नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद् भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद् भएको बताएका हुन्।
उनले लामो समयको अध्ययनपश्चात् निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए।
विमानस्थल निर्माणमा अर्बौं रुपैयाँ खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दु:खद् भएको उनको भनाइ छ।
उनले भने, ‘मैले सुनें निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनु भनेर निर्णय भएछ। यो कस्तो देश भएछ हाम्रो? यो विमानस्थलको बारेमा हामीलाई सबै थाहा छ। धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेर, १० वटा स्थानको गहिरो अध्ययन गरेर सबभन्दा उपयुक्त स्थान भनेको यही निजगढ हो भन्ने कुरालाई ल्याएर त्यहाँ जम्मा ८ हजार हेक्टर जमिनमा विमानस्थलको निम्ति आवश्यक पर्ने र वनको पनि विनाश नगरेर, त्यसलाई व्यवस्थापन गरेर विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरि रोकिएको कुरा सुनिन्छ।’
काम अगाडि बढाउन सकिने अवस्थामा रोकिएको भन्दै उनले दु:ख व्यक्त गरेका छन्।
‘यो मास्टर प्लान तयार भइसकेको स्थितिमा। झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्डयन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरू अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्ट ट्रयाक त्यति खर्च भइसकेको स्थितिमा’, उनले भने, ‘फास्ट ट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडि बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो। बडो दुःख लाग्यो मलाई।’
अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए।
सरकार र राजनीतिक दलहरूले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनले बताए।
निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे।
त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए।
उनले भने, ‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरीक्षण गर्ने मौका पनि पाएको हो। त्यहाँ सुरूमा जाँदाखेरी अलिकति वरिपरि जग्गा थियो त्यहाँ। अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन्। जंगल छँदै छैन त्यहाँ। जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडिको कारण के हो? कतै अरू अरू चिजबाट हामी प्रभावित त भएका छैनौं? यसबारेमा गहन चिन्तन होस्।’
त्यो निर्णयबारेमा पनि सम्बन्धित निकाय आफैंले विचार गर्नमा उनले माग गरे।
‘नेपाल सरकारले यसलाई गम्भीरताका साथ, राजनीतिक दलहरूले गम्भीरताका साथ यसबारेमा कसरी अगाडि बढ्न सकिन्छ, त्यसमा जानुपर्ने आवश्यकता छ। निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ। त्यहाँ वन विनाशलाई असर पारेको छैन। वन्यजन्तुको आगमनलाई पनि असर पारेको छैन। त्यसबारेमा म नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहन्छु।’