नेकपा एमालेका नेता वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका हुन्।
घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट थिए।
२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनि बालेनसँग निरन्तर सम्पर्कमा थिए।
बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन्। घिमिरेले आफूलाई रास्वपाले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने गरी पार्टीमा आउन प्रस्ताव गरेको बताए।
'उहाँहरूले रूपन्देही क्षेत्र नम्बर २ बाटै चुनाव लड्नुपर्छ भन्नुभएको छ। मैले त्यसबारे कुनै जबाफ दिएको छैन तर म एमालेमा भने रहिनँ,' घिमिरेले सेतोपाटीसँग भने।
दिउँसोदेखि आफू रास्वपा प्रवेश गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएपछि त्यसबारे सामाजिक सञ्जालबाटै जानकारी गराएका छन्।
'म एमालेमा रहिनँ भनेर सामाजिक सञ्जालमा लेख्दै छु। एमाले पार्टी सुध्रिने अवस्था पनि देखिएन। उहाँहरूले देशका लागि मिलेर योगदान गरौं, तपाईँ हाम्रो टिममा आउनुस् भनिरहनुभएको छ। म उहाँहरूको प्रस्तावप्रति सकारात्मक छु,' उनले भने।
मंसिर २७ गतेसम्म एमालेको लुम्बिनी प्रदेश सदस्य रहेका घिमिरे एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।