बेइजिङ डायरी
परम्परागत रूपमा मनाइने नयाँ वर्षलाई चिनियाँहरू वसन्त महोत्सव भन्छन्।
चीनमा चन्द्रमासको पात्रो अनुसार नयाँ वर्षका दिनदेखि वसन्त ऋतु सुरू हुन्छ भन्ने मान्यता छ। तसर्थ चिनियाँ नयाँ वर्षको अघिल्लो साँझ चिनियाँ टेलिभिजनमा देखाइने बृहत सांस्कृतिक कार्यक्रमलाई 'वसन्त महोत्सव गाला' प्रदर्शन हुन्छ।
साँझ ८ बजे सुरू हुने वसन्त महोत्सव गाला ठ्याक्कै मध्यरात १२ बजे नयाँ वर्षलाई स्वागत गर्दै समापन हुन्छ। सन् १९८३ देखि चीनमा निरन्तर चलिरहेको यो वसन्त महोत्सव गाला सबभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन कार्यक्रमका रूपमा गिनिज–बुकमा नाम दर्ता गराएको छ।
यही फागुन ४ गते सोमबार (फेब्रुअरी १६ तारिख) बेइजिङ समय अनुसार साँझ ८ बजेदेखि सुरू भएको ‘वसन्त महोत्सव गाला २०२६' चाइना मिडिया ग्रुपको भगिनी संस्था सिसिटिभी र सिजिटिएन लगायत सयौं चिनियाँ सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। यस पटकको वसन्त महोत्सव गालामा समावेश एउटा प्रहसनले विशेष रूपमा विश्वको ध्यान आकृष्ट गरेको छ।
पहिले यस्तो वसन्त महोत्सव गाला बेइजिङबाट मात्र प्रसारण हुन्थ्यो। केही वर्षदेखि यो बेइजिङ बाहेक अन्य सहरबाट पनि स्थानीय सामग्री समेटेर प्रसारण सुरू भयो।
वसन्त महोत्सव गाला २०२६ को प्रसारण बेइजिङ मुख्य स्थल थियो भनेर चीनका अन्य चार सहरहरू उप–स्थलका रूपमा थिए। ती चार सहरहरू पूर्वोत्तर चिनियाँ प्रान्त हैलुङच्याङको सदरमुकाम हार्पिन, पूर्व दक्षिण चच्याङ प्रान्तको यिवु, पूर्वी चीनको आन्हुई प्रान्तको सदरमुकाम हफेई र पश्चिम चीनको सछ्वान प्रान्तको यिपिन थिए।
हार्पिनले हिउँ संस्कृतिको प्रदर्शन गरेको थियो भने यिवुले चिनियाँ वाणिज्य केन्द्रको प्रदर्शन गरेको थियो। त्यसैगरी हफेईले नृत्य र ह्वाङमइ ओपेरा प्रविधिलाई जोडेको थियो भने यिपिनले दक्षिण–पश्चिम चीनको याङ्त्से नदी सभ्यता र पारिवारिक पुनर्मिलनको दृश्य प्रस्तुत गरेको थियो।
यस पटकको वसन्त महोत्सव गालामा पहिलो पटक एक नेपाली अनुहार टेलिभिजनमा देखियो।
भक्तपुरका विष्णुप्रसाद दुमरू चीनको चच्याङ प्रान्तको यिवुमा बसेर तीन दसकदेखि व्यवसाय गरिरहेका छन्। चच्याङको स्थानीय सरकारको निमन्त्रणामा उनले वसन्त महोत्सव गालामा सहभागी हुन पाए। वसन्त महोत्सव गालामा भाग लिने सम्भवतः उनी पहिलो नेपाली हुन सक्छन्।
भक्तपुरका विष्णुप्रसाद दुमरू
वसन्त गालामा सहभागी कलाकारहरू
विष्णु आफ्नो व्यवसाय सँगसँगै समाज सेवामा पनि सक्रिय छन्। उनलाई यिवुले गत वर्ष सन् २०२५ मा मैत्री सम्मान पनि प्रदान गरेको छ।
वसन्त महोत्सव गालामा सहभागी भएपछि आफू गौरवान्वित भएको भन्दै चिनियाँ कला र संस्कृतिसँगै भव्य स्टुडियो देख्ता आश्चर्य लागेको विष्णुले बताए।
वसन्त महोत्सव गालामा समाविस्ट सामग्रीहरूमा चिनियाँ समाज र संस्कृति दर्साउने गीतिनाटकहरू हुन्छन्।
वसन्त चाडमा बिदा नमिल्ने कर्मचारीहरू जस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेलवेका कर्मचारी, हवाइ विभागका कर्मचारी, सफाइ कर्मचारी, आगजनी नियन्त्रणका कर्मचारी लगायतका कर्मचारीको कथाले सबैलाई भावुक बनाउँछ। यसैगरी जेष्ठ नागरिकका कथाव्यथा, विदेशमा भएका सन्तानसँग लामो समय भेट नहुँदाको अवस्थाले दिने पीडासँगै गाउँ र सहरबीचको दुरी, उच्च गतिको रेलवेको कथा, अनलाइन संस्कृतिप्रतिको व्यंग्य समेटिएका कथाले पनि दर्शकलाई रोमान्चक बनाउँछ।
सबै सामग्रीमा चिनियाँ समाज, संस्कृति, रहनसहन, जातीय महत्व, इतिहास, अर्थतन्त्र, पर्यटनलाई अन्योन्याश्रित बनाएकाले यी विषय चीन चियाउने झ्यालहरू हुन्।
प्रविधि र परम्पराको अनुपम संगमका रूपमा प्रदर्शित गालामा चीनले पछिल्लो समय गरेको विज्ञान र प्रविधिको विकास, कृषि, चिनियाँ समाज, अर्थतन्त्र, चिनियाँ आधुनिकीकरणसँगै हाँस्यव्यंग्य छोटा नाटकहरू समावेश थिए। ती सामग्रीले चिनियाँ भावना र चिनियाँ पर्वलाई केन्द्रमा राखेर समग्र रूपमा चीन चिनाउने काम गरेका छन्।
विविधताले भरिपूर्ण गालामा समावेश चिनियाँ रोबोटको प्रस्तुतिले विश्वलाई तातो उत्साह भरिदिएको छ। गालामा चार वटा चिनियाँ रोबोट कम्पनी युशु टेक्नोलोजी, म्याजिक एटम, ग्यालेक्सी जनरल मोटर्स र सोङक्यान पावरका रोबोट मञ्चमा देखिएका थिए।
ती रोबोटहरूले मानव कलाकारहरूसँगै नृत्य, कुङ्फु, ड्रनकेन फिस्ट र थोमस ३६० जस्ता निकै जटिल अभिनयहरू प्रदर्शन गरेका छन्।
प्रदर्शनीमा बाइटडान्सको तोपाओ च्याटबोटले सह–सञ्चालन गरेको थियो भने, सिडान्स–२ मोडेलले एनिमेटेड पृष्ठभूमि सिर्जना गरेको थियो।
कलाकारसँगै नाचिरहेका रोबोटहरू
रोबोटले म्याराथनमा भाग लिने, किक हान्ने तथा ब्याकफ्लिप प्रदर्शन गर्ने कला साँच्चै रोमाञ्चक थियो। रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सलाई चीनले 'कृत्रिम बुद्धिमत्ता निर्माण' रणनीतिको केन्द्रमा राखेको छ।
चीनले रोबोट उद्योगमा ठूलो विकास गर्दै व्यवस्थित वैज्ञानिक र प्राविधिक नवीनता थपेको छ। चीनले अहिलेसम्म ३२ हजारभन्दा बढी ह्युमनोइड रोबोट पेटेन्ट दर्ता गरेको छ। पेटेन्ट लिने काममा चीनले विश्वको ६८ प्रतिशत हिस्सा ओगटेको छ। कोर कम्पोनेन्टहरूको स्थानीयकरण दर ७५ प्रतिशत पुगेको छ।
यी तथ्यांकले के देखाउँछ भने चीनको 'इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ' ले क्रान्ति ल्याएको छ।
चीनको १५ औं पञ्चवर्षीय योजनामा क्वान्टम टेक्नोलोजी, बायो–म्यानुफ्याक्चरिङ, हाइड्रोजन र फ्युजन इनर्जी, ब्रेन–कम्प्युटर इन्टरफेस, एम्बोडिड इन्टेलिजेन्स र छैटौं पुस्ताको मोबाइल 'सिक्सजी' सञ्चारलाई थप प्रवर्द्धन गरी नयाँ आर्थिक वृद्धिको विन्दु बनाउने उल्लेख छ।
गालाले सांस्कृतिक सदभावसँगै अन्तर्राष्ट्रिय सहकार्यको झन्डा उठाएको थियो। चिनियाँ परम्परागत कलाको प्रस्तुतिसँगै विभिन्न देशका प्रतिनिधि कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय प्रस्तुतिले सद्भावपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको सम्मिश्रण बनाएको थियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू जोन लिजेन्ड र वेस्टलाइफले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए भने, स्पेनिस फ्लामेनको र हंगेरीको लेगेनियस नृत्यले चिनियाँ नयाँ वर्ष, विश्वको मञ्चका रूपमा स्थापित गराएको थियो।
पहिलो पटक एआई–जेनरेटेड क्याप्सन र सांकेतिक भाषा प्रस्तुति सहितको बाधारहित संस्करण प्रसारणले गालाको रौनक थपिदिएको थियो। चिनियाँ वसन्त महोत्सव गाला त्यस्तो रंगमञ्च हो जहाँ विश्व विख्यात व्यक्तिहरूसँगै चिनियाँ सर्वसाधारणले मञ्च साझा गर्छन्। गालाले समाजिक समावेशी र व्यापक पहुँचको राम्रो उदाहरण प्रस्तुत गरेको छ।
चाइना मिडिया ग्रुप 'सिएमजी' ले ८५ किसिमका भाषामार्फत् वसन्त महोत्सव गालाको प्रसारण र सामग्री सम्प्रेषण गरेको थियो। यसका साथै संसारभरका लगभग ४ हजार मिडियासँग सहकार्य गर्दै वसन्त महोत्सव गालालाई एकैसाथ प्रसारण र रिपोर्ट गरेको थियो। विश्वका १०८ भन्दा बढी देश र क्षेत्रका ५८८ सहरहरूमा ४ हजार ६२ वटा सार्वजनिक ठूला स्क्रिनमा वसन्त महोत्सव गालाको प्रत्यक्ष प्रसारण भएको थियो।
विश्वभर अत्यधिक दर्शकले हेर्ने भएकाले वसन्त महोत्सव गालालाई चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा सांस्कृतिक रात्रिभोज उपमा दिइएको छ।
गालाको अन्त्यमा नयाँ वर्षको स्वागत गरिँदै
कार्यक्रम प्रसारण भएको भोलिपल्ट, फेब्रुअरी १७ मा बेइजिङ समय अनुसार बिहान ८ बजेसम्म वसन्त महोत्सव गालालाई सबै मिडियामार्फत् हेर्ने दर्शकको कुल संख्या २३ अर्ब ६ करोड ३० लाख पुगेको थियो। यो सन् २०२५ को वसन्त महोत्सव गाला हेर्ने सोही अवधिको दर्शकभन्दा ३७.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
सिएमजीबाट प्रत्यक्ष प्रसारणको कुल दर्शक हिस्सा ७९.२९ प्रतिशत थियो। यो विगत १३ वर्षमा नयाँ रेकर्ड बनेको हो।
वसन्त महोत्सव गालाको प्रसारणका क्रममा, प्रत्यक्ष अनलाइन हेर्ने (सुन्ने) व्यक्तिहरूको औसत संख्या प्रति मिनेट ३२ करोड ५० लाख र प्रत्यक्ष अनलाइन दर्शकहरूको सबैभन्दा बढी संख्या ४० करोडभन्दा बढी भएको पनि चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।
चिनियाँ वसन्त महोत्सव गाला–२०२६ ले विश्वभरको ध्यान आकर्षित गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसलाई व्यापक रूपमा कभर गरेबाट पनि प्रमाणित हुन्छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको ध्यान पनि चिनियाँ रोबोटको अभूतपूर्व प्रस्तुतिमा केन्द्रित देखिन्छ।
धेरै मिडियाले गालालाई चीनको प्राविधिक महत्वाकांक्षाको सूचकका रूपमा प्रस्तुत गर्दै चीनको 'प्राविधिक हार्ड–पावर' मा केन्द्रित भएका छन्।
रोयटर्सले चीनको औद्योगिक नीति र मानवरहित रोबोटमा प्रभुत्व जमाउने धक्काको प्रदर्शन भन्दै वसन्त महोत्सव गालालाई चीनको राष्ट्रिय प्राविधिक महत्वाकांक्षाको 'वेदरभेन' किटान गरेको छ।
एसोसिएटेड प्रेस (एपी) ले रोबोट प्रदर्शनलाई मुख्य आकर्षण मानेको छ र यसले उन्नत एआई क्षमताहरूद्वारा सञ्चालित थप उन्नत रोबोटहरू विकास गर्ने चीनको प्रतिबद्धता झल्काएको बताएको छ।
ब्लुमबर्गले एपीको रिपोर्ट उद्धृत गर्दै, गालामा चार प्रमुख कम्पनीका रोबोटहरूको उपस्थितिले चीनको एआई प्लस उत्पादन रणनीतिको मुटुमा रहेको क्षेत्रलाई उल्लेख गरेको छ।
स्पेनको एल पाइसले चिनियाँ राष्ट्रिय गौरवको प्रतीक रोबोटहरूको नृत्य मनमोहक थिए भन्दै यो गाला मनोरञ्जनभन्दा पनि एकता, समृद्धि र सदभावको राष्ट्रिय कथाको प्रदर्शनी भनेर टिप्पणी गरेको छ।
अन्य कलाकारसँगै भक्तपुरका विष्णुप्रसाद दुमरू
स्पेनकै अर्को पत्रिका द स्पेनिसले रोबोटको प्रदर्शनीलाई 'साँचो क्रान्ति' भन्दै एक वर्षमै रोबोटहरूले अभिनय गर्न सक्ने क्षमता हासिल गरेकामा आश्चर्य व्यक्त गरेको छ।
जर्मनीको चाइना प्लेटफर्मले वसन्त महोत्सव गाला सुरू भएको २० मिनेटमै रोबोटहरूको उत्सव हो भन्ने स्पष्ट भएको भन्दै प्राविधिक प्रगति चीनको 'सफ्ट–पावर' पुँजी बन्दै गइरहेको सम्प्रेषण गरेको छ।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार यी प्रदर्शनहरूले मानवरहित प्रविधिमा भएको प्रगति देखाएको र यसलाई औद्योगिक प्रयोगको दीर्घकालीन सम्भावनाको संकेतका रूपमा हेरेको छ।
युट्युब च्यानलहरूमा पनि चिनियाँ रोबोटको प्रदर्शनका भिडिओलाई अविश्वसनीय एक्रोब्याटिक्स र सिंक्रोनाइज्ड कुङफु अभिनय भनिएको छ।
सिएनएनले आफ्नो सामाजिक सञ्जालमा यसलाई 'सावधानीपूर्वक कोरियोग्राफ गरिएको, रोमाञ्चक र प्रभावशाली मार्सल आर्ट्स प्रदर्शन' भनेको छ।
भारतको डब्ल्युआइओएन, जापानको निप्पोन टिभी र अर्जेन्टिनाको क्लारिन जस्ता मिडियाले वसन्त महोत्सव गाला प्रसारणको रिले प्रसारण गरेका छन्।
यति बेला भारत र जापानले राजनीतिक रूपमा चीनलाई कर्के नजरले हेर्ने गरेपनि चीनको सामाजिक–आर्थिक रूपान्तरणको प्रतिबिम्ब भन्दै गालाको रिले प्रसारण गरेका हुन्।
धेरै मिडियाले सन् २०२५ देखि २०२६ सम्मको चीनको प्रगतिलाई विशेष रूपमा मनन गर्दै द्रूत प्राविधिक विकासमा आश्चर्यजनक उपलब्धि भनेका छन्।
वसन्त महोत्सव गालालाई प्रवर्द्धन गर्न एसिया–प्यासिफिक प्रसारण संघ र अफ्रिकी प्रसारण संघ लगायत सात विश्वव्यापी समाचार गठबन्धनहरू पनि सहभागी भएका थिए।
वसन्त महोत्सव गाला चीनको विकास र प्रगति देखाउने 'टाइम क्याप्सुल' पनि हो।
वसन्त महोत्सव गालाको मञ्चले चीनको एआई उत्पादन उदयको कोशेढुंगा संकेत गर्छ। चिनियाँ वसन्त महोत्सव गाला एउटा त्यस्तो गेट हो जहाँबाट विश्वभर चिनियाँ सफ्ट–पावर फैलिइरहेको छ।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)