जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन्।
पार्टी प्रवक्ता मनिष सुमनका सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिए।
मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यहाँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले आइतबार पदबाट राजीनामा दिएका छन्।
यससँगै संघीय सरकारमा पनि के गर्ने भन्नेबारे जसपा नेपालले केन्द्रीय समितिमै छलफल गर्न लागेको छ। अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्।
अशोक राई नेतृत्वमा जसपा नेपालका ७ जना अलगिएर जनता समाजवादी गठन गरेका थिए।
यी समग्र विषयबारे अध्यक्ष यादवले छलफल गरी आवश्यक निर्णय लिन केन्द्रीय समिति बैठक राखेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उपप्रधानमन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेको चर्चाका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता सुमनले औपचारिक निर्णय केन्द्रीय समितिले नै गर्ने प्रतिक्रिया दिए।
‘जसपा नेपाल संगठन भएको पार्टी हो, केन्द्रीय समिति भोलि बस्छ। त्यसले समग्र विषयमा औपचारिक निर्णय गर्छ,’ उनले भने, ‘परिस्थिति फरक हुँदै गइरहेको छ।’