संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरू भएको छ।
बजेट अधिवेशनको प्रारम्भमा नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदनमा अवरोध गरेको छ।
कांग्रेसको नाराबाजी रोष्ट्रम घेराउबीच प्रतिनिधि सभामा शुक्रबार केही रमाइला दृश्य देखिए।
१) सुहाङ नेम्वाङ र हसिना खानको पहिलो सहभागिता
प्रतिनिधि सभाको आजको बैठकमा उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सहभागिता जनाए।
पूर्वसभामुख समेत रहेका बुवा सुवास नेम्वाङको निधन भएपछि इलाम-२ बाट सुहाङ निर्वाचित भएका हुन्। उनलाई बैठकमा सहभागी हुँदा अन्य सांसदहरूले हार्दिकताका साथ स्वागत गरेका थिए।
त्यस्तै जनता समाजवादी पार्टीकी सांसद हसिना खान पनि पहिलो पटक बैठकमा सहभागी भइन्। उनी निर्वाचित भएर शपथ लिँदासम्म जनता समाजवादी पार्टी नेपालकी सांसद थिइन्। तर बैठकमा सहभागी हुँदा नवगठित जनता समाजवादी पार्टीकी सांसदको हैसियतमा सहभागि भइन्। उनी दल विभाजन हुँदा अशोक राई नेतृत्वको पार्टीमा छिन्।
२) विशेष अदालतबाट भ्रष्टाचारी ठहर सांसद बैठकमा
विशेष अदालतबाट भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ पनि बैठकमा सहभागी भए।
उनले बैठकमा सहकारी ठगलाई कारबाहीको माग गर्दै नाराबाजी समेत गरे। शपथ ग्रहणलगत्तै भ्रष्टाचार निवारण ऐनअनुसार निलम्बनमा परेका सांसद गुरूङ एउटा पनि बैठकमा सहभागी हुन पाएका थिएनन्। तर सर्वोच्चले उनको निलम्बनलाई खारेज गरिदिएपछि उनी बैठकमा सहभागी भएका हुन्।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गुरूङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
३) रोष्ट्रममा जाने रवि लामिछानेको असफल प्रयास
मन्त्री नियुक्त भएयता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदको रोष्ट्रमबाट बोल्न पाएका छैनन्।
उनलाई आजको दोस्रो बैठकमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएका थिए। लामिछाने आफ्नो स्थानबाट उठेर रोष्ट्रमतर्फ अघि बढे। तर उनी कांग्रेस सांसदको घेराबन्दीमा परे। रोष्ट्रममा जान पाएनन्। उनी रोष्ट्रममै उभिइरहे।
प्रमुख सचेतक सन्तोष परियारले लामिछानेलाई आफ्नो स्थानमा जान सुझाउनुपर्यो।
४) दलको नेताको हैसियतमा अशोक राई
प्रतिनिधि सभाको बैठकमा जनता समाजवादी पार्टीको दलको नेताको हैसियतमा अशोक राईले पहिलो लहरमा आसन ग्रहण गरे।
जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर बनेको उनको दलका सांसदहरूका लागि सिट व्यवस्थापन भने उपेन्द्र यादवको पार्टीका सांसदहरूसँगै छ। तर राईको हैसियत भने फेरिएको छ। उनको दलले र उनले अब सदनमा दलीय हैसियतमा बोल्न समय पाउनेछन्।
५) कांग्रेसको रोष्ट्रम घेराउ
प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठकमै नेपाली कांग्रेसका सांसदहरूले सदन घेराउ गरेका छन्।
कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ र नाराबाजी गरेपछि सभामुखले बैठक अघि बढाएनन्।
६) देउवा आउँदै आएनन्, ओली फुत्त निस्किए
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहे।
बिहानै नयाँ बानेश्वरमा भएको दलको बैठकमा सहभागी भएका देउवा दिउँसोको बैठकका लागि संसद भवन गएनन्।
नेकपा एमाले दलका नेता केपी शर्मा ओली बैठक सुरू हुँदा उपस्थित भए। तर जब कांग्रेस सांसदहरूले उभिएर बोल्नका लागि समय मागे। उनी फुत्त बैठकबाट निस्किए। पहिलो बैठकमा केहीबेर बसेका ओली दोस्रो बैठकका बेला बैठक कक्षमा देखिएनन्।
सबै तस्बिरहरू: निशा भण्डारी