प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रोस्टममा उभिएर चित्तबुझ्दो जबाफ नदिएको भन्दै असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्री दाहालले मंगलबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछाने जोडिएको सहकारी प्रकरणबारे बोलेका थिए।
उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्नै नपर्ने प्रहरीको ब्रिफिङ रहेको बताएपछि कांग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो।
यो पनि: सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने प्रहरीको ब्रिफिङ छः प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले लामिछानेमाथि अनुसन्धान गर्न प्रमाण छैन भनेको र आफूहरूले प्रमाण छ भनेकोले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको कांग्रेस सांसद ईश्वरी न्यौपानेले बताइन्।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। सभामुख देवराज घिमिरेले बोल्न न्यौपानेलाई समय दिएका थिए।
उनले सहकारी प्रकरणमा लामिछानेमाथि अनुसन्धान हुनुपर्ने बताइन्। अनधिकृत रूपमा सहकारीबाट पैसा लिइएका मानिसलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन्।
‘प्रमाण छैन भन्ने प्रधानमन्त्रीज्यू र प्रमाण छ भन्ने हामी प्रतिपक्ष। यसका लागि कसले छिनोफानो गर्ने। सभामुख महोदय तपाईं सदनको नेता हो। आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौं,’ न्यौपानेले भनिन्।
उनले सहकारी प्रकरणमा दिपेश पुन पक्राउ पर्ने तर गृहमन्त्रीले भने प्रतिपक्षीलाई चार वर्ष अवरोध गरोस् भन्ने चुनौती दिइरहेको बताइन्।
‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडि संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो। पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन? राज्यको कानूनप्रतिको खेलवाड होइन यो?’ उनले प्रश्न गरिन्, ‘छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यू। प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन। केही हिनामिना छैन। अनि उही केसमा दिपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै चार वर्ष सदन अवरुद्ध गरोस्, हामी सत्ता हाँकिरहन्छौँ। कसरी चल्छ सत्ता?’
यो पनि: प्रधानमन्त्रीलाई कांग्रेसको जबाफ- सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण छ