झन्डै चार महिनादेखि इरानी हिरासतमा रहेका नेपाली युवा अमृत झालाई 'रिहा' गरिएको भनी सरकारले दाबी गरे पनि उनी अझै बन्धक अवस्थामै रहेको उनको परिवारले बताएको छ।
अमृत अझै पनि दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज नजिकैको सहर बन्दर अब्बासमै बन्दी रहेको उनकी दिदी पूजा झाले मंगलबार सेतोपाटीलाई बताइन्।
'हिजो साँझ मात्रै भाइसँग कुरा भएको थियो। ऊ अझै बन्दर अब्बासको जेलमै रहेछ,' पूजाले भनिन्, 'आफूविरूद्ध लगाइएको आरोपमा अझै अनुसन्धान भइरहेको छ भन्दै थियो।'
उनले अगाडि भनिन्, 'सरकारले साता–दस दिनभित्र नेपाल फर्किने सम्भावना छ भनेर झुक्क्याए पनि भाइ त अझै जेलमै छ।'
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले भने अमृतका परिवारजनले भनेजस्तो सरकारले नझुक्क्याएको बताए। उनको रिहाइ प्रक्रिया सुरू भइसकेकाले त्यस्तो सन्देश प्रवाह गरिएको उनको भनाइ।
'अब प्रक्रिया सुरू भइसकेको छ। हामी उनलाई छिटोभन्दा छिटो रिहा गराउने कार्यमा लगातार काम गरिरहेका छौं,' उनले भने।
३२ वर्षीय झालाई गत जनवरी १२ मा स्ट्रेट अफ हर्मुज जलक्षेत्रबाट तेलवाहक पानीजहाज सहित इरानले नियन्त्रणमा लिएको थियो।
त्यसको तीन महिनापछि गत बुधबार परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा एक छोटो सन्देश राख्दै 'अमृत झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने अनौपचारिक खबर प्राप्त भएको' जनाएको थियो। त्यसमा अदालतको 'आदेशको विस्तृत विवरण उपलब्ध गराउन' पहल जारी रहेको भनिएको थियो।
त्यो सन्देश परराष्ट्रमन्त्री शिशिर खनालले समेत सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनले इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासबाट अमृत झालाई रिहा गरिएको जानकारी प्राप्त भएको बताएका थिए।
'नेपाल सरकार जतिसक्दो छिटो उहाँलाई सुरक्षित रूपमा नेपाल फिर्ता ल्याउने तयारीमा छ,' उनले भनेका थिए।
त्यो खबर नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि अमृत झाकी दिदी पूजा, बहिनी सुधासँगै बुबा गोविन्द र आमा प्रभावती लगायतका आफन्तजन खुसीले गदगद भएका थिए।
हामीले उनकी आमा प्रभावतीसँग कुरा गर्दा भनेकी थिइन्, 'हिजो मात्रै छोराले (ह्वाट्सएपमार्फत) मेरो ज्वाइँलाई फोन गरेको थियो, अब हप्ता दिन वा दस दिनपछि घर आइपुग्छु भन्दै थियो। तर उसले आफू रिहा भइसकेको भनेर हामीलाई भनेको थिएन। पछि समाचारमा त ऊ रिहा भइसकेको खबर आयो।'
रिहा भएको खबर फैलिनुअघि अमृत नेपालमा रहेका आफ्ना परिवारजनसँग इरानबाट निरन्तर संवादमा थिए।
आमा प्रभावतीका अनुसार पक्राउपछि पनि अमृतले मौका पाउनेबित्तिकै परिवारजनलाई फोन गरेर आफ्नो हालखबर सुनाउने गरेका थिए। त्यसका लागि उनले आफूलाई भेट्न आउने साथीहरूको फोन प्रयोग गरेका थिए।
त्यस दिन भने अमृतले 'साता–दस दिनमै घर आइपुग्छु' भन्नु र त्यसलगत्तै सरकारबाटै उनलाई रिहा गरिएको खबर आउनुले परिवारजनको खुसीको सीमा थिएन।
उनीहरूको खुसी त्यति बेला टुट्यो, जब पछिल्लो कुराकानीमा अमृतले आफू अझै जेलमै रहेको बताए।
अमृत र उनको परिवार। तस्बिर सौजन्यः अमृतको परिवार
'हामीले फेरि भाइसँग कुरा गर्दा उसले आफू रिहा भएको खबर साँचो नभएको बतायो। ऊ अझै जेलमा छ,' दिदी पूजाले भनिन्, 'अदालतको आदेशमा ऊविरूद्धको अभियोगमाथि अनुसन्धान जारी रहने भनिएको रहेछ। त्यसपछि त हामी माथिबाट खसेर भुइँमा लडेजस्तै भयौं।'
उनका अनुसार अमृत झा नेपालमा प्रचार गरिएझैं हमुर्ज क्षेत्रको केशम टापुमा नभएर बन्दर अब्बासमै जेलभित्र छन्।
केही दिनअघि मात्र छोरा रिहा भएको खबरले खुसी& अमृत झाकी आमा प्रभावतीले दुखेसो पोख्दै भनिन्, 'हप्ता–दस दिनभित्र नेपाल आइपुग्छ भनेको मेरो छोरा खोई? ऊ अझै इरानी जेलमा छ। सरकारले किन झूट बोलेको?'
'घर आउन लाग्यो भनेको छोरा नफर्किंदा हाम्रो मनमा धेरै चोट परेको छ,' उनले अगाडि भनिन्।
थाइल्यान्ड गएर पानीजहाज चलाउने तालिम लिएका अमृत झा १० वर्षदेखि दुबईका कम्पनीहरूमा कार्यरत थिए। तेलवाहक पानीजहाज चालकका रूपमा उनी खाडी क्षेत्रको प्रमुख तेल आवागमन मार्ग 'स्ट्रेट अफ हर्मुज' भनिने इरान नियन्त्रित जलक्षेत्रबाट ढुवानीमा व्यस्त रहँदै आएका थिए।
गत जनवरी दोस्रो साता उनी आफ्ना चालक दल र पानीजहाज सहित इरानी तटरक्षक फौजद्वारा पक्राउ गरिए। उनीसँगै पक्राउ अन्य सहकर्मीहरू भारतीय रहेको बताएको छ।
अमृत झाविरूद्ध इरानी जलक्षेत्रमा अवैध रूपले प्रवेश गर्दै तेल तस्करी गरेको अभियोग लगाइएको पश्चिम एसियामा खटिएका एक नेपाली कूटनीतिक अधिकारीको भनाइ छ।
उनका अनुसार इरानसमेत हेर्ने कतारको दोहास्थित नेपाली दूतावासले अमृतको रिहाइका लागि एक इरानी वकिल खटाएर उनको शीघ्र रिहाइका लागि कानुनी प्रक्रिया अघि बढिरहेको छ। त्यस निम्ति नेपाली पक्षले इरानस्थित नेपाली महावाणिज्यदूतको सहयोग लिइरहेको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीको भनाइमा 'इरानसँग नेपालको सम्बन्ध अत्यन्त पुरानो र मैत्रीपूर्ण' भएकाले अमृतको रिहाइ प्रक्रिया सहज ढंगले अघि बढ्ने नेपालको अपेक्षा छ।
'इरानभित्रको अवस्था अझै पनि अत्यन्त असहज भएकाले अदालत सहज ढंगले खुल्ने अवस्था आएपछि बाँकी कानुनी प्रक्रिया छिटो टुंगिने र उनी नेपाल फर्किने वतावरण बन्ने आशा गरौं,' उनले भने।
परराष्ट्रका अधिकारीहरूका अनुसार अमृतको टोलीविरूद्ध धेरै गम्भीर अभियोग नभएको भन्दै इरानी अदालतले उनको चालक दलका अन्य चार जना सदस्यलाई रिहा गरिसकेको छ।
***
यी पनि पढ्नुहोस्: