‘कहाँ जाने भाइ?’
सुर्खेत बसपार्कको टिकट काउन्टरको सानो झ्यालभित्र बसेका एक जना पुरुष कर्मचारीले मलाई हेर्दै सोधे। उमेरले उनी करिब बयालीस–त्रिचालीस वर्षका देखिन्थे।
‘बुटवल जाने हो दाइ, एउटा टिकट दिनु न,’ मैले नरम स्वरमा भनेँ। एकछिन रोकिएर फेरि थपेँ, ‘झ्यालछेउकै सिट दिनु है दाइ। धेरै अगाडि पनि होइन, धेरै पछाडि पनि होइन।’
उनी हल्का मुस्कुराए।
‘गाडी खाली नै छ भाइ, जहाँ बसे पनि हुन्छ।’
उनले टिकट काटेर मेरो हातमा थमाइदिए। मैले पैसा तिरेँ र टिकटमा लेखिएको बस खोज्दै बाहिर निस्किएँ। केही मिनेटको खोजीपछि बस भेट्टाएँ। टिकट फेरि एकपटक हेरेँ—ए साइडको ८ नम्बर सिट।
बसभित्र छिरेँ। आफ्नो सिट खोज्दै अगाडि बढेँ। सिट नजिक पुगेपछि मेरो नजर त्यहाँ बसिरहेकी एउटी महिलामाथि पर्यो। हेर्दा उनी करिब पचास वर्षकी देखिन्थिन्।
‘तपाईंको सिट नम्बर कति हो?’ मैले नम्र हुँदै सोधेँ।
‘ए को ७ हो,’ उनले मतिर हेर्दै भनिन्।
‘ए... ए...’ मैले छोटो स्वरमा भनेँ।
उहाँ आफ्नै सिटमा बसिरहनुभएको थियो। सिटको विषयमा उहाँसँग धेरै छलफल गर्न मन लागेन। त्यसैले म पनि उहाँकै छेउमा बसेँ। केहीबेर त्यत्तिकै बसेपछि मोबाइल झिकेँ र आफ्नै संसारमा हराउन थालेँ।
केही समयपछि गाडी गुड्न थाल्यो। झ्यालबाट छिरेको चिसो हावाले यात्रामा छुट्टै अनुभूति थप्दै गयो। बाहिरका रूख, घर र बस्तीहरू पछाडि छुट्दै गए। गाडीभित्र भने सबै आ–आफ्नै मौनतामा थिए। केहीबेरपछि छेउमा बसेकी ती महिलासँग कुराकानी गर्ने इच्छा जाग्यो। अपरिचित यात्रामा कहिलेकाहीँ एउटा सामान्य कुराकानीले पनि बाटोलाई छोटो बनाइदिन्छ।
‘अनि दिदी, तपाईं कहाँसम्म पुग्ने हो?’ मैले सोधेँ।
‘म बुटवलसम्म। अनि तपाईं?’
‘म पनि बुटवलसम्मै हो। अनि तपाईंको घर कहाँ हो?’
‘कालिकोट हो बाबु। अनि तपाईंको नि?’
‘गुल्मी हो दिदी मेरो। अनि तपाईं के कामले जान लाग्नुभएको?’
उहाँले सहज स्वरमा भन्नुभयो, ‘म त मेरो स्कुलको कामको सिलसिलामा जाँदैछु। अनि हजुर नि?’
‘म हुन त इन्जिनियर हुँ। तर आफ्नाहरूलाई भेट्न आएको।’
एकछिनपछि फेरि जिज्ञासु हुँदै सोधेँ, ‘तपाईं स्कुलमा शिक्षिका हुनुहुन्छ कि क्या हो?’
उहाँले केही क्षण मेरो अनुहारमा हेर्नुभयो। अनि बिस्तारै भन्न थाल्नुभयो, ‘म एउटा स्कुलको आश्रममा काम गर्छु बाबु। त्यहाँ अनाथ बच्चाहरूको हेरचाह गर्ने, आश्रम सफा गर्ने र बच्चाहरूलाई आवश्यक पर्ने सबै काम गर्ने गर्छु।’
उहाँको कुरा सुनेर मलाई झन् उत्सुकता लाग्यो।
‘हो र? तपाईं एक्लैले सबैको हेरचाह गर्नुहुन्छ?’
उहाँ हल्का मुस्कुराउनुभयो।
‘हामी तीन जना छौँ। पालैपालो गरेर काम गर्ने हो। बच्चाहरूलाई नुहाइदिने, खाना बनाउने, खुवाउनेदेखि लिएर उनीहरूको हेरचाह गर्ने, आश्रम सफा गर्ने—सबै काम गर्नुपर्छ। मेरो घर पनि धेरै टाढा त छैन, करिब एक किलोमिटर जति मात्र हो। त्यति नजिक भएर पनि दुई हप्तामा एकपटक मात्र घर जान्छु। एक रात घरमा बसेर फेरि आफ्नै काममा फर्किन्छु।’
उहाँको कुरा सुनेपछि म केहीबेर चुप लागेँ। घर केवल एक किलोमिटर टाढा। तर घर पुग्न दुई हप्ता कुर्नुपर्ने। मानिसका लागि दूरी सधैँ बाटोले मात्र निर्धारण गर्दैन रहेछ। कहिलेकाहीँ जिम्मेवारीले पनि घर र आफूबीच लामो दूरी खडा गरिदिँदो रहेछ। उहाँका कुरा सुन्दै जाँदा मेरो मनमा अनेक प्रश्नहरू जन्मिन थाले।
अन्ततः मैले सोधेँ, ‘अनि तपाईंका छोराछोरी नि? कति जना छन्, कहाँ छन्?’
‘यता घरमा मेरो कान्छो छोरो अनि कान्छी छोरी छन्। अनि काठमाडौंमा जेठो छोरो छ।’
‘अनि यता घरमा कान्छो छोरो र छोरी मात्रै?’
उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, ‘हैन, हैन। यता घरमा त छोरा–छोरी, मेरो श्रीमान् अनि उहाँकी श्रीमती पनि हुनुहुन्छ।’
म एकछिन स्तब्ध भएँ।
‘अनि तपाईं चाहिँ उहाँकी श्रीमती होइन र? अनि ती बच्चाहरू तपाईंका होइनन् र?’
उहाँले ओठमा सानो मुस्कान ल्याउनुभयो।
‘हुन्, ती सबै मेरा नै बच्चा हुन्। अनि मेरो श्रीमान् पनि उहाँ नै हुनुहुन्छ। तर म उहाँकी कान्छी श्रीमती हुँ। उहाँकी जेठी श्रीमती पनि हुनुहुन्छ।’
अब कुरा बुझ्न थालेँ। तर बुझ्दै जाँदा अचम्म भने झन् बढ्दै गयो।
‘तपाईंहरू सबैजना सँगै बस्नुहुन्छ?’
‘हामी सँगै बस्छौँ।’
मैले केहीबेर उहाँको अनुहारमा हेरेँ।
‘दुई जना श्रीमती सँगै मिलेर बसेको मैले अहिलेसम्म देखेको छैन दिदी। तर तपाईंहरू त मिलेर बस्नुहुँदो रहेछ। सुन्दा नै खुसी लाग्यो।’
उहाँ मुस्कुराउनुभयो।
‘यस्तो हो बाबु, म त सधैँ स्कुलमै बच्चाहरूसँग व्यस्त हुन्छु। घर जाने भनेको पनि दुई हप्तामा एकपटक मात्रै हो। राति घर पुग्दा सबैजना सुतिसकेका हुन्छन्। अर्को दिन एक रात बसेर फेरि आफ्नै काममा फर्किन्छु। हामी त्यस्तो झगडा गर्दैनौँ। दिदी र म राम्रैसँग मिलेर बस्छौँ। यत्रो वर्ष भइसक्यो हामी सँगै भएको। दिदीले घरको काम सम्हाल्नुहुन्छ, म चाहिँ स्कुलको काम हेर्छु। कामको चाप धेरै भयो भने म घर जान्छु, नत्र घरको सबै काम दिदीले नै सम्हाल्नुहुन्छ।’
उहाँका कुरा सुन्दै गर्दा मलाई लाग्यो—सम्बन्धहरू सधैँ समाजले बनाएका परिभाषाभित्र मात्रै बाँच्छन् भन्ने पनि रहेनछ।
‘अनि तपाईंको बिहे चाहिँ कहिले भएको नि?’
उहाँ केही क्षण चुप लाग्नुभयो। झ्यालबाहिर दौडिरहेका दृश्यतिर हेर्नुभयो। ती दृश्यभन्दा टाढा उहाँको नजर सायद आफ्नै अतीततिर पुगेको थियो।
‘म आठ कक्षामा पढ्ने बेला नयाँ स्कुलमा गएकी थिएँ। त्यही स्कुलमा उहाँसँग भेट भयो। उहाँ मलाई राम्रो लाग्नुहुन्थ्यो। उहाँसँग कुरा गर्न, उहाँलाई हेर्न मन लागिरहन्थ्यो। त्यसपछि एक दिन हामी भाग्यौँ। पछि बिहे गर्यौँ। अनि अहिले यतिका वर्षदेखि सँगै छौँ।’
‘ए... अनि त्यतिबेला त उहाँको बिहे भइसकेको थियो होला, होइन र? अनि तपाईंलाई उहाँको बिहे भइसकेको कुरा थाहा थिएन?’
उहाँले बिस्तारै टाउको हल्लाउनुभयो।
‘थाहा नै भएन बाबु। त्यतिबेला म पनि सानै थिएँ। के सही, के गलत भन्ने त्यति धेरै सोच्न सक्ने अवस्था थिएन। उहाँले पनि बिहे भइसकेको कुरा भन्नुभएन। मलाई उहाँ मन पर्नुहुन्थ्यो, उहाँले पनि मलाई माया गर्नुहुन्छ भन्ने लाग्थ्यो। त्यसपछि हामी भाग्यौँ र बिहे गर्यौँ। तर घर पुगेपछि मात्र थाहा पाएँ—उहाँको त पहिल्यै बिहे भइसकेको रहेछ।’
मलाई उहाँको कथा झन् अनौठो लाग्दै गयो।
‘अनि तपाईंको माइतीमा यो कुरा थाहा पाएपछि के भन्नुभयो त?’
‘केही भन्नुभएन।’
‘केही पनि भन्नुभएन?’
‘बिहे गरिसकेपछि के नै भन्नु भनेर कुरा भयो। त्यतिबेला अहिले जस्तो सम्बन्धविच्छेद गर्ने चलन पनि थिएन। बिहे गरिसकेकी छोरीलाई फेरि घर फर्काएर के गर्नु? जे भयो, भयो। ‘तेरो खुसी नै हाम्रो खुसी हो’ भन्नुभयो। म पनि खुसी नै थिएँ बाबु। त्यसैले माइतीमा पनि त्यो कुरा ठूलो समस्या बनेन।’
उहाँको स्वरमा कुनै गुनासो थिएन। जीवनले जस्तो बाटो देखायो, उहाँ त्यही बाटोमा हिँड्दै जानुभएको थियो।
‘म कान्छी श्रीमती भएँ,’ उहाँले बिस्तारै भन्नुभयो, ‘तर दिदी र मबीच कहिल्यै त्यस्तो व्यवहार भएन। उहाँले पनि मलाई माया गर्नुभयो। मैले पनि उहाँलाई आफ्नै दिदीजस्तै मानेँ। हामीबीच कहिल्यै ठूलो समस्या आएन।’
केहीबेर हामी दुवै चुप रह्यौँ। तर मेरो मन भने चुप थिएन।
‘अनि दिदीतर्फका बच्चाहरू चाहिँ कहाँ–कहाँ हुनुहुन्छ?’
उहाँले सहजै भन्नुभयो, ‘दिदीतर्फबाट त बच्चाबच्ची भएनन्। मेरो तर्फबाट चाहिँ तीन जना भए— दुई छोरा र एक छोरी। जेठो छोरो काठमाडौंमा बसेर कक्षा १२ पढिरहेको छ। ऊ अब विदेश जान्छु भन्छ। खै, के गर्ने हो... अनि माइलो छोरा र कान्छी छोरीचाहिँ यहीँ घरमै छन्। एउटा कक्षा ८ मा पढ्छ, अर्की कक्षा ५ मा।’
उहाँका कुरा सुन्दै जाँदा मेरो जिज्ञासा झन् बढ्दै गयो।
‘अनि तपाईंका छोराछोरीलाई दिदीले नै हेर्नुहुन्छ हो?’
उहाँले सहजै टाउको हल्लाउनुभयो।
‘उनीहरू दिदीसँगै बस्छन्। दिदीले नै हेर्नुहुन्छ। जन्म त मैले दिएँ। तर सरकारी कागजअनुसार दिदी नै उनीहरूको आमा हो।’
‘मतलब?’
‘मैले नै बच्चाहरू जन्माएकी हुँ बाबु। तर उनीहरूको जन्मदर्तामा दिदीको नाम आमाको रूपमा राखिएको छ।’
‘किन त्यस्तो? के बाध्यता थियो र?’
उहाँ मुस्कुराउनुभयो।
‘मलाई त त्यस्तो केही छैन। म त सधैँ स्कुलमा बच्चाहरूसँगै हुन्छु। उनीहरूसँग रमाउँछु, उनीहरूको माया पनि पाएकी छु। तर दिदीको त बच्चाबच्ची भएन। उहाँलाई पनि त आमाको सुख चाहिएको थियो नि। त्यसैले मैले सोचेँ—मैले जन्माएको भए पनि, दिदीको नाममा गरिदिऊँ। उहाँले पनि बच्चाहरूलाई आफ्नै सन्तानजस्तै माया गर्नुहुन्छ। घरमा उनीहरू दिदीसँगै हुन्छन्। म त बाहिरै हुन्छु, स्कुलमै हुन्छु। बच्चाहरूलाई यो कुरा थाहा छैन बाबु। जेठोलाई चाहिँ पछि थाहा भएछ। गाउँका अरू मानिसहरूले कुरा गरेको सुनेर उसले थाहा पाएछ। बाँकी दुई जना त सानै छन्।’
म केहीबेर उहाँको अनुहार हेरेर बसिरहेँ। आफ्नै कोखबाट जन्माएका सन्तानलाई अर्की महिलाको नाममा दिनु—कति ठूलो त्याग होला त्यो? सायद मेरो अनुहारमै त्यो प्रश्न देखिएको हुनुपर्छ।
उहाँले केही क्षण झ्यालबाहिर हेरिरहनुभयो। त्यसपछि बिस्तारै भन्नुभयो, ‘सुरुमा त मेरो श्रीमान्ले पनि मलाई यस्तो नगर भन्नुभएको थियो। ‘आफ्नै कोखबाट जन्माएका बच्चाहरूलाई दिदीको नाममा किन दिन्छ्यौ? पछि समस्या हुन्छ, नगर’ भन्नुभएको थियो। तर मेरो मनले मानेन।’
उहाँको स्वरमा यसपटक अलिकति कम्पन थियो।
‘दिदीलाई त्यसै हेर्न मेरो मनले सकेन। उहाँको पनि त मन छ, उहाँलाई पनि आमा बन्ने रहर थियो होला। सन्तान नहुँदा उहाँको मनभित्र कति पीडा थियो होला, त्यो मैले नबुझेको होइन। मैले बच्चाहरू जन्माएँ, तर दिदीले तिनीहरूलाई आफ्नै सन्तान सम्झेर माया गर्नुभयो। घरमा उनीहरूसँगै बस्नुभयो, हुर्काउनुभयो, उनीहरूको हरेक खुसी र दुःखमा साथ दिनुभयो। त्यसैले मैले सोचें—जन्म त मैले दिएँ, तर आमाको सुख दिदीलाई पनि मिलोस्। बच्चाहरूले उहाँलाई ‘आमा’ भनेर बोलाउँदा उहाँको मनमा जुन खुसी आउँछ, त्यो खुसी मबाट खोस्न मन लागेन। आखिर दिदीको खुसी नै मेरो खुसी हो।’
त्यसपछि केहीबेर उहाँ बोल्नुभएन। बस आफ्नै गतिमा अगाडि बढिरह्यो। बाहिरको बाटो बदलिइरहेको थियो, तर मेरो मनमा भने उहाँले बोलेका शब्दहरू एउटै ठाउँमा अड्किएका थिए।
‘अनि तपाईंका छोराछोरीले तपाईंलाई के भनेर बोलाउँछन्?’
उहाँको अनुहारमा यसपटक छुट्टै किसिमको मुस्कान आयो।
‘मलाई ‘कान्छी ममी’ भन्छन्,’ उहाँले भन्नुभयो, ‘अनि दिदीलाई ‘जेठी ममी’ भन्छन्।’
जन्म दिने आमा एउटा, हुर्काउने आमा अर्को। एउटै घर, एउटै बाबु, तर दुई आमाका फरक नाम।
म अझै धेरै कुरा सोध्न चाहन्थेँ। उहाँको जीवनका धेरै पाना अझै खुल्न बाँकी थिए। तर त्यही बेला बसको सहचालक हाम्रो सिट नजिक आए।
‘भाइ, तपाईं पछाडिको सिटमा बसिदिनु न है। यहाँ लेडिजसँग अर्को लेडिज बहिनीलाई राखौँ।’
साँच्चै भन्नुपर्दा, त्यो क्षणमा मलाई उठेर पछाडि जान मन थिएन। तर परिस्थितिसँग बहस गर्न सकिँदैन।
‘दिदी, म पछाडि हुन्छु है। केही पर्यो भने भन्नुहोला।’
यति भन्दै म झोला लिएर पछाडितिर लागेँ। अन्तिम सिटहरू खाली थिए। म झ्यालछेउको सिटमा बसेँ। टाउको सिटमा अड्याएँ। तर निदाउनुअघि पनि उहाँका शब्दहरू कानमा गुञ्जिरहे—‘दिदीको खुसी नै मेरो खुसी हो।’
सोच्दासोच्दै मेरा आँखामा निद्रा पर्न थाल्यो। कहिले निदाएँ, थाहै भएन। जब आँखा खुल्यो, बिहान भइसकेको थियो। बस बुटवल नजिक पुगिसकेको रहेछ। झ्यालबाहिर बिहानको उज्यालो फैलिँदै थियो। सडक, बस्ती र वरिपरिका दृश्यहरू विस्तारै प्रस्ट हुँदै थिए।
मैले अगाडितिर हेरेँ। दिदी आफ्नै सिटमा बसिरहनुभएको थियो। केहीबेरमै बस बुटवल बसपार्कमा पुग्यो। यात्रुहरू आ–आफ्नो सामान समेट्दै ओर्लिन थाले। म पनि झोला बोकेर बसबाट ओर्लिएँ। तर मन भने अझै त्यही बसभित्र थियो। दिदी पनि आफ्नो सामान लिएर ओर्लिनुभयो। म उहाँको नजिक गएँ।
‘ल दिदी,’ मैले मुस्कुराउँदै भनेँ, ‘तपाईंको कहानी निकै राम्रो लाग्यो। तर मेरो मनमा अझै धेरै प्रश्नहरू बाँकी रहे। सोध्नै पाइएन।’
उहाँले मतिर हेर्नुभयो।
‘यदि फेरि हाम्रो भेट भयो भने सबै कुरा गरौँला है।’
उहाँको अनुहारमा परिचित मुस्कान फर्कियो।
‘हुन्छ बाबु। राम्रोसँग जानुहोस्।’
‘हजुर, तपाईं पनि।’
यति भन्दै हामी आ–आफ्नो बाटो लाग्यौँ।
केही पर पुगेपछि मैले फेरि पछाडि फर्केर हेरेँ। उहाँ बिस्तारै भीडमा हराउँदै जानुभएको थियो। केहीबेरसम्म म उहाँलाई नै हेरिरहेँ। त्यो भेट केही घण्टाको मात्र थियो। तर उहाँले सुनाएको कथा भने केही घण्टामा सकिने कथा थिएन।
म सोचिरहेँ—कुनै महिलाको मातृत्व उसको नाममा हुन्छ कि उसको त्यागमा? आमा हुनु भनेको केवल जन्म दिनु हो कि, जन्म दिएर पनि जीवनभर माया र ममताले हुर्काउनु हो? आमाको परिचय जन्म दिने महिलासँग हुन्छ कि बच्चालाई आफ्नो संसार सम्झेर माया गर्ने महिलासँग?
सायद यी प्रश्नहरूको उत्तर उहाँसँग थियो होला। तर त्यो दिन मैले सोध्न सकिनँ।