नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियासहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन जनकपुर पुगेका छन्।
शनिबार लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरेका तीन हजार बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली जनकपुर पुगेको एमाले जिल्ला अध्यक्ष राज किशोर यादवले जानकारी दिए।
विदेह नगरपालिकास्थित तीनकोरिया चोकमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली धनुषा आएका हुन्।
जनकपुर विमानस्थलमा अवतरण गरेका उनी रेल चढेर धनुषाको महिनाथपुर स्टेसन पुगेका थिए।
सोही क्रममा उनले महिनाथपुर स्टेशनमा रेल्वे कर्मचारीसँग कुराकानी गरेका थिए।
कुराकानीमा ओलीले ‘गाडी कतिपटक चल्छ? कति प्यासेन्जर हुन्छ? स्टाफको सुविधा के कस्तो छ’ भन्ने जिज्ञासा राखेका थिए।
‘हामीले ट्रेनको संख्या पुगेन। धेरै भीडभाड भयो। अझै ट्रेन थप्नुपर्छ भन्यौं,’ कर्मचारी हेमबहादुर कटुवालले भने।
ओलीसँगै महेश बस्नेत, सर्वेन्द्र खनाल, रघुवीर महासेठ, प्रभु साह लग्यातका नेता पनि कार्यक्रममा सहभागी हुन आएका छन्। कार्यक्रममा सहभागी हुनुअघि ओलीले मुरिवास्थित सहिद रामनरायण मण्डल मुरवलको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय एमालेले मधेसमा विभिन्न पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै आएकोछ।





प्रकाशित मिति: शनिबार, असोज ८, २०७९, ०३:४४:००