नेपाली कांग्रेस कोशी संसदीय दलको बैठक जारी रहँदा प्रदेश सभा बैठक दुई घन्टा पर सरेको छ।
कांग्रेस बैठकले गर्दा कार्यव्यवस्था बैठक नै बस्न सकेको छैन।
कांग्रेसका एक सांसदका अनुसार पार्टीभित्र सोमबारको प्रदेश सभा बैठक बहिष्कार गर्ने कि अवरोध भन्नेमा विवाद छ।
निवर्तमान मुख्यमन्त्री केदार कार्की सहितका केही सांसदहरू अवरोध गरौं भन्ने पक्षमा छन् भने संस्थापन पक्ष भने बहिष्कार मात्रै गरौं भन्ने पक्षमा छन्।
सर्वोच्च अदालतमा सरकार बारेको विवाद विचाराधीन रहेकाले विश्वासको मत अहिले नलिन कांग्रेसले गरेको प्रस्ताव एमाले र माओवादीले अस्वीकार गरेका थिए।
आफ्नो प्रस्ताव अस्वीकृत भएपछि अब के गर्ने भन्ने रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बसेको हो।
तर उक्त बैठकमा पनि सोमबार बस्ने प्रदेश सभा बैठक बहिष्कार गर्ने या अवरोध गर्ने भन्नेमा कुरा मिलेको छैन।
उनीहरूले के गर्ने भन्नेबारे केन्द्रको सन्देश पर्खेर बसिरहेको एक सांसदले बताए।
प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका थिए।