सभामुख देवराज घिमिरेले कानून मन्त्री र दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा आइतबार दिउँसो सभामुखले मन्त्री पदम गिरी र प्रमुख सचेतकहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
नीति तथा कार्यक्रम तयारीलगायत विषयमा सभामुखले मन्त्री र सचेतकहरूसँग छलफल गरेका हुन्। छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन्।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्।
यही जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गरिरहेको छ।
सदनको गतिरोध अन्त्य गर्न सभामुखले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।