नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सभाका सांसदहरू आफैले संसदीय दलको नेताबाट हटाएका खगराज भट्टलाई संसदीय दलको नेताभन्दा माथिको वरियतामा राख्न सहमत भएपछि लामो समयदेखि देखिएको विवाद साम्य भएको छ।
भट्ट र उनका विपक्षमा रहेका सांसदहरूबीच लामो समयदेखि विवाद थियो। विवादकै बीच भट्टलाई बहुमत प्रदेश सभा सदस्यहरूले गत माघ १२ गते संसदीय दलका नेताबाट हटाएका थिए। संसदीय दलको नेताबाट हटाइएपछि उनी दलको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन।
स्थायी कमिटी सदस्यको हैसियतमा उनलाई संसदीय दलको नेताभन्दा माथिको बरियता दिने भनिएपछि बिहीबारको बैठकमा उनी उपस्थित भएका थिए।
स्थायी कमिटी सदस्य र प्रदेश सभामा सबैभन्दा वरिष्ठ नेता भएकाले उनलाई वरियतामा पहिलो स्थानमा राख्ने सहमति भएको सांसद ओमविक्रम भाटले जानकारी दिए।
‘उहाँ प्रदेश सभामा सबैभन्दा सिनियर नेता हो,’ उनले भने,‘त्यसैले बरियतामा पहिलो नम्बरमा राखेका हौं। योसँगै पार्टीको सबै विवाद पनि मिलेको छ।’
गत माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको थियो।
बहुमत सदस्यहरूले मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको थियो।
भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए। लगत्तै बसेको स्थायी कमिटी बैठकले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट समेत हटाएको थियो।