निर्वाचन आयोगले उपसचिव तहको परीक्षा सार्न लोकसेवा आयोगलाई ६ कारण दिएको छ।
लोकसेवा आयोगलाई पत्र पठाएर निर्वचन आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम परिमार्जन गर्न आग्रह गरेको हो।
लोकसेवा आयोगले २०८२ असोज २९ गते उपसचिव तहको लिखित परीक्षा माघ १० देखि माघ २८ सम्मका लागि तोकेको थियो।
आयोगले निर्वाचनमा खटिने कर्मचारीहरूको अभाव हुने र तयारी गर्न नभ्याउने कर्मचारीको गुनासोलाई कारण देखाएको छ। साथै परीक्षाको तालिका परिमार्जन गर्न भनेको छ।
यस्ता छन् आयोगले दिएका ६ कारण
१. निर्वाचन आयोगले माघ पहिलो सातादेखि आचारसंहिता लागू गरेको अवस्थामा ७७ वटै जिल्लाका अधिकृतस्तरका कर्मचारीलाई जिल्ला छोड्न प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने निर्वाचनमा खटाउनुपर्ने भएका कारण प्रमुख जिल्ला अधिकारीबाट अनुमति नपाई परीक्षामा सहभागी हुन नपाउने अवस्था रहेको।
२. ७३ वटा प्रदेश/जिल्ला निर्वाचन कार्यालयहरूमा शाखा अधिकृत नै कार्यालय प्रमुख रहेको अवस्थामा माघको ६ गतेदेखि प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको र निर्वाचन सामग्री खरिद कार्यसमेत सुरू भएको हुँदा निर्वाचन सामग्री खरिद मूल्यांकन तथा व्यवस्थापन गर्नुपर्ने हुँदा कार्यालयबाट बिदा लिई लोकसेवा आयोगले लिने परीक्षामा सामेल हुनसक्ने अवस्था नरहेको,
३. १६५ वटा निर्वाचन अधिकृतको कार्यालयमा शाखा अधिकृत वा सो सरहका कर्मचारी खटिने हुँदा जिल्लाका हरेक कार्यालयबाट निर्वाचनमा अनिवार्य रूपमा खटिनु पर्ने अवस्था भएको,
४. जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष प्रमुखहरूले १६५ वटा निर्वाचन अधिकृतको कार्यालयको खाता सञ्चालन तथा खरिदका विषयमा पदेन सदस्य भई कार्य गर्नुपर्ने र कोष नियन्त्रकहरू समेत निर्वाचनको कार्यक्रममा पूर्णतया व्यस्त रहने तथा बिदा नपाउने अवस्था रहेको,
५. कानून तथा न्याय समूहका अधिकृतस्तरका कर्मचारीहरू समेत निर्वाचनमा प्रत्यक्ष रूपले खटिनुपर्ने अवस्था रहेको,
६. निर्वाचन आयोगमा कार्यरत २३ जना तथा काजमा खटिन आएका समेत गरी १०० जना भन्दा बढी कर्मचारीहरू दैनिक १२ घण्टाभन्दा बढी आयोगको काममा खटिनुपर्ने अवस्था रहेको,
आयोगले निर्वाचनपश्चात् मतगणना, निर्वाचन खर्चको आन्तरिक लेखा परीक्षण गराउन, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नतिजा प्रकाशन सम्बन्धी कार्य सम्पन्न राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाएपछि मात्र परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगलाई आग्रह गरेको छ।