नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेल र पूर्वउपाध्यक्ष भीम रावल दुबै जना अहिले सुदूरपश्चिममा छन्।
उपाध्यक्ष पौडेल पार्टीको मिसन ग्रासरूट अभियानअन्तर्गतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम गएका हुन् भने पूर्वउपाध्यक्ष रावल गृहजिल्ला अछाम पुगेर कञ्चनपुरमा भेटघाट गरेर मंगलबार कैलालीको धनगढी पुगेका छन्।
देशव्यापी रूपमा चलिरहेको एमालेको मिसन ग्रासरूट अभियानमा यी दुई नेताले भने एक-अर्काको आलोचना गरिरहेका छन्।
१० औं महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका रावल अहिले पार्टीको कुनै औपचारिक जिम्मेवारीमा छैनन्। औपचारिक जिम्मेवारीमा नभएकाले उनलाई मिसन ग्रासरूट अभियानमा पनि जिम्मेवारी दिइएको छैन।
मंसिर ४ को चुनावमा पार्टीबाट अछाममा टिकट पनि नपाएका रावल गत महिना गृहजिल्ला पुगेका थिए। उनले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम पनि गरेका थिए।
आफूलाई कार्यक्रममा बोलाउने जिल्ला कमिटीका पदाधिकारीमाथि स्पष्टिकरण सोधिएको भन्दै रावलले आक्रोश पोखेका छन्।
सोमबार साँफेबगरमा भएको मिसन ग्रासरूटअन्तर्गतको कार्यक्रममा त रावल पक्षधर नेता/कार्यकर्ताले नाराबाजी नै गरेका छन्।
उक्त कार्यक्रममा उपाध्यक्ष पौडेलसहित केन्द्रीय नेताहरू सहभागी भएका थिए। सोमबार नै पत्रकार सम्मेलन गरेर उपाध्यक्ष पौडेलले रावलको आलोचना गरेका थिए।
जवाफमा मंगलबार रावलले धनगढीमा पत्रकार सम्मेलन गरे।
पार्टीको उपाध्यक्ष आफ्नो गृहनगरमा आउँदासमेत आफूलाई जानकारी नदिएको भन्दै उनले गुनासो गरे।
‘चैत १३ गते साँफेबगर नगरपालिकामा मिसन ग्रासरूटअन्तर्गत कार्यक्रम गरिएको रहेछ। पार्टीका उपाध्यक्षले मेरो जिल्ला, नगर र घरमा म आउँदैछु भन्नुभएन,’ रावलले भने,‘उक्त कार्यक्रममा बोल्ने एक जनाले फागुन १९ मलाई बोलाउने साथीहरूमाथि प्रहार गरेर अभिव्यक्ति दिइएपछि ८० प्रतिशत बढीले आपत्ति जनाउनुभयो।’
रावलले पार्टीभित्रको अन्तरविरोधबारे कुरा नगर्ने सर्तमा कार्यक्रम गर्ने भनिएको भए पनि त्यसमा आफूमाथि आक्रमण गरेको बताए।
‘मिसन ग्रासरूट कार्यक्रम पार्टीलाई बलियो बनाउन हो कि विधि, सुशासन र देशको पक्षमा आवाज उठाएका व्यक्तिलाई किनारा लगाउन गरिएको मलाई अलमल भयो,’ रावलले भने।
अगुवा कार्यकर्ताको प्रशिक्षणमा पौडेलले रावलको आलोचना गरेका थिए। उनले भीम रावलले गम्भीर गल्ती गरेको उल्लेख गरेका थिए।
‘भीम रावलजी पार्टी, जनता र कार्यकर्ताले निर्माण गरेको नेता हो। तर पछिल्ला दिनमा उहाँले केही गम्भीर गल्ती पनि गर्नुभएको छ। उहाँले पार्टीले दिएको जिम्माअनुसार काम गर्नुभएको छैन। पार्टीका औपचारिक निर्णयका विरूद्ध सार्वजनिक रूपमा बोल्नुभएको छ। स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावका बेला पार्टीका निर्णयसँग बेमेल हुने खालका कुरा बोल्नुभएको छ। त्यसले गर्दा भीम रावलजीले गल्ती गर्नुभएको छ,’ उनले भने,‘आज पनि म के बताउन चाहन्छु भने- यदि भीम रावलजीले गल्ती र कमजोरीलाई महसुश गरेर पार्टी काममा सक्रिय हुन चाहनुहुन्छ भने हामी उहाँलाई स्वागत गर्छौं।’
मंगलबार त्यसको जवाफ दिँदै रावलले भने- म उहाँलाई सोध्न चाहन्छु, भीम रावलले गम्भीर गल्ती के गर्यो? पार्टीलाई सैतान भन्नेलाई सांसद बनाएको छु कि, दश वर्ष हलोमा भोट हाल भनेको छु कि, छातामा १७ जनालाई मत हाल भनेको छु।
पौडेलले रावलले दिएको जिम्मेवारी पूरा नगरेको, पार्टी अध्यक्षविरूद्ध उम्मेदवारी दिएको पनि बताएका थिए।
जवाफमा रावलले आफूलाई पार्टीले पछिल्लो समय कुनै जिम्मेवारी नदिइएको बताए।
‘अध्यक्षविरूद्ध उम्मेदवारी दियो भन्नुभएको छ, हाम्रो पार्टीले प्रतिष्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छ। हिजो ओली र झलनाथजी अध्यक्षमा प्रतिष्पर्धा गर्नुभयो, माधव नेपाल र ओलीजीले प्रतिष्पर्धा गर्नुभयो,’ रावलले भने,‘म पनि प्रतिष्पर्धाबाट सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष चुनिएको हुँ। कुनै व्यक्तिविरूद्ध उम्मेदवारी दिनु नै गल्ती हुन्छ र!’
पौडेलले पार्टीका महत्वपूर्ण निर्णयमा रावलको विमति रहेको पनि बताएका थिए।
त्यसको जवाफ दिँदै रावलले आफूले पार्टीको हितविपरीत हुने गरी कुनै पनि कुराको विरोध नगरेको बताएका छन्।
‘उहाँले ममाथि लगाएका आरोप तथ्यहीन र भ्रमपूर्ण छन्। केन्द्रीय नेताहरूले आफैंले भड्काउपूर्ण र उत्तेजनापूर्ण कुरा गरेपछि कार्यकर्ताहरूले त्यसको प्रतिवाद गर्नु स्वाभाविक हो,’ रावलले भने।