संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई बालुवाटार बोलाएका छन्।
प्रधानमन्त्री निवासमा अहिले छलफल चलिरहेको हो।
कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक छलफलमा रहेको एक नेताले बताए।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद बैठक अवरुद्ध तुल्याउँदै आएको छ।
संसद्को बर्खे अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरूद्ध पार्यो।
नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने संसदीय छानबिन समिति बनाउनु नपर्ने बताउँदै आएका छन्।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले गाँठो फुक्न सकेको छैन।
मंगलबार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो तीन बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। सरकारको नीति तथा कार्यक्रममा अवरोध नपुगोस् भनेर प्रधानमन्त्रीले संवादलाई तीव्रता दिएका हुन्।