प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।
संसद्को गतिरोध अन्त्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
सचिवालयका अनुसार सभापति देउवालाई अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएको हो।
संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो।
सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ।
तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ।
दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ।
प्रधानमन्त्री प्रचण्डले सबैलाई विश्वासमा लिएर अघि बढ्न खोजेको उनको सचिवालयले जानकारी दियो।
‘गृहमन्त्रीले ममाथि आरोप लागेकाले त्यसबारे बोल्न पाऊँ भनेर सभामुखलाई निवेदन दिनुभएको छ। उहाँलाई बोल्नसमेत नदिनु लोकतान्त्रिक मर्यादा, मूल्यभित्र पर्दैन। उहाँले बोल्न पाउनुपर्यो। प्रमुख प्रतिपक्षी दलको मागका सन्दर्भमा सहमतिबाट निष्कर्षमा पुग्न सकिन्छ। आफ्नै अडानमा रहने हो भने त कसरी सहमति खोज्न सकिन्छ?,’ प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।