प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताएका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै छानबिन समिति गठन नगरेर सदन अवरूद्ध भए त्यसको जिम्मेवार सरकार नै हुने बताए।
‘यो सदन अघि नबढ्नेको जिम्मेवार नेपाली कांग्रेस होइन, सरकारले गरेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। राज्यका तमाम अंगहरूलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो,’ थापाले भने, ‘तपाईंहरूले धोएर पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।’
'गृहमन्त्रीले राजीनामा दिनु पर्दैन संसदीय छानबिन समिति गठन गरौं'भन्दा पनि सत्ता पक्षले नमानेको थापाको भनाइ थियो। सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको छ।
साथै थापाले संसदमा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने कुरा अनुमान लगाउन सकिने बताए। उनले भने, ‘हामी प्रश्न सोध्न र उत्तर खोज्न यहाँ आएका हौं। तर यो सदनमा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी हुँदैछ भन्ने कुराको म अनुमान लगाउन सक्छु।’
कांग्रेस सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर भएको उनको भनाइ थियो।
‘आज सदनमा जुन दृश्य बन्न जाँदैछ यसको कारण हामी होइनौं,’ उनले भने, ‘जे गर्ने सोच राखिएको छ त्यसको सबैले धेरै मूल्य चुकाउनुपर्छ। यसलाई हल्का नठानियोस्।’
उनले संसदीय समिति बनाउनबाट किन भागेको हो भन्ने पनि प्रश्न गरेका छन्।
‘सहकारीको ठगीका सन्दर्भमा यो संसदले छानबिन समिति बनाओस्। यसमा एमाले, माओवादी, रास्वपा र कांग्रेस बस्ने होला,’ उनले भने, ‘ढिकीजाँतो तपाईंहरूकै हातमा छ, तथ्य हामीले बनाउने हैन होला।’
भिडिओ: