भदौ १० को विनाशकारी बाढीपछि चीनले नेपाललाई नियमित पठाउँदै आएको स्याटलाइट तस्बिर र तथ्यांकले दुईवटा महत्त्वपूर्ण संकेत देखाएको छ।
पहिलो, त्यस दिन लाङटाङ लिरूङ हिमालको जुन ठाउँमा हिमनदी र चट्टानी पहाड खसेर यो विपद ल्याएको थियो, त्यही ठाउँमा अहिले पनि केही अंश खस्न बाँकी छ।
झुन्डिएर बसेको हिमनदी र पहाडको त्यो अंश भविष्यमा जुनसुकै बेला खस्न सक्ने सम्भावना देखिएको छ।
दोस्रो, त्यही ठाउँमा पहिले बरफले ढाकिएको एउटा ताल अहिले फेरि प्रस्ट देखिन थालेको छ। त्यो तालको क्षेत्रफल ०.१९ वर्गकिलोमिटर छ। यो भनेको करिब २७ वटा अन्तर्राष्ट्रिय फुटबल मैदान बराबर हो।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप–कार्यकारी निर्देशक विक्रम श्रेष्ठ जुवाका अनुसार चिनियाँहरूले गत बिहीबारसम्म दिएको स्याटलाइट तस्बिर र तथ्यांकका आधारमा यी दुई नयाँ संकेत देखिएका हुन्।
दुवै सूचना महत्त्वपूर्ण भए पनि यसै आधारमा अर्को ठूलो हिमपहिरो जाँदैछ भन्ने भविष्यवाणी गर्न नसकिने उनी बताउँछन्।
'त्यहाँ अझै कति ठूलो हिमपहिरो खस्न बाँकी छ, त्यो कहिले खस्छ, तुरून्तै खस्ने सम्भावना छ कि छैन भन्ने यकिन छैन,' श्रेष्ठले सेतोपाटीसँग भने, 'लिरूङको माथिल्लो भागमा देखिएको तालका बारेमा पनि विस्तृत सूचना आइसकेको छैन। अहिलेसम्म हामीलाई त्यसको क्षेत्रफल मात्र थाहा भएको छ।'
जोखिम कहिले आउँछ यकिन नभए पनि यी दुई सूचनाले एउटा कुरा स्पष्ट गरेको छ —
भदौ १० गतेको घटनाले लिरूङ हिमालको भौगोलिक अवस्था खल्बल्याइदिएको छ, जसले त्यहाँ खस्न बाँकी रहेको अंशलाई थप अस्थिर बनाएको छ।
त्यसैले उक्त क्षेत्रमा नियमित स्याटलाइट अनुगमन भइरहेको र प्रत्येक हलचल रेकर्डमा राख्न थालेको श्रेष्ठले जानकारी दिए।
अब हामी यी दुवै सूचना जोखिमका हिसाबले कति ठूलो हो भन्ने बुझौं।
कति खस्यो, कति खस्न बाँकी?
भदौ १० गते लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा हिमनदी मात्र खसेको थिएन, त्यसमुनिको ठूलो चट्टानी पहाड नै खसेको थियो।
तर त्यस दिन त्यो हिमनदी र पहाड पूर्ण रूपमा खसेको थिएन।
यसलाई सरल रूपमा बुझ्न, हिमनदीलाई पहाडबाट बिस्तारै तल बग्दाबग्दै कक्रक्क जमेको बरफको ठूलो नदी सम्झनुस्। त्यसको अगाडितिर तलसम्म लत्रिएको लामो छेउ हुन्छ, जसलाई हामी 'हिमनदीको थुतुनो' भनेर बुझ्न सक्छौं।
अहिले खसेको त्यही हिमनदीको थुतुनो र त्यसलाई काँधमा बोकेको चट्टानी पहाड हो।
केन्द्रका उप–कार्यकारी निर्देशक श्रेष्ठका अनुसार त्यस दिन हिमनदीको थुतुनो ठूलो परिमाणमा खसेको भए पनि केही अंश अझै खस्न बाँकी छ। र, त्यो अंश अहिले पनि झुन्डिएरै बसेको छ।
यसलाई परिमाणमा गणना गर्दा लगभग ८० प्रतिशत खसिसकेको र २० प्रतिशत खस्न बाँकी हुनसक्ने उनी बताउँछन्।
तर यो वैज्ञानिक रूपमा प्रमाणित आँकडा होइन।
चिनियाँ एकेडेमी अफ साइन्सेस अन्तर्गत तिब्बती पठारको अनुसन्धान गर्ने संस्था 'इन्स्टिच्युट अफ टिबेटन प्लेटू रिसर्च' टोलीले गरेको नयाँ अध्ययनले भदौ १० गते खसेको हिमनदी र पहाडको आकारबारे अहिलेसम्मकै स्पष्ट अनुमान सार्वजनिक गरेको छ।
अध्ययन अनुसार, त्यस दिन खसेको बरफ र चट्टानको अंश करिब ९८० मिटर चौडा, ७८० मिटर लामो र ०.७६ वर्गकिलोमिटर क्षेत्रफलको थियो।
यो भनेको, करिब एक किलोमिटर चौडा र आठ सय मिटर लामो विशाल पिण्ड लाङटाङ लिरूङ हिमालबाट एकैपटक छुट्टिएको हो।
त्यसको परिमाण ७ करोड घनमिटरभन्दा बढी थियो — यति धेरै कि, त्यसलाई एक वर्गकिलोमिटर क्षेत्रमा थुपार्ने हो भने करिब ७० मिटर अग्लो थुप्रो बन्छ।
यसलाई तपाईं रसुवादेखि नुवाकोट हुँदै धादिङसम्म आइपुग्दा बाढीले सोहोरेको सामग्रीका रूपमा नबुझ्नुस्। यो ७ करोड घनमिटरको विशाल पिण्ड लिरूङ हिमालबाट खसेको बरफ र चट्टानको परिमाण मात्र हो।
तल बग्दै जाँदा त्यसले थप चट्टान र अन्य सामग्री समेत समेटेको चिनियाँ अध्ययनको निष्कर्ष छ।
चिनियाँ स्याटलाइट अपडेटले हिमपहिरो गएको ठाउँमा अझै केही भाग बाँकी रहेको र थप खस्न सक्ने सम्भावना देखाए पनि त्यसको आकार, परिमाण र खस्न सक्ने समय यकिन गरेको छैन।
यसलाई यकिनसँग भन्न पहिले कति बरफ झुन्डिएर बसेको थियो भन्ने थाहा हुनुपर्छ।
चिनियाँ अध्ययनले खसेको बरफको परिमाण ७ करोड घनमिटरभन्दा बढी भने पनि बाँकी रहेको बरफको प्रतिशत वा परिमाण सार्वजनिक गरेको छैन।
सन् २०१७ को Google Earth तस्बिरमा नेपालको लाङटाङ लिरूङ हिमालमा भदौ १० गते गएको पहिरोको स्थान देखाइएको छ। स्रोत: इओएस
लाङटाङ लिरूङ हिमालका सम्बन्धमा अहिले आएको चिनियाँ अनुसन्धानले अर्को एउटा महत्त्वपूर्ण तथ्य पनि देखाएको छ।
स्याटलाइट तस्बिर अनुसार भदौ १० (अगस्ट २६) भन्दा दुई साताअघि त्यहाँको पहाडमा भौगर्भिक हलचल असामान्य रूपले बढेको पत्ता लागेको छ।
अगस्ट १२ देखि २४ सम्म त्यो चट्टानी पहाड दैनिक करिब ०.४ मिटरका दरले चलिरहेको देखिएको थियो। यो सामान्य गतिभन्दा बढी भएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। उनीहरूले यसलाई जोखिमको संकेत मानेका छन्।
यसको अर्थ स्याटलाइट तस्बिरले त्यसै बेला 'अब यति दिनमा हिमनदी र पहाड खस्छ' भनेर भविष्यवाणी गरेको थियो भन्ने होइन।
यो घटना भइसकेपछि गरिएको विश्लेषण हो, जसले त्यति बेलाको गतिलाई पहाड खस्न सक्ने एक महत्त्वपूर्ण पूर्वसंकेतका रूपमा व्याख्या गरेको छ।
यही तथ्यले अहिलेको वैज्ञानिक अनुगमन र निगरानीलाई झनै महत्त्वपूर्ण बनाउँछ।
यदि हिमपहिरो खस्नुभन्दा अगाडि स्याटलाइटले त्यस क्षेत्रको पहाडमा असामान्य हलचल मापन गरेको थियो भने, अहिले बाँकी रहेको अंश पनि त्यसरी नै चलिरहेको छ कि छैन भन्ने प्रश्नको उत्तर खोज्नु जरूरी हुन्छ।
अहिलेको निष्कर्ष यति मात्र हो — भदौ १० गतेको घटनापछि पनि लाङटाङ लिरूङ हिमालको त्यो ठाउँमा बरफका केही अंश खस्न बाँकी छन्। त्यो कत्रो छ, कति ठूलो छ र कहिले खस्छ भन्ने यकिन छैन।
यहाँ एउटा कुरा भने निकै महत्त्वपूर्ण छ — एकपटक पहिरो गएको ठाउँमा अर्को पहिरो जाने सम्भावना बढी हुन्छ।
यसको कारण के भने, एकपटक हिमनदी र चट्टानको ठूलो अंश खसेपछि त्यसले पहाडको पहिलेको सन्तुलन बिगारिदिन्छ।
साथै, पहाडको एउटा भाग चोइटिएपछि त्यहाँ नयाँ भिरालो आकृति बन्न सक्छ। पहाडमा भएका चिरा अझ खुल्न सक्छन्। पहाडको पकड झन् खुकुलो हुन सक्छ।
यस्तो अवस्थामा दोस्रो पहिरो जाने र बाँकी बचेको अंश खस्न सक्ने जोखिम स्वाभाविक रूपले बढ्छ।
त्यही ठाउँमा देखिएको ताल के हो?
चीनले दिएको स्याटलाइट अपडेटबाट थाहा भएको अर्को सूचना पनि महत्त्वपूर्ण छ।
केन्द्रका उप–कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भदौ १० गते हिमपहिरो खसेकै ठाउँमा पहिले बरफले ढाकिएको एउटा ताल अहिले फेरि प्रस्ट देखिन थालेको छ।
अहिलेलाई उक्त तालको क्षेत्रफल मात्र थाहा भएको उनी बताउँछन्, जुन ०.१९ वर्गकिलोमिटर अर्थात् करिब २७ वटा अन्तर्राष्ट्रिय फुटबल मैदान बराबर छ।
यसबाहेक ताल कति गहिरो छ, त्यसमा पानीको मात्रा कति छ र त्यो कत्तिको जोखिमपूर्ण अवस्थामा छ भन्नेबारे यकिन सूचना आइसकेको छैन।
यो सामान्य हिमतालभन्दा फरक हो।
श्रेष्ठका अनुसार, यो पहिले बरफले ढाकिएको थियो र बाहिरबाट हेर्दा बरफको थुप्रोजस्तो मात्र देखिन्थ्यो। यसलाई प्राविधिक भाषामा 'englacial lake' भनिन्छ।
तर भदौ १० को घटनापछि चीनले पठाउन थालेको स्याटलाइट तस्बिर र भिडिओ हेर्दा त्यो ताल फेरि प्रस्ट रूपमा देखिएको श्रेष्ठ बताउँछन्।
'यस्तो तालमा पानी कति जम्मा भएको छ, पानी बाहिर निस्कने बाटो कस्तो छ, पहिले बरफले ढाकिएको ताल अहिले कसरी देखिन थाल्यो र यसले हिमनदीको मुनि र वरिपरि रहेको चट्टानी पहाडलाई कस्तो असर पार्छ भन्ने कुरा जोखिम मूल्यांकनका लागि महत्त्वपूर्ण हुन्छ,' उनले भने।
यदि तालबाट चुहिएको पानी चट्टानी पहाडको चिराभित्र पसिरहेको छ भने त्यसले पहाडलाई अस्थिर बनाउन सक्छ र खस्ने सम्भावना बढाउन सक्छ।
यसका लागि स्याटलाइटले नियमित रूपमा तालको अनुगमन र निगरानी गर्नुपर्ने उनको भनाइ छ।
***