भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी सम्मेलन २०२६ मा सहभागी हुने भएकी छन्।
भारतको राज्य सभाका सांसद कार्तिकेय शर्माले रेनुलाई सम्मेलनमा भाग लिन औपचारिक निमन्त्रणापत्र पठाएका हुन्।
सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ।
यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।
यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन्।
आयोजकका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन्।
अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन्।
सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, हार्वर्ड, एमआटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई, स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरू सहभागी हुने अपेक्षा गरिएको छ।
यसैगरी एनएक्सटी इन् साइन्स कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुने बताइएको छ।
निमन्त्रणापत्रमा रेनु दाहालसँग यस फोरमलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ।
रेनु दाहाल भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहिसकेकी छन्। यसपालि फागुन २१ को चुनावमा उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग पराजित भएकी थिइन्।