राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट अपांग कोटाबाट उम्मेदवार बनेका बासुदेव घिमिरे ‘जंगली’ विरूद्ध उजुरी परेको छ।
बिहीबार उनीविरूद्ध प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा उजुरी परेको सूचना अधिकारी गेहेन्द्र कुँवर बताए।
उनीविरूद्ध नेपाली कम्युनिस्ट पार्टीका सजन विकले उजुरी दिएको कुँवरले बताए।
‘उहाँविरूद्ध उजुरी परेको छ। घिमिरे खासमा अपांग नभई जालसाजी गरेर परिचय पत्रको लगेको भन्ने उजुरी छ,’ उनले भने।
राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेस/एमालेको कांग्रेसबाट गुल्मीका चन्द्र केसी, दाङका बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट गुल्मीकी रामकुमारी झाक्रीको बुधबार घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि घिमिरेले अपांग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका थिए।