जब मानव जीवनमाथि
धर्तीको प्रलय आउँछ
शब्दहरूको अर्थ हराउँछ
जसरी बन्द हुन्छन्
भक्ति गर्ने ओठहरू
एक्कासि आफ्नै सोचेको
मन्दिर भित्र नै
बली बनेको क्षण
ठिक उसै गरी आफ्नो जीवनकै
निर्माणकर्ता, सृष्टिकर्ता वा
ईश्वरभन्दा माथिको
सत्य,
आफ्नो अस्तित्वको रचनाकार
आफैँ माथि बज्रिन्छ प्रलय बनेर
तब आउँछ मौन चीत्कार
धर्तीभित्र बिलाउँछ
सिंगो प्राणीको अस्तित्व,
एउटा महाज्वालामुखी सामु
केबल एक झिल्को बनेर
त्यो ढुकढुक गरिरहेको आत्मा!
त्यो केही क्षण अघिसम्म
आफ्नो जिजीविषाको रक्षाको
निमित्त,
कहीँ अस्तित्वको रक्षाको निमित्त
दौडिरहेको एउटा जीवित
आत्माको ज्योति धर्तीको
प्रलय भित्र कैद हुन्छ
निर्मम समय
हिजोसम्म एउटा पञ्च तत्त्वको
शरीर लिएर बाँच्नको लागि
कुदेको प्राणी आज केबल
सास फेर्नको लागि तड्पिन्छ
र हरेक युद्ध तथा संघर्षपछि नयाँ
युगको झुल्को आए झैँ
शान्त हुन्छ केही बेरमा
छटपटाएको प्राणी
त्यो क्षणबाट अब उसले जीवन
हुँदाको पीडा भवसागरबाट भने
उन्मुक्ति पाउँछ
तर आफ्नाको क्रन्दन देखेर
त्यो आत्माले शान्तिले विलीन हुन
पाउँदैन,
जब देख्छ चोट र विक्षिप्तताले
भरिएका आफ्ना एका दुई शुभेच्छुकहरू
उसले धर्तीभित्रको विलीनतासँगै
अर्को प्रण गर्दछ,
म आउँछु फेरि तिमीलाई
भेट्न तिम्रै मन्दिरको
दीप बनेर, बिहान बेलुका
तिम्रो हातको पानी पिउने
प्राणी बनेर,
तिमीले प्रत्येक शुक्लपक्षमा
दीप जलाउने आँगनीकै तुलसी
बनेर!
म मानव आत्मा हुँ त्यसैले
प्रकृतिको प्रलयबाट भौतिक
शरीर बिलाए पनि म हराउने छैन
यो आफूभन्दा माया गर्ने प्रेमिल
मुस्कानको घेराबाट
यही प्रकृतिलाई साक्षी राखेर
यिनैलाई पूजा, जगेर्ना
गर्ने चेतना लिएर पुनर्जीवित
हुनेछु,
त्यही डुबेको करेसा वरिपरि
नेपाली भूमिको कन्दराभित्रै
वनस्पति, वृक्ष,
मानव, प्राणी वा
एक झिल्को दियो बनेर
भए पनि म यही पवित्र माटोमा
प्रलय पछिको दीप बनेर
उदाउने बाचा गर्नेछु।