सत्ता साझेदार एकीकृत समाजवादीले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्रीसमेत संलग्न रहेको समाचार प्रकाशित भएको भन्दै छानबिन समिति बनाउन माग गरेको छ।
पार्टी केन्द्रीय कमिटीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीले सहकारीको बचत हिनामिनासम्बन्धी समग्र समस्या समाधाानका लागि छानबिन समिति बनाउन माग गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारणको बचत अपचलन गरेर ठूलो धनराशि दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद् घटना सार्वजनिक भइरहेका छन्। यस सम्बन्धमा गृहमन्त्रीसमेतको संलग्नता देखिएको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्याका लागि छानबिन समिति गठन गरी कडा कारबाही गरियोस् भनि माग गर्दछ,’ खतिवडाले केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै भने।
सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता देखिएकाले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै नेपाली कांग्रेसले संसद बैठक अवरूद्ध गर्दै आएको छ।
सत्ता पक्ष र प्रतिपक्षबीच कुरा नमिलेकैले आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ।