जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।
अध्यक्ष यादव सोमबार बिहान लोसपा अध्यक्ष ठाकुरलाई भेट्न निवास पुगेका थिए।
अध्यक्ष ठाकुर र जसपा नेपालका अध्यक्ष यादवबीच सोमबार बिहान करिब आधा घन्टा कुराकानी भएको ठाकुरका स्वकीय सचिव सत्यन्द्रकुमार मिश्रले जानकारी दिए।
मधेस सरकारबाट आइतबार सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिएका थिए। जसपाको नेतृत्वमा मधेस सरकार छ। अध्यक्ष यादव मधेस सरकार आफ्नै पार्टीबाट निरन्तर रहोस् भन्ने चाहन्छन्।
उनले सोही योजनाअनुसार अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ठाकुरले यसबारे छलफललाई जारी राखिने प्रतिक्रिया दिएका छन्।
जसपा नेपालले संघीय सरकार छाडेको छ। उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका हुन्।
मधेसमा लोसपाका ९ मध्ये एक सांसद निलम्बनमा छन्। जसपाका १९ सांसदमध्ये कति नवगठित जनता समाजवादी पार्टीमा जान्छन् अहिले नै यकिन भइसकेको छैन।
लोसपाको साथ लिन सके उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कांग्रेसलगायत दलसँग मिलेर मधेस सरकार बनाउन सक्छ।