बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त रामेश्वर फुयाँलले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
यसअघि मंगलबार उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा नियुक्त गरेका थिए।
फुयाँललाई मन्त्री नियुक्त गरेपछि शपथका लागि मुख्यमन्त्री डोरमणी पौडेलले तयारी गरेका थिए। फुयाँल पनि शपथका लागि तयार थिए।
अन्तिम अवस्थामा आएर उनको शपथ रोकिन पुग्यो। त्यसको प्रमुख कारण थियो— पार्टीभित्रको आन्तरिक विवाद।
श्रोतका अनुसार बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएपछि फुँयालको शपथ रोकिएको थियो। छलफल र सहमति गरेर मात्रै मन्त्री नियुक्त गर्न शाक्यले गरेको आग्रहलाई मुख्यमन्त्री पौडेलले नटेरेपछि शाक्यले सो चेतावनी दिएको श्रोतले बताएको थियो।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बनेका हुन्।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैंले सम्हाल्दै आएका थिए।
बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो।
बागमती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बनेका हुन्।