गृहमन्त्री सुधन गुरूङले प्रहरी र नागरिकबीचको दूरी घटाउन प्रभावकारी रूपमा काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आइजिपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरूङले यस्तो निर्देशन दिएका हुन्।
उनले प्रहरी र नागरिकबीच दूरी कायमै रहेको भन्दै त्यसलाई कम गर्न नयाँ नेतृत्वले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए।
उनले प्रहरी संगठनलाई बलियो बनाउने र फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी नेतृत्व गर्न पनि आइजिपी केसीलाई निर्देशन दिए।
उनले प्रहरीले गर्ने सकारात्मक काममा गृह मन्त्रालयको सधैँ साथमा रहने भन्दै केसीको नेतृत्वको प्रहरी संगठनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण्मा प्रभावकारी भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे।
संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरीका समस्या समाधान गर्न सरकार सधैं तयार रहेको उनको भनाइ छ।
उनले भने, ‘जहिले पनि प्रहरी र आम नागरिकको बीचमा एउटा ग्याप मैले फिल गरिरहेको छु। यसमा नवनियुक्त आइजिपी सापको नेतृत्वमा इफेक्टिव्ली काम होस्। यसमा पर्याप्त काम भएको छैन। अहिले प्रहरी र नागरिकबीचको दुरी केही कम भएको महसुस पनि भएको छ। यसका लागि संगठनका सबै कर्मचारीलाई धन्यावाद पनि दिन चाहन्छु। प्रहरीले गर्ने सकारात्मक कार्यका लागि गृह मन्त्रालय सधैं साथमा छ। प्रहरी संगठनको अभिभावकत्व लिन र प्रहरीलाई आवश्यक स्रोत साधनको परिपूर्ति गर्न हामी सधैं तयार छौँ। कुनै पनि समस्याको समाधान गरिदिनको लागि समेत गृह मन्त्रालय तयार नै छ। अहिलेको नयाँ नेतृत्वलाई संगठनलाई बलियो र फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्नको लागि म हजुरलाई निर्देशन पनि दिन चाहन्छु।’
आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका एआइजी केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको गरेको थियो।
यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। –न्युज एजेन्सी नेपाल