अर्थमन्त्री युवराज खतिवडाले पूँजीगत खर्च हुन नसकेको स्वीकार गर्दै यो वर्षका लागि छुट दिनुपर्ने बताएका छन्।
बजेट कार्यान्वयनको विषयलाई लिएर मंगलबार उनले प्रतिनिधिसभामा स्पष्टीकरण दिंदै यो वर्षका लागि छुट पाउनुपर्ने बताएका हुन्।
आउँदो बजेटको सिद्धान्त र प्राथमिकता माथि संसदमा भैरहेको छलफलका क्रममा सांसदहरुले बजेट कार्यन्वयन र पूँजीगत खर्चको विषय उठाएका थिए।
अर्थमन्त्री खतिवडाले भने कानुन निर्माणमा लाग्दा चाहेजसरी पूँजीगत खर्च हुन नसकेको जवाफ दिए।
'संसदमा विषयमा बजेट कार्यान्वयनमा चासो धेरै उठेको छ।हामीले चाहेको गतिमा बाह्रै महिना एउटा नियमित चक्रमा पूँजीगत खर्च गर्न सकेका छैनौं,’ उनले भने 'यो आर्थिक वर्षमा हामीले यो कारणले गर्न पाएनौं भन्ने एसक्युज (छुट) छ।किनभने हामी कानुन निर्माणमा लाग्यौं।'
फागुनसम्म कानुन निर्माण गर्दैमा वितेको, प्रदेश र स्थानीय तहमा खर्चका, राजश्वका अधिकार, आर्थिक कार्यविधि र कर्मचारीको तयारी जस्ता कुरामा अल्झिनुपरेकाले पूँजीगत खर्च चाहेजसरी गर्न नसकिएको उनको भनाइ छ।
'अर्को वर्ष हामीले यो कारणले गर्न सकेनौं भन्ने छुट पाउँदैनौं। हामीले जेठ १५ बजेट प्रस्तुत गर्छौं, त्यही दिनगन्तीबाट कामलाई कार्यान्वयन गर्न सक्छौं,’ उनले भने।
अर्थमन्त्री खतिवडाले अझैपनि सार्वजनिक खरिद ऐन सुधार र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको बताए।
'खरिद ऐनमा, सांगठनिक र निर्णय प्रक्रियामा देखिएका समस्याहरु संसदको बाटोबाट संशोधन गर्दै छिटो कार्यान्वयन हुने तहमा जानेगरी अगाडि बढ्छौं,' खतिवडाले भने।
उनले यसपटकको बजेटमा क्षेत्रगत प्राथमिकता नतोकिएको बताए।
'प्राथमिकता क्षेत्रगत खोज्दा मान्छेको अनुहार हराउने रहेछ,' खतिवडाले भने, 'सबै नेपालीको अनुहार उज्यालो हुने प्राथमिकता हो।’
उनले कृषिलाई प्राथमिकतामा राख्नुभन्दा अरू विकाससँगै लैजानुपर्ने बताए। कृषिको विकासका लागि सँगै सडक बनाउनुपर्ने, कृषि सूचनाका लागि प्रविधी निर्माण गर्नुपर्ने, उत्पादन बढाउनुपर्ने विषय आउने उनको तर्क छ।
'क्षेत्रगत प्राथमिकतामा सरकार अल्झिएको छैन, अल्झदैंन,' खतिवडाले भने, 'नीतिगत प्राथमिकता र कार्यक्रमगत र आयोजना र परियोजना छनौटमा हाम्रा प्राथमिकता छन्।’
उनले पुराना कुरा आएको भन्ने सांसदको गुनासोमा 'सिद्धान्त फेर्दै हिँड्न नसक्ने' जवाफ फर्काए।
'के हामी हिँड्दै छ, पाइला मेट्दै छ भनौं? हामी एउटा सिद्धान्तको कुरा गर्छौँ फेरी त्यो काम लागेन भन्छौँ फाल्छौँ। अर्को सिन्दान्तमा जान्छौँ हामीले व्यवहारले कार्यान्वयन गर्न नसकेका कारण सिद्धान्त फेर्दै हिँडेर कहीँ पुगिदैंन,' मन्त्री खतिवडाले भने, 'गरिबी, बेरोजगारी, पछौटेपन, सुशासनका कुरा विरासतमा ल्याएर आएका छौं। यी एक वर्षमा सिद्धिने, सकिने कुरा हैनन्। केही कुरा दोहोरिन्छन्।’
उनले व्यापार घाटा अन्त्य गर्ने भनेर आफूले भन्न नसक्ने बताए।
'३० देखि ३५ बर्षको इतिहास हेर्यो भने व्यापार घाटा निरन्तर छ। छिटै अन्त्य गरेर बचतमा जान्छौं भनेर म आज पनि भन्न सक्दिन। घटाउने मात्रै आजको हाम्रो प्रयास हो,' खतिवडाले भने, 'अर्को बर्षपनि यो विषय बन्न सक्छ। कतिपय कुरा मनन् गरेर सुधार गरेर लैजाने हो।’
यो पनि हेर्नुस् :
प्रदीप गिरिले अर्थमन्त्रीलाई तपाईं एउटा बाटो रोज्नुस्