मेरो पन्ध्र वर्ष लामो शिक्षण अनुभवका सुरुआती वर्षहरूमा शिक्षकले भनेको मान्नुपर्छ भन्ने मान्यता बलियो थियो। शिक्षकले भनेपछि विद्यार्थीले प्रायः हस् भन्थे। किन, केका लागि र यसको औचित्य के हो भनेर प्रश्न गर्ने चलन कम थियो।
आजका विद्यार्थी फरक छन्। उनीहरू तर्क गर्न सक्छन्। ‘के, किन र कसरी?’ भनेर प्रश्न गर्छन्। शिक्षकले भनेकै भरमा हरेक कुरा चुपचाप स्वीकार गर्दैनन्, त्यसको औचित्य खोज्छन्।
सायद यहीँबाट आज शिक्षक र विद्यार्थीबीच नजानिँदो द्वन्द्व सुरु हुन्छ। कहीँ न कहीँ ‘ज्यू–हजुर’ गर्ने सामन्ती संस्कारमा हुर्केका हामीलाई विद्यार्थीका सिधा र स्पष्ट प्रश्न तथा प्रश्न गर्ने तरिका कम सम्मानजनक लाग्न सक्छन्। विद्यार्थी आफ्नो कुरा राख्न खोज्छन्, तर हामीलाई उनीहरूले नटेरेजस्तो लाग्छ। उनीहरू प्रश्न गर्छन्, हामीलाई निहुँ खोजेजस्तो लाग्छ।
हामी शिक्षकलाई हिजोदेखि गर्दै आएका कुराहरू नै अनुशासनका मानक हुन् भन्ने लाग्छ। सिकिसकेका कुरा बिर्सेर नयाँ ढङ्गले सिक्न—अर्थात् सिकेका कुरा त्याग्न र फेरि सिक्न—त्यति सजिलो रहेनछ।
जस्तो, हामी धेरै शिक्षकलाई अझै पनि के लाग्छ भने—म मेरो विषयवस्तुमा तयार छु, त्यसलाई विद्यार्थीले सुनिदिनुपर्छ। परीक्षा पास हुनुपर्छ। भविष्य त्यसैमा छ, नत्र अन्धकार छ।
विद्यार्थी पनि सायद यी कुराको विपक्षमा छैनन्। तर उनीहरूको रुचिसँग हाम्रो तरिका नमिलेको हुन सक्छ। कतै न कतै उकुसमुकुस हुन सक्छ। चालीस–पैँतालीस मिनेटसम्म एउटै प्रकारको दैनिकीमा उनीहरूले हिजोका विद्यार्थीले जस्तो ध्यान केन्द्रित गरेजस्तो गर्न नसकेका हुन सक्छन्।
विद्यार्थी चाहन्छन्—आफ्नो शिक्षक हँसिलो होस्, जोक्स भनोस्, मिम्स बुझोस्। कक्षामा खोजेको उपलब्धि हासिल गर्न पुस्तक मात्र होइन, योजना लिएर आओस्। छोटा, टक्क परेका क्रियाकलाप होऊन्, जसमा सहभागी हुँदा बोर नहोस्। शिक्षक मात्र बोलिरहनुभन्दा बीच–बीचमा प्रविधिको प्रयोग होस्। सचेत बनाओस्, साथ दिओस्, तर अनावश्यक नैतिक पहरेदारी नगरोस्।
कक्षाकोठाको चालीस मिनेटलाई यसरी मिलाइयोस् कि सिकाइ उपलब्धि त्यही पूरा होस्, फेरि त्यही काम ‘घरमा गर’ या अतिरिक्त कक्षाको समय र आर्थिक भार नलादियोस्।
घरमा गर्न दिइने काम दिनै परे पनि आफ्नै क्षमता, रुचिअनुसारको र उपलब्धिमूलक दिइयोस्। गृहकार्य दिनकै लागि गृहकार्य नदिइयोस्।
कक्षाकोठा सबै विद्यार्थीको साझा थलो होस्। मेरो अनुभवमा सामाजिक न्याय बुझेको शिक्षकसँग विद्यार्थी धेरै सहज हुन्छन्।
हामी शिक्षकले जान्ने र नजान्ने विद्यार्थी छुट्याउनुभन्दा, नजान्ने विद्यार्थी किन नजान्ने भयो भनेर सोच्नुपर्छ। त्यसका पछाडि रहेका संरचनात्मक विभेदका परिणामलाई आत्मसात् गर्न सक्यौँ भने विद्यार्थी निकै उत्प्रेरित हुन्छ। उनीहरूमा आशा जाग्छ।
तर ‘यो जान्दैन, यसको काम छैन, हल्ला गर्छ, ध्यान दिँदैन, यसले विद्यालयको नतिजामा केही योगदान पुर्याउँदैन, शुल्क तिर्न पनि सक्दैन, ड्रेस मिलाएर लगाउँदैन, अनुपस्थित भइरहन्छ, बा–आमालाई पनि केही मतलब छैन’ भनेर प्रत्यक्ष र अप्रत्यक्ष नकारात्मक प्रभाव दिन थाल्यौँ भने विद्यार्थीसँगै हाम्रो सामाजिक दायित्व पनि टाढिँदै जान्छ।
कहिलेकाहीँ लाग्छ, विद्यार्थीका गलत भनिने क्रियाभन्दा हाम्रा प्रतिक्रिया बढी समस्यामूलक छन्।
हामी सायद त्यस्तै सामाजिक र राजनीतिक परिवेशमा हुर्कियौँ। कहीँ न कहीँ हामीलाई अलिक ठूलो मान्छे हुन मन पर्छ। पदसोपानमा विद्यार्थीभन्दा हामी शिक्षक आफूलाई बढी शक्तिशाली ठान्छौँ। रिस उठेका बेला विद्यार्थीसँग हामीभित्र लुकेको श्रेष्ठताको भाव झल्किहाल्छ।
सम्झाउन मिल्ने ठाउँमा पनि गाली गरेको स्वरमा चर्को बोल्नु, विद्यालय र कक्षाकोठाको सिकाइलाई हानि नगर्ने ड्रेस, जुत्ता–मोजा, रिबन र कपालजस्ता कुरामा उच्च निगरानी राख्नु, उनीहरूका आवाज कम सुन्नु र हामीले तोकेका कार्यक्रम तथा नियमहरू सहर्ष पालना गर्नैपर्ने अपेक्षा गर्नु—हाम्रा यी र यस्ता अभ्यासलाई पनि सायद हामीले मिहिन रूपमा पुनरावलोकन गर्नुपर्छ।
विद्यार्थीले शारीरिक सजाय पाउने क्रम पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन।
त्यस्तै, विद्यार्थीहरू कानमा टप, हातमा बाला, पिम्पल प्याच र नङपालिसजस्ता कुरा प्रयोग गर्छन्। यी विद्यालयलाई हानि पुर्याउने वा शिक्षकलाई नटेर्ने व्यवहारभन्दा पनि उमेरसँगै आउने सामान्य प्रयोग मात्र हुन सक्छन्।
यस्ता सामान्य, अति सामान्य कुरालाई ठूलो बनाउनुको सट्टा सामान्य रूपमै ग्रहण गर्दा राम्रो हुन्छ।
हामीलाई लाग्छ—हामीले गरेकै विद्यार्थीका लागि हो। हो पनि। हामीमा थकान छ। कतिपय अवस्थामा दिनमा सात पिरियडसम्म पढाउनुपर्छ। विद्यालयमा गर्नुपर्ने अतिरिक्त काम पनि थुप्रै हुन्छन्।
तैपनि हामी सजग हुनुपर्छ। हाम्रा व्यवहार मानवीय र व्यवहारिक सीपले भरिपूर्ण हुनुपर्छ। शिक्षकको जिम्मेवारी सामान्य जिम्मेवारी होइन। यो कसैलाई हानि नगर्ने र हरेक विद्यार्थीले सुरक्षित महसुस गर्ने वातावरण बनाउने उच्च मानवीय जिम्मेवारी हो।
यो हाम्रो विद्यालयको नियम नै हो वा समाज र अभिभावकले पनि यस्तै गरियोस् भन्ने चाहन्छन् भन्ने लागे पनि ती अपेक्षा र विद्यार्थीको स्वतन्त्रता तथा सम्मानबीच तालमेल मिलाउने जिम्मेवारी हामी शिक्षककै हो।
हामीलाई लाग्छ—विद्यार्थी विद्यालयमा सुत्नु हुँदैन, हाई गर्नु हुँदैन, अल्छी गर्नु हुँदैन।
तर मेरो विचारमा उसलाई साँच्चै गाह्रो भइरहेको छ भने, ‘एकछिन सुत’ भन्दा के बिग्रिन्छ र? हाई लागिरहेको छ भने, ‘धारामा गएर मुख धोएर फ्रेस भएर आऊ’ भन्दा पनि ठीकै हुन्छ होला।
अनि विद्यार्थीलाई बारम्बार अल्छी लागिरहेको छ भने उसलाई मात्रै दोष दिने कि हामीले आफ्नो कक्षा योजना पनि नयाँ ढङ्गले बनाउने? हरेकपटक विद्यार्थीले सिर्जना गरेका समस्या एकोहोरो व्याख्या गर्नुभन्दा, कहिलेकाहीँ उनीहरूसँगै हाम्रा तौरतरिकालाई पनि केलाउँदा प्रभावकारी समाधान निस्कन सक्छन्।
विद्यार्थीले किताब ल्याउँदैनन्। सधैँ नल्याउने होइन, कहिलेकाहीँ छुट्न सक्छ। तर किताब नल्याउँदैमा सर्वस्व गयो, सबै खत्तम भयो भनेजस्तो प्रतिक्रिया दिनु जरुरी हुँदैन।
हामी सिकाइका उद्देश्यमा केन्द्रित हुन सक्छौँ र विद्यार्थीलाई वर्षभरि घर र विद्यालयमा एउटै किताबको बन्धनबाट केही हदसम्म मुक्त गर्न सक्छौँ।
हामीलाई कहीँ न कहीँ लाग्छ—यी सबै भन्न सजिलो छ। पाठ्यक्रम सक्नुपर्यो, भनेजस्तो नतिजा निकाल्नुपर्यो। अलमलिएर कहाँ हुन्छ?
तर सोचौँ त, हामी हतारिँदैमा हाम्रा विद्यार्थी कहाँ हामीसँगै तानिएका छन् र? उनीहरू त आफ्नै लयमा छन्। शिक्षकका रूपमा हाम्रो क्षमता र कक्षाका क्रियाकलाप तिनै हुन्। अभिभावक तिनै हुन्। समाजले बोकेको गरिबी, विद्यालयका स्रोत–साधन र तौरतरिका पनि तिनै हुन्। हरेक कक्षामा उत्तीर्ण हुँदा थपिँदै गएको सिकाइ अन्तर र उनीहरूका विशेष अवस्था पनि यथावत् छन्।
यी सबै कुरा एकैछिनमा परिवर्तन हुनेवाला छैनन्।
तर हामीलाई लागिरहन्छ—विद्यार्थी हामीसँगै आइरहेका छन्।
वास्तवमा उनीहरू आएका हुँदैनन्। उनीहरू त चालीस मिनेट कहिले सकिन्छ भनेर कुरिरहेका हुन्छन्। अनि हामी भन्छौँ—टेर्दैनन्, हल्ला गर्छन्, पढाइमा मन लगाउँदैनन्, गृहकार्य गर्दैनन्।
हामीचाहिँ आफू हतारिएको, पाठ अघि बढाएको र पाठ्यक्रम सकेको देखेर मनोवैज्ञानिक रूपमा सबै ठिकठाक भइरहेको ठानिरहन्छौँ।
यदि त्यसरी नै सबै ठिकठाक हुँदो हो त प्रथम त्रैमासिक परीक्षामा एकल अङ्क ल्याएको विद्यार्थी एसइईमा पनि ननग्रेडेड भएरै किन रहँदो हो र?
शिक्षकलाई पनि कहिलेकाहीँ नियमित तालिकाका काम गर्न पट्यार लाग्न सक्छ। सधैँ उही पाठ, उही अभ्यास र उही दैनिकीबाट हामीलाई पनि कहिलेकाहीँ विश्राम चाहिन्छ।
त्यस्तो बेला विद्यार्थीलाई ‘ल, यसो गर, उसो गर’ भनेर समय मात्र कटाउनुभन्दा एउटा रोचक योजना बनाएर कक्षामा जान उचित हुनसक्छ।
पाठसँग मिल्ने चलचित्र वा छोटो भिडियो देखाउन सकिन्छ। इन्डोर गेम खेलाउन, गीत सुनेर त्यसका शब्द वा भावमाथि कुरा गर्न, चित्र हेरेर कथा बनाउन, समूहमा क्विज खेल्न वा विद्यार्थीलाई आफ्नै रुचिको विषयमा छोटो प्रस्तुति दिन लगाउन सकिन्छ। कहिलेकाहीँ खुला ठाउँमा बसेर कुरा गर्न वा उनीहरूकै अनुभव सुन्न पनि सकिन्छ।
हरेक कक्षा किताबका पाना सक्नका लागि मात्र हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ विद्यार्थीले रमाएर बिताएको एउटा पिरियडले पनि शिक्षकसँगको सम्बन्ध सहज बनाउँछ र भोलिको सिकाइका लागि ढोका खोल्छ।
हामीले पढाइरहेको समयमा उनीहरू कहिलेकाहीँ ‘पानी खान जान्छु’ वा ‘शौचालय जान्छु’ भन्छन्। कतिलाई साँच्चै जानुपर्ने भएको हुन सक्छ भने कतिले यसो दुई मिनेट बाहिर निस्कने बहाना खोजेका पनि हुन सक्छन्।
तर लामो समयसम्म लगातार कक्षामा बसिरहनु पर्दाको उकुसमुकुसका हिसाबले हेर्दा यो पनि सामान्य हुन सक्छ।
हाम्रो कक्षामा बसिरहेका विद्यार्थी मन लागेरभन्दा पनि त्यसलाई नियमित प्रक्रिया मानेर मात्र बसिरहेका हुन सक्छन्। बाहिर जान खोज्ने विद्यार्थी बरु पाँच मिनेटमा फ्रेस भएर फर्किएपछि क्रियाकलापमा सक्रिय रूपमा सहभागी हुन सक्छन्।
हामीले ‘ज्ञानी’ देखेका कतिपय विद्यार्थी पनि पूरै कक्षाभरि ध्यान केन्द्रित गर्न नसकिरहेका हुन सक्छन्। फरक यत्ति हो—कसैले आफ्नो उकुसमुकुस देखाउँछन्, कसैले चुपचाप लुकाउँछन्।
केही समयअघि आफैँले गरेको कार्यमूलक अनुसन्धानमा विद्यार्थी विद्यालय नआउन खोज्ने विभिन्न कारणमध्ये एउटा गृहकार्य पूरा गर्न नसक्नु पनि रहेछ। गृहकार्यले दिएको मनोवैज्ञानिक तनावका कारण भोलिपल्ट कक्षामै नआउनु त झन् ठूलो समस्या भयो।
त्यसकारण गृहकार्य दिँदा विचार गरौँ। गृहकार्य दिनकै लागि नदिऔँ। अरूको सारेर वा नक्कल गरेर ल्याउन मिल्ने खालका गृहकार्यलाई सकेसम्म कम गरौँ।
कतिपय विद्यार्थीलाई सिकाइमै समस्या हुन्छ। कक्षामा बुझेजस्तो लागेको विषय पनि घर पुगेपछि उनीहरूलाई अप्ठ्यारो लाग्न सक्छ। के गर्ने, कहाँबाट सुरु गर्ने भन्ने अन्योल र चिन्ता हुन सक्छ।
हामी उनीहरूसँग मेसेन्जर समूह, भाइबर, ह्वाट्सएप, गुगल कक्षा वा माइक्रोसफ्ट टिम्सजस्ता अनलाइन माध्यमबाट सम्पर्कमा रह्यौँ भने उनीहरूलाई केही सहज हुन सक्छ। प्रश्न सोध्न, नबुझेको कुरा स्पष्ट गर्न वा शिक्षकसँग सहयोग माग्न पाउने ठाउँ हुँदा गृहकार्य बोझभन्दा सिकाइको निरन्तरता बन्न सक्छ।
कहिलेकाहीँ हामी भन्छौँ, ‘मैले कोर्स छिट्टै सकेँ।’ पाठ्यक्रमले तोकेका विषयवस्तु समयमा सकिनु राम्रै कुरा हो। तर प्रश्न ‘सकियो कि सकिएन?’ मात्र होइन, ‘कसरी सकियो?’ भन्ने पनि हो कि?
कक्षामा प्रवेश गर्ने र निस्कने समय अनि कक्षाभित्र बिताएको समय कति गुणस्तरीय छ भन्ने कुराले पनि विद्यार्थीले हामीसँग गर्ने व्यवहारमा केही प्रभाव पारेको हुन सक्छ।
अहिले त योजना बनाउन सहज पनि छ। हामीसँग पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका छन्। त्यसमाथि कृत्रिम बुद्धिमत्ताको आगमनले तयारी गर्ने काम केही सरल बनाइदिएको छ।
हामीले लामो समयदेखि एउटै ढाँचामा काम गरेका हुन सक्छौँ। पुस्तकको विषयवस्तुमा हामीलाई आत्मविश्वास छ। पाठ्यपुस्तकका अभ्यासमा पनि अभ्यस्त भइसकेका छौँ। शिक्षामा हाम्रो योगदान सानो छैन।
तर बदलिँदो समयसँगै हामीमा खोजी गर्ने बानी र तयारीको महत्त्व पनि थपिँदै जानुपर्ने हो कि?
कतिपय अवस्थामा विद्यार्थीले निरन्तर कक्षामा बाधा पुर्याउँदा हामी कमजोर महसुस गरिरहेका हुन सक्छौँ। पेसाप्रति दिक्क लाग्न सक्छ। अझै पनि राजनीतिले आक्रान्त विद्यालय प्रशासनले सोचेजस्तो सहयोग नगरेको हुन सक्छ। अभिभावकका गुनासा हुन सक्छन्।
कहिलेकाहीँ हामीलाई लाग्न सक्छ—अरूलाई बाहिर बसेर बोल्न सजिलो छ, कक्षामा आएर पढाउन, विद्यार्थी सम्हाल्न सजिलो छैन नि!
यी सबै अवस्था स्वीकार गरेर एक जिम्मेवार शिक्षक भएर उभिन गहिरो सङ्घर्ष चाहिन्छ। यसको एउटा उपाय निरन्तर अध्ययन गर्नु र आफूलाई अद्यावधिक गरिरहनु पनि हो। खोजी गर्दा समाधान नपाइने समस्या निकै कम होलान्।
हामी थाक्नु र विद्यार्थी नकारात्मक हुँदै जानु हाम्रो विद्यालय शिक्षाको अधोगति हो। तर हामीले सानो प्रयासबाट पनि परिस्थिति बदल्न सक्छौँ। आफ्ना अभ्यासमाथि प्रश्न गर्ने, नयाँ कुरा खोज्ने, विद्यार्थीलाई सुन्ने र आवश्यकता अनुसार कक्षा योजना बदल्ने, परम्परागत अभ्यासलाई नयाँ ढङ्गले विचार गर्ने र जेन–जी तथा जेन–अल्फाले कसरी सोच्छन् भनेर मनन गर्ने बानीले विद्यार्थी सम्हाल्न सहज हुन सक्छ।