हरेक मानिसलाई लाग्छ-
म असल छु,
ठिक छु,
ज्ञानी छु,
प्रेमले भरिपूर्ण छु,
मर्यादाको प्रतिमूर्ति छु।
हरेक मानिसलाई लाग्छ-
म राम हुँ।
अनि यिनै स्वघोषित रामहरू
आफ्ना हरेक दुष्कर्मको दोष
अरूको थाप्लोमा थोपर्छन्।
कहिले समाजलाई दोष दिन्छन्,
कहिले परिस्थितिलाई,
कहिले समयलाई,
त कहिले तिनै मानिसहरूलाई,
जसमाथि उनीहरूले अन्याय गरेका हुन्छन्।
भन्छन्-
राम त म नै हुँ,
विडम्बना यत्ति हो,
रावणहरूको बिचमा बस्नुपरेको छ।
तर थोरै मानिसलाई मात्र लाग्दो हो-
मभित्र दश होइन,
सयौँ रावणहरू छन्
काम, क्रोध, लोभ, मोह,
मद, मात्सर्य र अहङ्कारका रावणहरू।
एउटा टाउको काट्दा
अर्को टाउको पलाउने
आफ्नै मनभित्रका
सहस्रधारी रावणहरू।
मानिसको जिन्दगी
काल्पनिक रामको पछि लाग्दै,
यन्त्रवत् रामनाम जप्दै,
यता, उता, जताततै
भौँतारिँदै,
बेहोसीमै बितिजान्छ।
तर धर्मको असली अर्थ
रावणको पुतला जलाएर
आफू राम भएको घोषणा गर्नु होइन,
बरु आफूभित्रका सहस्रधारी रावणहरू
पहिचान गर्नु हो
आफ्नै भ्रमका पर्दाहरू च्यातेर
सत्यको साक्षी आफैँ बन्नु हो।