नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेको छ।
दल कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे र संसदीय दल बैठक २ बजेका लागि बोलाइएको थियो।
तर बैठक मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको संसदीय दलले जनाएको छ।
संसदीय दल कार्यसमिति बैठक मंगलबार बिहान ८ बजे र संसदीय दल बैठक ९ बजे बस्ने तय भएको संसदीय दलले निकालेको सूचनामा उल्लेख छ।
बैठक संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बस्नेछ।
सरकारले मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि मंगलबार बिहानसम्म संसदको गतिरोध अन्त्य गर्ने बताइरहेका छन्। संकटग्रस्त सहकारीबारे अध्ययन गरी प्रतिवेदन दिने गरी समिति बनाउन सकिने प्रधानमन्त्रीको भनाइ छ।
तर कांग्रेसले भने गृहमन्त्री लामिछानेलाई नै किटान गरी संसदीय समिति गठनको माग दोहोर्याइरहेको छ।