प्रतिनिधि सभामा देखिएको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल गर्दै आएका छन्।
बालुवाटारमा मंगलबार सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडान राखेको छ। सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्ता-प्रतिपक्षीका नेताहरूसँग छलफल गरे पनि सत्ता-प्रतिपक्षबीच सहमति भएको थिएन।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बालुवाटारमा मंगलबार पुन: छलफल गरिएको बताए। सभामुख घिमिरे आफ्नी दिदीको निधनका कारण झापा जाने कार्यक्रम स्थगित गरेर सदन अवरोध खुलाउन पहल गरिरहेको अधिकारीको भनाइ छ।
कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे प्रतिनिधि सभा अवरोध सरकारकै कारण भएको मानिने अभिव्यक्तिसमेत दिएको थियो। प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानबिन समिति बनाउनुपर्ने बताए।
मंगलबार सभामुख घिमिरेले राखेको छलफलमा कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेता तथा प्रमुख सचेतकहरू सहभागी थिए। उक्त छलफलमा कांग्रेस प्रमुख सचेतक लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका थिए।
तर सत्तापक्षका नेताहरूले संसदीय छानबिन समिति गठन गर्न सम्भव नरहेको प्रतिक्रिया दिएका थिए।
यो पनि: सभामुखले राखेको बैठकमा टसमस भएनन् सत्ता र प्रतिपक्ष (भिडिओ)