नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन सहितका मस्यौदामाथि आन्तरिक छलफल सुरू गरेको छ।
शनिवारदेखि काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरू भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन्।
त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार भोलि (आइतबार) प्रस्तुत प्रतिवेदनहरूमाथि स्थायी कमिटीका सदस्यहरूले सुझाव दिनेछन्।
प्रवक्ता खतिवडाले भने, ‘आज कार्यपत्रहरू बाँडिएको छ। दस्तावेजहरू। यसमा स्थायी कमिटीका सदस्यहरूले भोलि ११ बजेदेखि छलफल गर्नुहुनेछ। उहाँहरूको सुझाव संकलन गर्दै हामीले भोलिको सट्टा पर्सि पोलिटब्युरो बैठक बस्नेछौं। केन्द्रीय कमिटी बैठक पनि एक एक दिन पछि सर्दै गएको छ।’
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टीभित्र छलफल सुरू गरिएको हो।
स्थायी कमिटीका सदस्यहरूले आइतबार छलफल गरेपछि सोमबार बोलाइएको पोलिटब्युरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पनि प्रवक्ता खतिवडाले बताए।—न्युज एजेन्सी नेपाल