प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सदनमा देखिएको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।
बिहीबार बिहान बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन्।
प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग पनि अनौपचारिक छलफल गरेका छन्। यसबारे प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई जानकारी पनि गराएका छन्।
सभााामुख घिमिरेले बिहीबार बिहान प्रधानमन्त्री दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए।
प्रधानमन्त्री दाहालले कांग्रेससँग सहमति प्रयास भइरहेकोले बैठक केही ढिला गर्न आग्रह गरेका थिए। बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बोल्ने वातावरण निर्माणका लागि पहल भइरहेको प्रधानमन्त्रीको भनाइ थियो।
प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। तर बैठक सुरू हुन सकेको छैन।
सभामुख घिमिरेले नयाँ बानेश्वरमा नै कानून मन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।
छलफलमा उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन्।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ।