नेपाली कांग्रेसले विधान बमोजिम नियमित १५औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग र त्यसका नाममा बोलाइएका भेलाहरू अवैधानिक हुने दोहोर्याएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
पार्टी एकता कमजोर बनाउने र आगामी निर्वाचनमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधि तत्काल रोक्न कांग्रेसले अपिल गरेको पौडेलले उल्लेख गरेका छन्।
पार्टीका महाधिवेशन प्रतिनिधिहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाएको र सोही आधारमा महाधिवेशनको आवश्यक प्रक्रिया अघि बढिसकेको पौडेलले सार्वजनिक गरेका छन्।
विशेष महाधिवेशनको मागको औचित्य मंसिर १५ देखि नै स्वतः समाप्त भएको दाबी पनि गरिएको छ।
'पार्टीले २०८२ मंसिर १५ गते पारित गरेको महाधिवेशन कार्यतालिकालाई पुस १८ को बैठकले संशोधन गर्दै २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ,' बैठकको निर्णयमा भनिएको छ 'यस सन्दर्भमा विधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको हुँदा विशेष महाधिवेशन अवैधानिक हुने' उल्लेख छ।
निर्णयमा भनिएको छ, 'वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन आयोजना गर्नु पार्टीको हितमा छैन। यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्छ र आगामी निर्वाचनमा पार्टीलाई गम्भीर क्षति पुर्याउने जोखिम छ।'
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टी अहिले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस भइसकेको अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन लगायत महत्वपूर्ण काममा केन्द्रित रहेको उल्लेख गरेको छ।
यस्तो अवस्थामा आन्तरिक विवाद र विशेष महाधिवेशनको बहसले देशलाई समेत अस्थिरतातर्फ धकेल्ने सम्भावना रहेको भन्दै कांग्रेस एकताबद्ध भएर निर्वाचन तयारीमा जुट्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकले निर्वाचनपछिको नियमित महाधिवेशनमा पार्टीभित्रका सबै खाले सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने पनि भनेको छ।
बैठकले पार्टी विधान अनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय समितिलाई मात्र रहेको भन्दै व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने गतिविधि विधान विपरीत हुने ठहर गरेको छ।
यस्ता गतिविधिमा संलग्न नहुन बैठकले सबैमा अपिल पनि गरेको छ।