चुनावअघि मैले सामाजिक सञ्जालमा लेखेको थिएँ — चुनाव जसले जितोस्, सरकार जसले बनाओस्, ऊ पूरै सफल होस् भन्ने मेरो कामना छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमतसहित चुनाव जितेर बनाएको बालेन्द्र शाह नेतृत्वको सरकारले एक महिना पूरा गर्दा ममा केही दुविधाहरू उत्पन्न भएका छन्।
सरकारको सफलता भनेको के हो?
यदि सरकारले आफ्नो सफलता आम नागरिकको विश्वास जित्नुमा होइन कि तिनको जीवनमाथि आफ्नो नियन्त्रण र हैकम कायम गर्नमा देख्न थाल्यो भने के हुन्छ?
पुराना दलहरूले दशकौंदेखि किनाराका मानिसहरूलाई सुरक्षित र गरिमासहितको जीविका दिन नसकेकामा नयाँ सरकारले तिनको कतृत्व (एजेन्सी) र मानवीय गरिमालाई शून्यमा झारिदियो भने?
पुराना दलले संवैधानिक विधि र थितिप्रति ओठेभक्ति मात्रै देखाएकामा नयाँ सरकारले त्यति कष्ट पनि नगरी संविधान मिच्न थाल्यो भने? शक्ति सन्तुलनका लागि स्थापित संस्थाहरूलाई निस्तेज पार्यो भने?
यी प्रश्न स्वभावतः चुनावअघि पनि मेरो मनमा थिए। तर त्यस बेला एमाले, कांग्रेस र माओवादीप्रति सञ्चित आम नागरिकको वितृष्णा यति गहिरो भइसकेको थियो कि, नयाँ विकल्पजस्तो देखिने बालेन–रवि (लामिछाने) सहितको रास्वपालाई सोधिने कुनै पनि प्रश्न सुन्न आम मतदाता तयार थिएनन्।
कतिसम्म भने, मधेसमा केही मतदाताले मलाई भनेका थिए — नयाँले केही गर्छन् भन्ने ग्यारेन्टी छैन। तर लुट्ने नै रहेछन् भने पनि अब नयाँले लुटून्, पुरानाले धेरै लुटिसके, तिनलाई जसरी पनि लखेट्ने हो!
नेपाली राजनीतिमा अहिलेसम्म जति पनि व्यक्ति र दलहरू आए, तिनीहरूको सामूहिक असफलता दर्शाउने योभन्दा सटिक अभिव्यक्ति मैले अहिलेसम्म अन्त भेटेको छैन।
परिणाम जे आयो, तपाईं हाम्रा सामु छ।
सरकारले काठमाडौंमा चार वटा सुरक्षा फौजको घेरामा डोजर चलाएर बस्तीहरू उजाडिदिएपछि अहिले देशैभरि भूमिहीनहरू मात्र होइन, जमिनमाथिको स्वामित्वमा कुनै प्राविधिक वा अरू कुनै अन्योल भएकासहित लाखौं मानिस समेत त्राहिमाम भएका छन्।
हिजोसम्म कसरी प्रगति गर्ने भन्ने चिन्तामा रहेकाहरू आज भए–बचेको सीमित सम्पत्ति शून्यमा झर्ला र आर्थिक दुर्गति होला कि भन्ने भयमा छन्।
खास गरी हरियो बर्दीधारी सेनाको सडकमा उपस्थिति, हप्कीदप्की तथा जंगी अड्डाबाट छ्यापछ्याप्ती निस्केका धम्कीपूर्ण 'प्रेस नोट' हरूका कारण अभूतपूर्व भयको अवस्था सिर्जना भएको छ।
धेरैलाई यसले जंगी शासनको झल्को समेत दिएको छ।
चुनावका बेला धेरै मानिसले देखेका प्रगति, समृद्धि र न्यायका सपनाहरू बचेखुचेको जीविका र मानवीय गरिमा बचाउनेमा सीमित हुन थालेका छन्।
खास गरी सञ्जालहरूमा अहिले सरकारको दमनकारी शैलीको आलोचना तीव्र छ।
तर मलाई लाग्छ, सरकारको दमनकारी चरित्रभन्दा पनि चिन्ताजनक कुरा अर्को छ।
एउटा राम्रो कुस्तीवाजलाई उपन्यासकारको काम दिइयो भने के होला?
नेपाली राजनीतिमा बालेन शाहको प्रवेश लगभग अचानक उपन्यास लेख्न बसेको कुशल कुस्तीवाजको जस्तो रह्यो। उनी इन्जिनियर थिए, र्यापरका रूपमा राम्रै कलाकार पनि थिए। तर हठात् उनी काठमाडौंको मेयर पदका लागि उम्मेदवार बने।
काठमाडौंका मतदाताले उनलाई भारी मतले जिताएर मेयर बनाइदिए। नेपाल अहिले जुन अवस्थामा छ, त्यसको बीउ २०७९ सालको त्यही स्थानीय चुनावका बेला रोपिएको थियो।
कुस्तीवाजलाई उपन्यास लेख्ने बाध्यता आइलाग्यो भने के गर्ला?
सुरूमा त ऊ लेख्न बस्छ। तर बिस्तारै उसले बोध गर्छ, कुनै साहित्यकारले जस्तो उपन्यास लेख्न उसले सक्दैन। त्यसपछि उसले नयाँ प्रयोगहरू गर्न थाल्छ र कुस्तीका नियम र सीपहरू यता प्रयोग गर्ने कोशिस गर्छ।
देशको अर्थतन्त्र दशकौंदेखि शिथिल छ। व्यापार घाटा र बजेट घाटाले आकाश छोएको छ।
कृषि थला परेको छ। शिक्षा बेकामे बन्ने बाटोमा छ। स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ। उद्यमले जरा गाड्नै सकेको छैन। युवाहरूमा जुनसुकै मूल्यमा देश छाड्ने होड छ।
पर्यटनमा एकपछि अर्का चुनौती आइरहेका छन्। इरान युद्धले सिर्जना गरेको अभाव र महँगीले सिंगो देशको ढाड सेक्ने सँघारमा छ।
एउटै खडेरीले तहसनहस हुने कृषिमा जलवायु परिवर्तनले ल्याएको संकट दैलाभित्र पसिसकेको छ। हिमनदी रित्तिँदै गएसँगै पहाड र तराईका जलाधार अभूतपूर्व चापमा छन्। प्रदूषणले मानिसको जीवन नारकीय बनाइदिएको छ।
यी सब समस्या बुझ्नुसम्म एउटा उम्दा उपन्यास लेख्नुसरह गम्भीर बौद्धिक कर्म हो। त्यसका लागि कुनै पनि एक व्यक्तिको मस्तिष्क काफी हुँदैन। हरेक क्षेत्रका विज्ञहरूसँगको गहिरो र निरन्तर संवाद र समन्वयबाट मात्रै यिनलाई बुझ्न सकिन्छ अनि वर्षौंको निरन्तर लगाव र प्रयत्नबाट मात्रै यिनको सामना गर्न सकिन्छ।
तर त्यसका लागि चाहिन्छ सिक्ने र सच्चिने खुलापन र विनम्रता।
दुवैको बाटो छेक्छ आत्मुग्धताले।
पानी तालिएपछि सडकका सारा खाल्डाखुल्डी पुरिएको देखेजस्तै आत्ममुग्धतामा डुबेका शासकले पनि त्रिआयामी यथार्थलाई दुई आयाममा हेर्न थाल्छन् र उपन्यास लेखनमा कुस्तीका सीप प्रयोग गर्न थाल्छन्।
भूमिहीनहरूलाई पहिले विस्थापित गरेर अनि व्यवस्थापनको काम सुरू गर्ने बालेन सरकारको काम उसको दमनकारी प्रवृत्तिको मात्र होइन, समस्यालाई त्यसका सबै आयाममा हेर्न र अनुभूत गर्न नसक्नुको परिणाम पनि हो।
त्यसैले नयाँ सरकार जुन दिशामा गइरहेको छ, त्यो अवस्था आउनुमा म दोष बालेनको भन्दा बढी कुस्तीका खेलाडीलाई उपन्यास लेख्ने काम सुम्पिने मतदाताको बढी देख्छु।
तर ती मतदाताभन्दा कैयौं गुणा बढी दोषी चाहिँ ती राजनीतिक पार्टीका नेताहरू हुन् जसले उपन्यास लेख्ने साविकको काम यति झुर गरे कि, मानिसहरूले 'यिनले भन्दा त बरू कुस्तीवाजले राम्रो लेख्ला' भन्ने मनोविज्ञान विकास गरे।
संस्थाहरूलाई तिनले यति थेत्तेरो बनाए कि, मानिसहरूमा कुनै नायकले बरू चमत्कार गरेर भविष्य बनाइदिन्छ कि भन्ने आशा पलायो।
एउटा कुशल कुस्तीवाजझैं बालेन धेरै बोल्दैनन्, प्रश्नहरूको जबावाफ लाठी वा डोजरको प्रहारले दिन्छन्। उति मानिस भेट्दैनन्। कुरा सुन्दैनन्।
उनलाई आफ्नो द्विआयामी विश्वदृष्टिमा यति भर छ कि त्रिआयामी यथार्थ छ भनेर तर्क गर्नेहरूसँत उनी बहस समेत गर्दैनन्।
उनको द्विआयामी यथार्थमा 'मिचाहा' र 'अतिक्रमणकारी' मानिसहरू छन् तर इतिहासभरि ठगिएका, पेलिएका किनाराकृत नागरिक छैनन्।
चिल्ला सडक छन् तर सफा हावा छैन। पार्किङरहित खुला सडक छन् तर भरपर्दो सार्वजनिक यातायात छैन।
जमिनमाथिको मन्दिरमा तीर्थयात्री बढाउने मुद्दा छ तर जमिनमुनिको जलाधार बचाएर मरूभूमीकरण रोक्ने मुद्दा छैन।
नागरिकको जीविका खोसेर तिनलाई होटलमा थुनेर दालभात खुवाउनेसम्म कल्पनाशीलता छ, तर त्यसका लागि आर्थिक संशाधन जुटाउने योजना छैन।
सहरको रूप कस्तो भयो भन्ने चिन्ता छ, तर महँगीका कारण नागरिकका चुह्ला बल्न बन्द त भएनन् भन्ने चिन्ता छैन।
अनि दलित समुदायसँग माफी माग्ने विनयशीलता छ तर त्यही समुदायका मानिसहरूलाई डोजरले लखेटेर विस्थापित गरेपछि गरिमा सहितको जीवन दिनुपर्छ भन्ने बोधसम्म छैन।
बालेन पदमा रहून् वा नरहून्, उनको दल रास्वपाले त्रिआयामी यथार्थलाई त्यही रूपमा हेरेर यहाँका समस्याहरूको वास्तविक समाधान खोज्ने बाटोमा लागेन भने त्यो पार्टी, नेपाली समाज र देश सबै दुर्घटनातिर डोहोरिने निश्चित छ।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स (ट्विटर) @jiwan_kshetry