नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सरकारबाट निकाल्ने काम भएको बताएका छन्।
जसपा नेपालका अध्यक्ष यादव र सांसद दीपक कार्कीले सोमबार संघीय सरकार छाडेका थिए। यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री र कार्की वन राज्यमन्त्री थिए। यादव र कार्कीले सोमबार पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए।
‘यदि उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गलहत्याएर निकालिन्थ्यो,’ मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले भने, ‘कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउनका लागि न्वारनदेखिको बल लगाइरहेका छन्, यो कुरालाई हामीले हेक्का राख्नुपर्छ।’
उनले न्वारनदेखिको बल लगाउनेहरूको नाम भन्न गाह्रो रहेको पनि बताए। ‘गाह्रो होइन सजिलो पनि छ तपाईंहरू बुझ्नुहुन्छ,’ उनले भने।
उनले राजनीतिक घटनाक्रम र समीकरणमा दिनदिनै परिवर्तन भइरहेको पनि बताए। उनले समाजवादी मोर्चाको महत्वपूर्ण घटक जसपा नेपाललाई केही दिनअघि विभाजित गरिएको उनले बताए।
‘विभाजित गरिएको मात्र होइन सरकारबाट पनि जसपा नेपाललाई निकाल्ने काम भयो, मुन्ट्याउने काम मात्रै भएन। गलहत्याएर निकालिदिने। यदी उपेन्द्र यादवले राजीनामा नदिएको भए उनलाई गलहत्याएर निकालिन्थ्यो,’ उनले भने।
भिडिओ: