प्रधानमन्त्री केपीशर्मा ओलीको ६९ औं जन्मदिन असुहाउँदो र भड्किलो भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा प्रश्न उठाएको छ।
कांग्रेस सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्री केपीशर्मा ओलीले गत आइतबार तेह्रथुमस्थित पुर्ख्यौली घरमा मनाएको जन्मदिनको प्रसंग निकाल्दै पुराना राजाको जन्मदिनको तस्विरको झल्को आएको बताए।
‘पुराना राजाको जन्मदिनको तस्विर केही अघि देखेको थिएँ, शैली सामान्य नै थियो। तर जन्मदिनमा तपाईंको सत्ता उन्माद देखेर आम नागरिक दिक्दार छ, निरास छ प्रधानमन्त्रीज्यू,’ रिजालले भने।
प्रधानमन्त्रीको जन्मदिनमा पुर्ख्यौली घर देखिएको भन्दै रिजालले उक्त घरले सजिव इतिहास बोकेको पनि सुनाए। ‘जन्मदिनको दिन कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो। प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष अघिको भन्ने सुनियो।
घरको संरचना त निर्जीव होला तर यसले सजिव इतिहास बोकेको छ,’ उनले भने, ‘आफ्ना आस्थाका लागि जुनसुकै संघर्ष बलिदान कुरवानी गर्न तयार आफ्नै आँगनको केटोले एउटा कीर्तिमान राजनीतिक यात्रा तय गर्यो भनेर स्वागतको अभिलाषा थियो होला त्यो घरलाई पनि।’
प्रधानमन्त्रीको जन्मदिन तामझामले मनाइएको उनले बताए।
‘जुन तामझामका साथ चार/पाँच हेलिकप्टर लिएर केन्द्रका, प्रदेशका अनि अन्य राज्य संरचनाका पार्टीका विशिष्ट व्यक्तिहरूलाई बोकेर जानुभयो। घरलाई लाग्यो होला आफ्नो खड्गप्रसाद यो होइन,’ सांसद रिजालले भने, ‘नयाँ महाराजा सवारी भएछ भनेर सायद त्यो घरको आत्माले चिनेन होला प्रधानमन्त्रीज्यू।’
प्रधानमन्त्री र जनता बस्ने लोक फरक हो भन्दै रिजालले थपे, ‘घरले चिनेन होला। एक निमेष घर अगाडि उभिएर, एक मिनेट आफ्नो अन्तरमनलाई सोध्नु भो? अन्तरमनबाट चिन्तन गर्नुभयो? आफ्नो विवेकलाई टटेल्नुभो? प्रधानमन्त्रीज्यू तपाईं कुन लोकमा हुनुहुन्छ, जनता कुन लोकमा छ?’
यति होल्डिङ्सको पैसा र हेलिकोप्टरले प्रधानमन्त्रीको पुख्यौली घरमा केक पुर्याएको रिजालको भनाइ छ। ‘यति होल्डिङको पैसा र हेलिकप्टरले पुर्याएको केक देख्दा अपमानित महशुस गर्यो होला त्यो घरको इतिहासलाई। घरले सम्झियो होला आज नराम्रोसँग अपमानित भएँ मेरो घरको केटोलाई स्वागत गर्न बसेको थिएँ भनेर,’ उनले भने।
जन्मदिन भड्किलो भएको भन्दै रिजालले राजा महाराजालाई पनि इर्ष्या लागेको हुन सक्ने बताए। ‘जन्मदिनमा चार हजार वृद्धबृद्धालाई साडी र कोट बाँड्ने कार्यक्रम थियो भन्ने सुनियो। पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाइ बाँडेर चित्त बुझाउनुपर्ने पुराना राजा महाराजालाई पनि ईर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू,’ उनले भने।
सांसद रिजालले तत्कालीन एमाले नेता मदन भण्डारीलाई स्मरण गर्दै थरिथरिका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन र मित्रलाई देख्दा कस्तो लागेको होला भन्ने प्रश्न पनि गरे।
‘हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी दाँतेको डिभाइन कमेडी याद आयो। भोलिका विद्वानले हाम्रो परिवेशमा नेपाली डिभाइन कमेडी लेख्लान तर आज थरिथरिका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन र मित्रलाई देख्दा के भन्दै होलान् मदन भण्डारी,’ सांसद रिजालले भने।