प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ।
आज बिहान ८ बजे संसदीय दल कार्यसमिति र साढे ८ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकले आजदेखि सुरू हुने बर्खे अधिवेशनमा कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्नेछ।
दिउँसो २ बजेदेखि सुरू हुने संसद बैठकमा बजेट अधिवेशन सुरू भएको सन्दर्भमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ।
तर, नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ।
संसदीय छानबिन समितिको नबनेसम्म कांग्रेसले मन्त्री लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने भनेको थियो।
बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले संसदीय छानबिन समिति बनाउनैपर्ने निष्कर्ष निकालेको थियो।
कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसदमा फेरि अवरोध सिर्जना गर्ने सम्भावना देखिएपछि बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफलमा सत्तापक्षले छानबिन समिति आवश्यक नरहेको भन्दै कांग्रेसले बैठक निर्वाध चल्न दिनुपर्ने बताएको थियो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समितिको माग यथावत रहेको बताउँदै सहकारी प्रकरणलाई ढाकछोप गर्न संवैधानिक निकायको प्रयोग भएको विषयमा थप ध्यानाकर्षण भएको बताए।
‘छानबिन समितिको विषय यथावत् नै छ। यो प्रकरण लुकाउन संवैधानिक निकाय प्रयोग भएको विषयले हामीलाई थप चिन्तित बनाएको छ। यसमा कांग्रेसको थप चासो रहेको विषय राखेँ,’ प्रमुख सचेतक लेखकले सेतोपाटीसँग भने।
शीर्ष नेताले बोल्ने क्रममा र सिंगो बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले तय गर्ने उनले बताए।
‘गृहमन्त्री लामिछाने बोल्दा कांग्रेसले अवरोध गर्छ कि गर्दैन भन्ने विषयको निर्णय बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्छ,’ प्रमुख सचेतक लेखकले भने।