आठ वर्षको उमेरमा खाली खुट्टा विद्यालय छिरेको एउटा बालकले तेह्र वर्ष पुग्दा पढ्नकै लागि घर छाड्यो। गाउँमा सात कक्षाभन्दा माथि पढ्ने ठाउँ थिएन। हातमा ठूलो धन थिएन, पछाडि बलियो आर्थिक आधार थिएन। तर आँखामा एउटा सपना थियो—पढ्ने, अघि बढ्ने र आफ्नो जीवन आफैँ बनाउने।
आज त्यही बालक मेरा बुबाका रूपमा मेरो अगाडि उभिँदा म उहाँलाई केवल बुबाका रूपमा होइन, आफ्नै पौरखले जीवन लेख्ने एउटा असाधारण पात्रका रूपमा देख्छु।
आफ्नो बुबाको जीवनबारे लेख्नु कुनै छोराका लागि केवल केही शब्द जोड्नु हो इन रहेछ। यो त आफूले बाल्यकालदेखि देख्दै आएको एउटा परिचित अनुहारभित्र लुकेको अपरिचित इतिहास खोज्नु रहेछ।
संसारले मेरा बुबालाई एउटा व्यक्ति, सार्वजनिक सेवक वा सफल मानिसका रूपमा चिन्न सक्छ। तर मेरा लागि उहाँ त्यसअघि नै केही हुनुहुन्छ—मेरो पहिलो पाठशाला, मेरो भरोसा र मेरो जीवनको मौन प्रेरणा।
बाल्यकालमा मैले बुबालाई सधैँ जिम्मेवार, अनुशासित र सफल व्यक्तिका रूपमा देखेँ। उहाँलाई हेर्दा मलाई कहिल्यै लागेन कि उहाँको जीवनको सुरुआत अभाव र संघर्षबाट भएको थियो। मेरो बालमनले त सहजै अनुमान लगाउँथ्यो—सायद उहाँ काठमाडौं आउँदा पैतृक सम्पत्ति, जग्गाजमिन वा कुनै बलियो आधार लिएर आउनुभएको होला।
तर त्यो मेरो बालमनको कल्पना मात्र रहेछ।
बुबाले लेख्नुभएको आत्मकथा ‘पौरखले लेखिएको जीवन’को पाण्डुलिपि पहिलोपटक पढेपछि मैले आफ्नै बुबाको जीवनको यस्तो अध्याय पढेँ, जुन उहाँको छोरा भएर पनि मैले कहिल्यै गहिराइमा बुझेको रहेनछु।
गुल्मीको थोर्गामा करिब आठ वर्षको उमेरमा उहाँ खाली खुट्टा विद्यालय भर्ना हुनुभएको रहेछ। साधन सीमित थियो, तर पढाइप्रतिको लगाव असाधारण। कक्षा १, ३ र ५ मा प्रथम हुनुभयो। उमेर र क्षमताका कारण कक्षा फड्किँदै सात कक्षा उत्तीर्ण गर्नुभयो।
तर गाउँमा त्यसपछि पढ्ने अवसर थिएन।
तेह्र वर्षको उमेरमा उहाँले घर छाड्ने निर्णय गर्नुभयो। उद्देश्य थियो—पाल्पाको तानसेन पुगेर काम गर्दै पढ्ने। पुस्तक पसलमा काम गर्ने र पढाइलाई निरन्तरता दिने सपना बोकेर एउटा कलिलो बालक घरबाट हिँड्यो।
आज त्यो दृश्य सम्झँदा मनमा एउटै प्रश्न आउँछ—तेह्र वर्षको त्यो बालकभित्र कति ठूलो आँट थियो होला?
सायद त्यही आँटले उहाँको जीवनको दिशा तय गरेको थियो।
तानसेनदेखि सुरु भएको संघर्ष विस्तारै काठमाडौंसम्म आइपुग्यो। काठमाडौंको सुन्धारामा पहिलोपटक बसबाट ओर्लिँदा उहाँको खल्तीमा सय रुपैयाँ पनि थिएन भन्ने कुरा पढ्दा म केही क्षण रोकिएँ। मैले सफलताको एउटा चम्किलो तस्वीरभित्र बसेर उहाँलाई हेर्दै आएको रहेछु; तर उहाँले त्यो तस्वीर बनाउन कति लामो अँध्यारो बाटो पार गर्नुभएको रहेछ भन्ने बल्ल थाहा पाएँ।
त्यो शून्य अवस्थाबाट उहाँले आफ्नो जीवन मात्र बनाउनुभएन। आफूले भोगेको अभाव आफ्ना भाइबहिनीले भोग्न नपरोस् भन्ने जिम्मेवारी पनि लिनुभयो।
तीन भाइ र एक बहिनीको पढाइ, भविष्य र स्थापनाको जिम्मेवारी उहाँले आफ्नो काँधमा लिनुभयो। तीन भाइलाई पढाउनुभयो। उनीहरूका लागि घडेरीसमेत किनिदिनुभयो। एउटा दाजुले आफ्ना भाइहरूको भविष्य सुरक्षित गर्न गरेको त्यो प्रयास आज सम्झँदा सामान्य पारिवारिक दायित्वभन्दा धेरै ठूलो देखिन्छ।
आफूले बाल्यकालमा नपाएको सुविधा भाइबहिनीलाई दिन सक्नु, आफूले भोगेको अभाव उनीहरूको भागमा नपार्नु—सायद त्यही नै उहाँको जीवनको सबैभन्दा सुन्दर पक्ष हो।
उहाँको जीवनको अर्को महत्वपूर्ण अध्याय विवाहपछि सुरु भयो। मेरी आमाको अध्ययनलाई निरन्तरता दिन उहाँले प्रोत्साहन गर्नुभयो। आमाले दुई विषयमा स्नातकोत्तर अध्ययन पूरा गर्न सक्नुमा बुबाको साथ र विश्वास पनि उत्तिकै महत्वपूर्ण थियो। उहाँले श्रीमतीलाई केवल घरको जिम्मेवारीमा सीमित राख्नुभएन; उहाँको क्षमता र सम्भावनालाई विश्वास गर्नुभयो।
त्यसको परिणाम आमाको आफ्नै सार्वजनिक यात्रामा पनि देखियो। उहाँले आफ्नो क्षमता र परिश्रमका आधारमा उच्च सार्वजनिक जिम्मेवारीसम्म पुग्ने अवसर प्राप्त गर्नुभयो।
त्यसपछि हाम्रो पुस्ताको पालो आयो।
हामी दाजुभाइ–दिदीबहिनीलाई उहाँले हाम्रो रुचिअनुसार शिक्षा हासिल गर्ने अवसर दिनुभयो। मेरो एमबिबिएसदेखि एमएस र एमसिएचसम्मको यात्रा होस् वा बहिनीको बिबिएसपछि सिए/एसिसिए अध्ययनतर्फको यात्रा—यी उपलब्धिहरू केवल व्यक्तिगत प्रयासका परिणाम होइनन्। तिनको पछाडि एउटा बाबुको वर्षौँको त्याग, अनुशासन, परिश्रम र दूरदृष्टिको जग थियो।
बुबाले हामीलाई सुविधा दिनुभयो, तर सुविधाले बिग्रन दिनुभएन।
उहाँले अवसर दिनुभयो, तर अवसरको मूल्य पनि सिकाउनुभयो।
उहाँले सफलताको सपना देखाउनुभयो, तर त्यो सपना पूरा गर्न श्रम गर्नुपर्छ भन्ने कुरा आफ्नै जीवनबाट देखाउनुभयो।
बाल्यकालमा उहाँका केही व्यवहार मलाई कठोर लाग्थे। अनुशासनप्रतिको उहाँको आग्रह कहिलेकाहीँ बुझ्न गाह्रो हुन्थ्यो। तर समय बित्दै जाँदा थाहा भयो—उहाँको कठोरता हाम्रो स्वतन्त्रता रोक्नका लागि थिएन; जीवनका कठिनाइसँग जुध्न सक्ने बनाउनुका लागि थियो।
उहाँले कहिल्यै छोटो बाटो रोज्न सिकाउनुभएन। सायद त्यसैले उहाँको जीवन पनि छोटो बाटोको कथा होइन।
सार्वजनिक सेवामा प्रवेश गरेपछि पनि उहाँले पदलाई प्रतिष्ठाको साधनभन्दा जिम्मेवारीको माध्यमका रूपमा लिनुभयो। उहाँका लागि सेवा भनेको कार्यालयमा उपस्थित भएर कर्तव्य पूरा गर्नु मात्र थिएन, आफूले पाएको अवसरलाई समाजप्रति उत्तरदायी भएर प्रयोग गर्नु थियो।
उहाँको इमानदारी र निष्ठाको कदरस्वरूप राज्यले उहाँलाई प्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गर्यो। तर छोराका रूपमा मैले बुझेको उहाँको सबैभन्दा ठूलो सम्मान त्यो पदक होइन, आफ्नो कर्तव्यप्रति अन्तिम दिनसम्म इमानदार रहन सक्नु नै उहाँको वास्तविक सम्मान हो।
मानिसको जीवनलाई पद र पुरस्कारले बाहिरबाट चिनाउन सक्छ; तर उसको चरित्रलाई चिनाउन उसले अरूको जीवनमा गरेको प्रभाव हेर्नुपर्छ। त्यो दृष्टिले हेर्दा बुबाको जीवनमा हामी सन्तान मात्र होइन, उहाँका भाइबहिनी, उहाँकी जीवनसाथी र उहाँसँग जोडिएका धेरै मानिसहरूको भविष्य पनि जोडिएको छ।
मैले बुबाको पाण्डुलिपि पढ्दै जाँदा अर्को एउटा सत्य पनि महसुस गरेँ—अभिभावकलाई सन्तानले प्रायः उनीहरूको वर्तमानबाट चिन्छ, विगतबाट होइन।
हामीले उहाँलाई घरको अभिभावकका रूपमा देख्यौँ। सफल व्यक्तिका रूपमा देख्यौँ। जिम्मेवार सार्वजनिक सेवकका रूपमा देख्यौँ। तर आठ वर्षको उमेरमा खाली खुट्टा विद्यालय जाने त्यो बालकलाई देखेनौँ। तेह्र वर्षमा घर छाडेर तानसेनतर्फ लाग्ने त्यो किशोरलाई देखेनौँ। सुन्धारामा खल्तीमा सय रुपैयाँ पनि नभएको अवस्थामा काठमाडौं टेक्ने त्यो संघर्षशील युवालाई देखेनौँ।
आत्मकथाको पाण्डुलिपिले मलाई ती सबै अनुहार देखाइदियो। त्यसैले यो पुस्तक पढ्दा म केवल बुबाको कथा पढिरहेको थिइनँ। म आफ्नै जरा खोजिरहेको थिएँ।
मेरो आफ्नै जीवनमा आएका स्वास्थ्यसम्बन्धी कठिनाइहरू पनि उहाँका लागि एउटा ठूलो परीक्षा थिए। बाल्यकालका अस्पतालका दिन, उपचारका प्रक्रिया र अनिश्चितताका क्षणहरू सम्झँदा आज पनि महसुस हुन्छ—पीडा मैले भोगेँ होला, तर त्यसको गहिरो भार बुबाको मनले बोकेको थियो।
उहाँले मेरो कमजोरीलाई मेरो परिचय बन्न दिनुभएन। उहाँले समस्याभन्दा ठूलो सम्भावना देख्न सिकाउनुभयो। सायद यही नै बुबाको पालनपोषणको सबैभन्दा ठूलो विशेषता थियो—उहाँले हामीलाई आफ्नो सपना बोकाउनुभएन; आफ्ना सपना आफैँ देख्न सक्ने बनाउनुभयो।
आज फर्केर हेर्दा लाग्छ, बुबाले हामीलाई भौतिक सम्पत्तिभन्दा धेरै ठूलो सम्पत्ति दिनुभएको रहेछ।
इमानदारी।
श्रमप्रतिको सम्मान।
कर्तव्यप्रतिको निष्ठा।
अनुशासन।
र कठिनाइका अगाडि नझुक्ने आत्मबल।
बुबा र छोराबीचको सम्बन्ध पनि अनौठो हुन्छ। धेरै कुरा शब्दमा भनिँदैन। धेरै कुरा आँखाले बुझिन्छ, व्यवहारले बुझिन्छ, समयले बुझिन्छ।
बाल्यकालमा बुबाको कठोरता मात्र देखेको छोराले पछि त्यसैभित्र लुकेको माया बुझ्छ। त्यतिबेला गाह्रो लागेका निर्णयहरू पछि गएर जीवनका सबैभन्दा महत्वपूर्ण पाठ रहेछन् भन्ने थाहा हुन्छ। आज मलाई त्यही भइरहेको छ।
बुबाको पाण्डुलिपि पढेपछि मैले उहाँलाई फेरि चिनेँ। यो आत्मकथा लेखिनुको कारण पनि यही हो—एउटा परिवारको निजी कथा मात्र भएर यो जीवन सीमित नहोस्। अभावबाट सुरु गरेर आफ्नै पौरखले बाटो बनाएको एउटा मानिसको कथा अरूका लागि पनि प्रेरणा बनोस्।
हामीले प्रायः सफल मानिसको वर्तमान देख्छौँ, उसको संघर्ष देख्दैनौँ।
हामी उपलब्धि देख्छौँ, त्यसका पछाडिका रातहरू देख्दैनौँ।
हामी सम्मान देख्छौँ, त्यससम्म पुग्न उसले तिरेको मूल्य देख्दैनौँ।
यो पुस्तकले त्यही नदेखिएको यात्रा देखाउँछ।
खाली खुट्टा विद्यालय पुगेको एउटा बालकदेखि आफ्ना भाइबहिनीको भविष्य बनाउने दाजुसम्म, आफ्नो परिवारलाई शिक्षाको अवसर दिने बाबुसम्म र सार्वजनिक सेवामा आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्ने व्यक्तिसम्मको यात्रा—यो केवल एउटा व्यक्तिको जीवनी होइन, संघर्षले मानिसलाई कसरी निर्माण गर्छ भन्ने एउटा जीवन्त उदाहरण हो।
कार्तिक ७ गते यो पुस्तक सार्वजनिक हुँदैछ। त्यो दिन मेरो लागि केवल एउटा पुस्तक विमोचनको दिन हुनेछैन। त्यो दिन एउटा छोराले आफ्ना बुबाको जीवनलाई नयाँ आँखाले संसारसामु प्रस्तुत गर्ने दिन पनि हुनेछ।
प्रिय बुबा,
हजुरले हामीलाई केवल राम्रो भविष्य दिनुभएन। हजुरले जीवनलाई सही अर्थमा कसरी बाँच्ने भन्ने बाटो देखाउनुभयो।
हजुरका संघर्षहरू हाम्रो इतिहास हुन्।
हजुरका मूल्यहरू हाम्रो विरासत हुन्।
हजुरले आफ्नै पौरखले तयार गर्नुभएको जगमाथि उभिएर हामीले आफ्ना सपनाहरू देख्न र तिनलाई साकार पार्न सकेका छौँ।
तीन भाइका लागि घडेरी किनिदिँदा होस्, भाइबहिनीलाई पढाउँदा होस्, आमाको अध्ययनमा साथ दिँदा होस्, हामीलाई उच्च शिक्षा हासिल गर्ने अवसर दिँदा होस् वा सार्वजनिक सेवामा आफ्नो जिम्मेवारी निर्वाह गर्दा—हजुरको जीवनको एउटा सूत्र सधैँ एउटै देखिन्छ: आफूभन्दा पहिले कर्तव्य।
यदि यो पुस्तक हाम्रो परिवारको सीमाभन्दा बाहिर पुगेर कुनै पाठकको हातमा पुग्यो भने, मेरो चाहना यति मात्र होस्—यसले एउटा कुरा सम्झाओस्: मानिसको जीवनको मूल्य उसले कति कमायो, कति संकलन गर्यो वा कति प्रसिद्ध भयो भन्नेमा मात्र हुँदैन। उसले आफ्नो क्षमता, अवसर र जिम्मेवारीलाई कति इमानदारीका साथ उपयोग गर्यो भन्नेमा हुन्छ।
संसारले हेर्ने मापनअनुसार मेरा बुबा असाधारण व्यक्ति नलाग्न सक्नुहुन्छ। तर मैले जीवनबाट सिकेको मापनअनुसार उहाँजस्ता मानिसहरू अत्यन्त दुर्लभ हुन्छन्।
मेरो जीवनको सबैभन्दा ठूलो परिचय आज पनि यही रहनेछ— ‘म उहाँको छोरा हुँ।’