प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सचिवालयका सल्लाहकार र कर्मचारीसँग असंतुष्ट देखिएका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालय कर्मचारी र सल्लाहकारलाई राजीनामा दिनसमेत सुझाव दिएका थिए।
प्रधानमन्त्री किन रूष्ट?
सेतोपाटीको यो प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सचिवालयका कुरा सामान्य हुने प्रतिक्रिया दिए।
‘बैठक, छलफल त भइरहन्छन्,’ अर्यालले सेतोपाटीसँग भने, ‘कर्मचारी, सल्लाहकार परिवर्तन हुने/नहुने त दुई-चार दिन हेरौं न थाहा भइहाल्छ।’
प्रधानमन्त्री ओलीको सचिवालयमा काम गर्ने कर्मचारीदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेता तथा कार्यकर्ता संतुष्ट नभएको गुनासा सुनिएका थिए।
प्रधानमन्त्रीले सचिवालय सदस्य र सल्लाहकारलाई राजीनामा मागेको हो? भन्ने अर्को प्रश्नमा सल्लाहकार अर्यालले भने, ‘यो थाहा भएन। हेरौं न दुई-चार दिन।’
अर्यालले सचिवालयमा कर्मचारी परिवर्तन हुनु सामान्य भएको बताउँदै केही परिवर्तन हुन लागेको संकेत गरे।
‘सचिवालयले कति काम गर्न सक्छ सक्दैन भन्ने कुरा प्रमुख पनि होइन,’ उनले भने, ‘यो ठूलो इस्यु पनि होइन।’
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली, प्रेस सल्लाहकार अर्याललगायत छन्।