो, अरूले भेउ पाउनुअघि नै समीर उफ्रेर १० हात पर पुग्यो। लौ! त्यो शव नेपाली मान्छेको थिएन। पछाडिबाट सराप्दै र लखेट्दै आइरहेका मलामीहरूको चिच्याहट उसले सुन्यो, ‘कार्गोवाला, यही थ्यो त, काँ मर्यो? कस्को लास बोकेर ल्यायो?’
आर्यघाटबाट कसैगरी उम्केर साथीहरूसँग भेटिएको समीरको त्यो साँझको अनुहार मलिन थियो। साथीले जिस्क्यायो, ‘के भो साथी, इन्ज्वाइ गर्छु भन्थिस् त? के टेन्सन भो?’
समीरले भन्यो, ‘कुन जन्मको सराप परेर कार्गोमा आएछु। जसले जहाँ जे गल्ती गरे पनि दोष पाउने खप्पर चाहिँ मेरै रैछ।’
साथीहरू आत्तिए, आज अलिक साह्रै परेछ कि भनेर। उनीहरूले समीरलाई ढाडस दिए। समीर हल्का हुँदै गयो।
‘कार्गो कन्फर्म गर्ने कम्पनी। लास दिने हस्पिटल, प्याकिङ गर्ने अर्को होला। बुक गर्ने एजेन्ट उतैको। कागज मिलाउने एम्बेसी। बोकेर ल्याउने एअरलाइन्स। अब यहाँ बसेर मलेशियाको लासमा गल्ती हुन्छ भने यार मेरो गल्ती चाहिँ कहाँ भयो?’ एकै सासमा यी सब कुरा सकेपछि समीरले सेलाइसकेको चिया सिनित्त पार्यो। साथीहरू अवाक् भए।
केही पलपछि ऊ खित्का छोडेर हाँस्यो।
समीरसँग यस्ता तीता र मीठा अनुभवहरू कैयौँ छन्। हुन त अपजस मात्र हैन, राम्रो काम गरेवापत उसले विभिन्न व्यक्ति, सरकारी गैरसरकारी निकायहरूबाट प्रशंसा पत्रहरू पनि पाएको छ। तर उसले धेरै पाएको भने पीडादायी अपजस नै हो, अझ आफ्नो गल्ती नहुँदा पनि जिम्मेवारी बोक्नु परेको अपजस। र त ऊ पीडालाई पनि सेलिब्रेट गर्न बानी परेको छ।
केही गर्नै पर्छ भन्ने अठोटका साथ शहर छिरेको समीरले दुःखलाई साथी बनाएर राम्रै उन्नति गरेको छ। परिवार, आफन्तसमेत भेटिएका सबैलाई सकेको सहयोग गर्छ, तर उसले जस भने कमै पाएको महसुस गरेको छ। मान्छेहरू दिँदा मात्रै बढी नजिक हुने उसको भोगाइ छ।
अरू त अरू, परिवारको पनि ऊसँग गुनासो नै छ, क्वालिटी टाइम नदिएकोमा। तर ऊ मान्दछ कि क्वालिटी लाइफ पाउनका लागि क्वालिटी टाइमलाई त्याग्न सक्नुपर्छ। अनि यी सबै दिक्दारीलाई भुलाउन उ कामबाट थोरै समय निकालेर साथीभाइ बटुलेर चिया खान्छ र पीडालाई सेलिब्रेट गर्छ। मन भारी हुँदो हो तर खित्का छाड्दै भन्छ, ‘यति पनि तनाव नभए त बाँच्नु कसरी हौ!’
अनेकौँ कठिनाइहरू झेल्दै समीरजस्ता कार्गोम्यानहरू अनवरत खटिरहेका छन् र त संसार चलायमान छ। भनिन्छ, संसार चल्नु र लजिस्टिक्स एकअर्काका परिपूरक हुन्। कर्मयोगी समीरहरू न दिउँसो, न राती भन्छन्, न उड्ने, न गुड्ने भन्छन्, न घाम न बादल भन्छन्, न फाइभ स्टार न कन्टेनरको भान्सा भन्छन्। सबै अप्ठेराहरूमा रमाउँदै निर्वाध सेवा दिन्छन्। तर उनीहरूले पाउने जसको भाग चाहिँ अत्यन्त न्यून हुँदो रहेछ।
साइकलको चेनको एउटा कडी बिग्रँदा साइकल चलाउनै अप्ठेरो हुने भएजस्तै लजिस्टिक्स पनि धेरै बिन्दुबाट धेरै संस्था अनि व्यक्तिहरूले सेवा दिनुपर्ने काम रहेछ र एउटाले बिगार्दा पुरै काम बिग्रँदो रहेछ। यी सबै बिन्दुको जिम्मेवारी अन्तर्राष्ट्रिय कानुनमै तय भएको हुँदो रहेछ।
लजिस्टिक्स कम्पनीले तत्-तत् सेवाबिन्दुहरूको कर्तव्य र जिम्मेवारीलाई एकमुष्ट पारेर ग्राहकलाई सेवा दिँदा रहेछन्। तर ग्राहकले नबुझेर हो वा बुझ पचाएर हो, दोषी चाहिँ लजिस्टिक्स कम्पनी नै देखिने चलनले गर्दा कार्गोम्यानहरूसँग पीडामा आनन्द लिनुको विकल्प नहुने रहेछ।
समीरजस्तै कर्मयोगीहरूलाई युगौँयुगसम्म काम लागोस् भनेर श्रीमद्भग्वत पुराणमा यी वाक्यहरू लेखिएका होलान्:
तत्तेऽनुकम्पां सुसमीक्षमाणो
भुञ्जान एवात्मकृतं विपाकम्।
हृद्वाग्वपुर्भिर्विदधन्नमस्ते
जीवेत यो मुक्तिपदे स दायभाक् ॥
अर्थ, ‘जसले आफ्नो कर्मको फलस्वरूप आएका दुःख-कष्टलाई पनि भगवानको कृपा ठानेर सहन्छ र मन, वचन तथा कर्मले भगवानलाई नमस्कार गर्दै जीवन बिताउँछ, त्यो व्यक्ति मुक्तिको अधिकारी बन्छ।’