अपरिचितहरूको भीडमा तिमीलाई देखेको थिएँ
त्यो बेला केही विशेष महसुस भएको थिएन
पछि हामी एउटै ठाउँमा बसेका थियौँ
तर पनि एकअर्कासँग चिनजान थिएन
मैले कहिल्यै सोचेको थिइनँ
कि कुनै दिन तिमीसँग कुरा पनि गर्नेछु
त्यसपछि पनि हामीले खासै कुरा गरेका थिएनौँ।
याद छ मलाई,
जब तिमीले मेरो नाम सोधेकी थियौ
याद छ मलाई,
जब हामीले एकअर्कालाई चिनेका थियौँ
तर अहिले खै किन, सायद म मात्रै सम्झिरहेको छु
म तिमीलाई याद गरिरहेको छु
तर तिमी कहाँ छौ?
कहाँ छौ तिमी?
तिमीलाई याद आउँदैन हामीले सँगै बिताएको समय?
याद आउँदैन हामीले सँगै गीत गाएको त्यो लय?
सायद याद कसरी आउँथ्यो र तिमीलाई मेरो
तिमी त अहिले अर्कैको संसारमा छौ
अरूकै प्रेम दरबारमा छौ।
तिम्रो आँखामा हेर्दै कुरा गरेको त्यो पल
जब पूरै सहर शान्त थियो
र म तिम्रो आवाज सुनिरहेको थिएँ
सायद तिम्रो लागि म फेरि अपरिचित बनेको छु
तर मैले तिमीलाई महसुस गरेको थिएँ
तिम्रा भावनाहरू बुझ्ने प्रयास गरेको थिएँ
तिम्रो मनका कुराहरू सुनेको थिएँ।
हरेक दिन, हरेक कुरा बदलिन्छन्
यहाँ मान्छे बदलिन्छन्, भावनाहरू बदलिन्छन्
तिमी पनि बदलिएकी छौ
सायद तिम्रो मन पनि बदलिएको छ
तर म! म बदलिने सोचमा छैन
किनकि मेरो भावना अझै तिमीसँग जोडिएको छ
फेरि एक पटक यो मुटु टुक्रा पार्ने आँट छैन
त्यसैले मन जहाँ अड्किएको छ
सायद त्यहीँ अड्किरहोस्।
बस्, यति मात्रै जान्न मन छ
तिमी कहाँ छौ?