नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वडादेखि केन्द्रसम्म ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले अन्तरिम विधानमा संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गरी पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उक्त प्रस्तावमा वडा टोलदेखि केन्द्रीय कमिटीसम्ममा सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ। यो प्रक्रिया राष्ट्रिय महाधिवेशनपछि नभई अहिलेदेखि नै सुरू गरिने श्रेष्ठले बताए।
‘पार्टीको सबै समितिहरूको पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने निर्णय गरिएको छ’, उनले भने।
त्यस्तै, बैठकले पार्टीका सबै समितिमा ४० वर्षसम्मका उमेर समूहका युवालाई कम्तीमा ३० प्रतिशत राख्नैपर्ने गरी निर्णय गरेको छ।
पार्टीले केन्द्रीय कमिटीमा १५ प्रतिशत दलित समुदायलाई पनि राख्ने निर्णय गरेको छ।
'केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र प्रदेश जिल्ला र सम्बन्धित पालिकाहरूका समितिहरूमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थप गर्ने गरी दलित समुदायलाई विशेष अधिकारसहित सबै समिति अनिवार्य रूपमा प्रतिरूप बनाउने निर्णय गरिएको छ,'श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने।
माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको हो।