कहिले देश बदल्ने, प्रणाली सुधार्ने बहानामा
कहिले समयसँगै बदलिने बहानामा
कहिले शासनका क्रूरताको बदलामा
कहिले अन्यायको अन्त्यका लागि
तर दुखिरह्यो सधैँभरि
र
आज फेरि दुख्यो मेरो देश।
लाग्दैन नदी मात्र उर्लिएको हो
हाम्रो विवेक खस्किएको पनि हो
लाग्दैन पहाड मात्र खसेको हो
प्रकृति र मान्छेबिच कटुता बढेको हो।
वर्षौँदेखि विकासका नाममा पहाडका छाती चिर्दै
नदीका बाटा साँघुरा बनाउँदै
प्रकृतिको मौनतालाई हाम्रो साहस ठान्दा
भोलिका सन्ततिको भविष्य साँघुरिएको छ
आजको विपत्तिले देश बिचल्ली बनाएको छ।
उर्लिएको भेलसँगै कसैको संसार बगेको छ,
कसैको सपना बगेको छ,
आज फेरि देश दुखेको छ।
दुखाइको कारण पनि हामी
दुखिने पनि हामी
अब हाम्रा विकासका मोडल बदल्नु छ
नदीलाई नदीकै बाटोमा हिँड्न दिनु छ
पहाडको शालीन मौनतालाई बुझ्नु छ
प्रकृतिलाई जित्ने हाम्रो औकात छैन
यिनलाई माया गरेर विकास गर्नु छ
नत्र फेरि देश दुख्नेछ
सँगै हामी पनि दुख्नेछौँ!