सभामुख देवराज घिमिरेले आइतबार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
छलफल सदनको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रह्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने एउटा विषय सभामुख घिमिरेसँग राखेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिमाथि राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखसँग कुरा राखेका हुन्।
‘देशको बहालवाला गृहमन्त्रीज्यूले देशको बहालवाला प्रधानमन्त्रीले नै जिबी राईलाई भगाएको आरोप लगाउनुभएको छ। जिबी राईलाई यदि प्रधानमन्त्रीले नै भगाउनु भएको हो भने हामीले आज सभामुखसँग पनि भनेका छौं, देशको प्रधानमन्त्री र गृहमन्त्री यही संसदको सदस्य हो। सभामुखलाई हामीले माग राखेका छौं, यदि साँच्चै देशको प्रधानमन्त्रीले जिबी राईलाई भगाएको हो भने अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ,’ उनले भने।
गृहमन्त्रीले दिएको अभिव्यक्तिमाथि सदनमा गृहमन्त्रीले नै जबाफ दिनुपर्ने शाहीको भनाइ छ।
‘राप्रपाले संसदमा यो माग गर्छ, देशको गृहमन्त्रीले नै प्रधानमन्त्रीले जिबी राईलाई भगाएको भनिसकेपछि जनताको पैसा सहकारी राखेका थिए त्यो पैसा खाने ठगलाई प्रधानमन्त्रीले भगाएका हुन् भने ती प्रधानमन्त्रीलाई गृहमन्त्रीले पक्राउ पुर्जी जारी गरूँन्,’ उनले भने, ‘यसबारे हामी सदनमा जबाफ माग गर्छौं।’
उनले गृहमन्त्रीले आफूले चितवनमा शनिबार दिएको अभिव्यक्ति प्रमाणित गर्नुपर्ने बताएका छन्। ‘त्यतिखेरको सरकारले जिबी राईलाई भगाएको भनेर गृहमन्त्रीले भन्नुभएको छ। त्यसबेला त अहिलेकै प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रधानमन्त्रीलाई भन्न चाहन्छौं, तपाईंले राजीनामा दिएर बाटो प्रशस्त गर्नुस्। तपाईलाई अब छानबिनमा ल्याउनुपर्छ। जिबी राईलाई भगाउने प्रधानमन्त्रीलाई गृहमन्त्रीले कारबाही गर्नुपर्यो,’ उनले भने।