पार्टी एकता पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ। पार्टीले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनौट हुनेछ। गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितीबाट ८ जना महाधिवेशन प्रतिनिधि छनौट गरिने छ।
प्रतिनिधिमा महिला, जनजाति, उत्पीडित, थारु र पिछडिएको बर्गको सहभागिता सुनिश्चित गरिएको छ। महाधिवेशन प्रतिनिधि बन्नको निमित्त गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सक्रिय सदस्य संख्या निर्धारण गरिएको छ।
तोकिएको सदस्य संख्याभन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत नीति बनाइएको छ। पार्टी अध्यक्ष त्रयको उपस्थितिमा आज महाधिवेशन केन्द्रित विशेष कार्ययोजना प्रस्तुत गरिएको छ।
पार्टीको बैधानिक व्यवस्था, सांगठनिक अबस्था र सक्रिय सदस्यता अभियानबारे बोल्दै अध्यक्ष कमल थापाले कार्यतालिका र समय सिमालाई मध्यनजर गर्दै महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै वैकल्पिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभावहीन भूमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नु पर्ने बताए।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यकता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशब्यापी बनाउनु पर्ने विचार ब्यक्त गरे।
आगामी महाधिवेशनमा प्रबासबाट समेत प्रतिनिधि सहभागी हुनेछन्। करिब ५ हजार महाधिवेशन प्रतिनिधिको सहभागिता रहने केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
बर्तौलाका अनुसार आजको कार्यक्रममा सचिवालय कार्य व्यवस्था समिति, विधान मस्यौदा सुझाव समिति र केन्द्रीय सचिवालयमा रहेका नेताहरुको सहभागिता रहेको थियो।